दोलखामा महिला खोज्दै दलहरू



चिरञ्जीवी मास्के, दोलखा

स्थानीय तहको निर्वाचनमा महिला नेतृत्व कसरी स्थापित गर्न सकिन्छ भन्नेबारे दलका नेताहरु छलफलमा जुट्न थालेका छन्। निर्वाचन निर्देशिकाले गाउँपालिका, नगरपालिकामा प्रमुख वा उपप्रमुखमध्ये एकमा महिला अनिर्वाय गरेपछि महिला नेतृत्वलाई कुन पदमा उठाउनु उपयुक्त हुन्छ भन्ने विषयमा नेताहरु आन्तरिक छलफलमा सक्रिय बनेका हुन्।

निर्वाचन निर्देशिकाको व्यवस्थापछि महिला नेतृत्वबारे बहस शुरु भएको एमाले दोलखाका उपाध्यक्ष नरबहादुर श्रेष्ठको भनाइ छ। श्रेष्ठ एमाले महिला नेतृत्व स्थापित गर्नुपर्ने पक्षमा विगतदेखि नै संवेदनशील रहेको र सोहीअनुसार पार्टीमा बहस शुरु भएको बताउँछन्।

दोलखा जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका रहेको छ। वडामा महिलाको आरक्षण सिटबाहेक निर्देशिका अनुसार प्रमुख र उपप्रमुखमध्ये एक जना महिला उम्मेदवार बनाउँदा ९ जना महिला नेतृत्व स्थापित हुने देखिन्छ। एमाले उपाध्यक्ष नरबहादुर श्रेष्ठ एमालेले दोलखाको दुई नगरपालिका र सात गाउँपालिकामा निर्देशिकाअनुसार प्रमुख या उपप्रमुखमध्ये एक पदमा महिलालाई उम्मेदवार बनाउने बताउनुहुन्छ। तर, महिलाको नेतृत्व स्थापित भइनसकेकाले सबै ठाउँमा सक्षम नेतृत्व पठाउने कुरामा भने समस्या हुने उपाध्यक्ष श्रेष्ठ भनाइ छ।

माओवादी केन्द्रका केन्द्रीय सम्मेलन आयोजक कमिटी सदस्य ईश्वर थापा पनि महिलालाई नेतृत्व दिने कुरामा पार्टी स्पष्ट रहेको भए पनि स्थापित महिला नेतृत्व पाउन भने कठिन नै रहेको बताउँछन्। ‘हामीले १० वर्षे जनयुद्धको बेला धेरै महिलालाई नेतृत्व तहमा पु¥यायौं तर अहिले स्थानीय तहको निर्वाचनमा कतिपय ठाउँमा महिला नेतृत्व अघि सार्न समस्या देखिएको छ’ –आयोजक कमिटी सदस्य थापाले भने। स्थानीय तहको निर्वाचनमा दोलखाको अधिकांश गाउँपालिका र नगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी तालमेल हुने र त्यसमा आरक्षणबाहेकका ठाउँमा महिला उम्मेदवार प्राथमिकतामा नपर्ने हल्ला चलिरहेको बेला माओवादी केन्द्रका केन्द्रीय सम्मेलन आयोजक कमिटी सदस्य ईश्वर थापा त्यसमा सत्यता नभएको बताउछन्। उनी भन्छन्– ‘हामी सकेसम्म धेरै ठाउँमा महिला नेतृत्वलाई अघि सार्ने प्रयत्न गर्ने छौं।’

नेपाली कांग्रेस दोलखाका सचिव सन्तोष रिमाल महिला नेतृत्वबारे निरन्तर बहस र छलफल भइरहेको उल्लेख गर्दै नेपाली कांग्रेसले आवश्यकताअनुसार नेतृत्वको लागि महिलालाई प्राथामिकता दिने बताउँछन्। स्पष्ट नीति बनिनसकेको भए पनि नेपाली कांग्रेसले अन्य दलहरुसँग पनि चुनावी तालमेल गर्न सक्ने र त्यस्तो अवस्थामा महिलालाई प्राथामिकतामा राखिने सचिव रिमालको भनाइ छ।

महिला नेतृत्वबारे बहस र छलफल गर्नकै लागि नेपाली कांग्रेस दोलखाले छिट्टै महिला भेला आयोजना गर्न लागेको र सो भेलाले दोलखाको गाउँपालिका तथा नगरपालिकामा नेतृत्व गर्न सक्ने महिलाहरुको पहिचान गरी प्राथामिकताका साथ अघि बढाउने सचिव रिमालको भनाइ छ। दोलखा जिल्लामा १ लाख ३४ हजार ५ सय ७३ मतदाता संख्या रहेकोमा महिलाको संख्यामात्र ६८ हजार ४ सय ३५ रहेको छ। मतदाता संख्या पुरुषको भन्दा महिलाको बढी भए पनि स्थानीय तहको निर्वाचनमा महिला नेतृत्व स्थापित गर्ने कुरामा दलका नेताहरु अझै स्पष्ट हुन नसकेको भन्दै महिला नेतृहरुले भने गुनासो गरेका छन्।

प्रतिक्रिया दिनुहोस्