बैतडीमा १ सय ७८ महिलाले प्रतिनिधित्व गर्दै



विनोदसिंह विष्ट, बैतडी

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बैतडीमा कम्तीमा पनि १ सय ७८ महिलाको प्रतिनिधित्व हुने निश्चित भएको छ।

जिल्लामा ४ नगरपालिका र ६ गाउँपालिका गरी १० वटा स्थानीय तहमा ८४ वडा रहेका छन्। हरेक वडाबाट एक वडाध्यक्ष र ४ सदस्य निर्वाचित हुनेछन्। त्यसमा दुई महिला अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था छ। वडामा निर्वाचित हुने दुई महिलामा एक दलित, पीछिडिएको समुदायको र अर्काे अन्य समुदायको महिला हुनुपर्नेछ। सोअनुसार निर्वाचनबाट ४ सय ४० जना प्रतिनिधित्व रहने निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयालले जानकारी दिनुभयो।

हरेक स्थानीय तहमा गाउँपालिका वा नगरपालिकाका प्रमुख वा उपप्रमुखमा एक महिला उम्मेदवार उठाउनु कानुनी व्यवस्था छ। सोअनुसार गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष र नगरपालिकाका प्रमुख वा उपप्रमुखमा मात्रै १० महिलाको उम्मेदवारी हुने निश्चित नै रहेको छ।

यस्तै हरेक वडाबाट दुई–दुई महिला गरी १ सय ७८ महिलाको प्रतिनिधित्व हुने पक्का नै देखिएको छ। गाउँपालिकामा दुई र नगरपालिकामा तीन जना अल्पसंख्यक, अपांगता भएका, सीमान्तकृतको प्रतिनिधित्व हुने निर्वाचित हुनेछन् ।
वैशाख ३१ गते हुने निर्वाचनमा जिल्लाका ८४ वडामा कम्तीमा एउटा मतदानस्थल गरी जिल्लाभरि १ सय २० मतदानस्थल रहेका छन। हरेक मतदानस्थलमा प्रयोग हुने मतपत्रमा गाउँपालिका वा नगरपालिकाका प्रमुख वा उप्रमुख र आ–आफ्ना वडाका अध्यक्षसहित ४ सदस्य गरी ७ जनालाई मतदाताले मतदान गर्न पाउनेछन्।

स्थानीय निर्वाचनको मिति नजिकिएसँगै जिल्ला निर्वाचन कार्यालयले निर्वाचनको तयारी तीव्र बनाएको छ। जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिसकेको छ भने वैशाख १ गतेदेखि मतदाता शिक्षा कार्यक्रम शुरु हुने भएको छ।
बैतडीमा स्थानीय निर्वाचनका लागि १३ दल दर्ता भएका छन् भने १ लाख २४ हजार ८ सय २४ जना मतदाता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्