गोरखामा गाउँपालिकाको अध्यक्ष बन्न दौडधुप



सन्तोष अधिकारी, गोरखा

स्थानीय निकायको निर्वाचनको मिति नजिकिएसँगै गोरखाको राजनीतिक दलहरु पनि निर्वाचन केन्द्रित कार्यक्रम गर्न सक्रिय भएका छन्। २० वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचन भएकाले पनि धेरै नेताहरुमा गाउँपालिकाको नेतृत्व सम्हाल्ने होड चलेको छ। जिल्लाको गण्डकी गाउँपालिकामा पनि अहिले विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता निर्वाचनको प्रचारप्रसारसँगै उम्मेदवार को भन्ने विषयमा चर्चा गर्न थालेको छ। गोरखामा दुई नगरपालिका र सात गाउँपालिकामा स्थानीय निर्वाचन हुनेछ।

गण्डकी गाउँपालिका
जिल्लाको गण्डकी गाउँपालिकामा नेपाली कांग्रेसमा विशेष गरी दुई जनाको नाम चर्चामा रहेको छ। कांग्रेसका नेता भीमप्रसाद अर्याल र रेशम गुरुङमध्ये एक जना गाउँपालिकाको अध्यक्षको उम्मेदवार हुने नेपाली कांग्रेस स्रोतले बतायो। अर्याललाई सोही गाउँपालिकाको वडा नम्बर २ बाट गाउँपालिकाको अध्यक्षको उम्मेदवारका लागि सर्वसम्मत प्रस्ताव लैजाने निर्णयसमेत गरिसकेको छ। गुरुङ आफैं भने अध्यक्षमा चुनाव लड्ने मनसायमा छैनन्।

कांग्रेसबाट गण्डकी गाउँपालिकाको उपप्रमुखमा ललिता अधिकारी र जाकुका पन्तको नाम चर्चामा रहेको छ। नेकपा एमालेमा गण्डकी गाउँपालिकामा अध्यक्षको उम्मेदवार बन्नलाई तीन जनाको नाम चर्चामा रहेको एमालेले जनाएको छ। एमालेबाट अध्यक्ष दलका लागि आकांक्षीहरु लेवेन्द्र गुरुङ, तोपमान श्रेष्ठ, विष्णु पन्त रहेका छन् । उपप्रमुखम पदमा महिलाहरु हुने तर कस–कसले इच्छाएका छन् भनेर एमालेले बताएन। नेकपा माओवादीले पनि अहिलेसम्म अध्यक्षको उम्मदवार को बनाउने भन्नेबारे टुंगो लगाइसकेको छैन।

केन्द्रबाट अध्यक्षका लागि दीपक तिमल्सिना, राजकुमार विक, अकुर तिमल्सिना, जीवन तमुको नाम चर्चामा रहेको छ। माओवादी स्रोतका अनुसार आकांक्षीहरुमध्ये दीपक तिमल्सिना बलियो पात्र रहेको माओवादी स्रोतले बतायो। त्यस्तै नयाँ शक्ति नेपालले पनि अझै उम्मेदवारको टुंगो लगाउन सकेको छैन। नयाँ शक्तिबाट कुमार तिवारी, भीम श्रेष्ठ, शिव रेग्मीको नाम चर्चामा रहेको छ। नयाँ शक्तिबाट उपप्रमुखमा दुर्गा गुरुङ, र सम्झना ढकालको नाम चर्चामा रहेको छ।
अजिरकोट गाउँपालिका

नेपाली कांग्रेसलाई अजिरकोट गाउँपालिकामा पनि उम्मेदवारको टुंगो लगाउन हम्मे–हम्मे पर्ने देखिन्छ। अध्यक्ष पदका लागि युवा नेता ओम गुरुङ, फडिन्द्र धिताल, तोयाराज, गोविन्द गुरुङ र बुद्धिबहादुर तामाङको नाम चर्चामा रहेको छ। त्यस्तै उमप्रमुखमा मीना अधिकारी, चन्द्रमायाँ गुरुङको नाम चर्चामा रहेको छ। एमालेबाट गुणबहादुर भुजेल, गिरिधारी सापकोटा, सनबहादुर तामाङको नाम चर्चामा रहेको छ। माओवादी केन्द्रबाट दीपक देवकोटा, मुक्ति विक, सनिल परियार, चन्द्र भुजेलमध्येबाट एक जना उम्मेदवार बन्ने माओवादीले जनाएको छ।
सिराञ्चोक गाउँपालिका
सिराञ्चोक गाउँपालिकाका लागि सीपी पोखरेलको नाम कांग्रेसबाट बढी चर्चामा रहेको छ। पोखरेलसँगै अशोक गुरुङ, मनकुमारी गुरुङको नाम पनि चर्चामा नै रहेको छ। त्यस्तै उपप्रमुखमा रीता देवकोटाको नाम अगाडि छ। एमालेबाट सिराञ्चोक गाउँपालिकामा जिल्ला अध्यक्ष प्रेम गुरुङको नाम पनि चर्चामा रहेको छ। उनीसँगै देवराज श्रेष्ठ, विराज गुरुङको पनि नाम आएको छ। माओवादी केन्द्रबाट नवराज पुडासैनी र पुष्पराज दाहालमध्ये एक जना अध्यक्ष पदमा भिड्नेछन्।

शहीद लखन गाउँपालिका
शहीद लखन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट कृष्ण आले र जनार्दन अर्यालको नाम चर्चामा रहेको छ। कांग्रेसमा उपप्रमुखमा कमला लामिछानेको नाम चर्चामा रहेको छ। नेकपा एमालेले यस गाउँपालिकामा सुरेन्द्र थापा र मनोज जोशीमध्ये एक जनालाई अध्यक्षको उम्मेदवारको टिकट दिने बताएको छ। त्यस्तै नेकपा माओवादी केन्द्रले भने हितमान सुर्खेती, सञ्जीव थापा, श्यामकुमार श्रेष्ठको नाम चर्चामा रहेको छ। माओवादीले हितमान सुर्खेतीलाई शहीद लखन गाउँपालिकाको अध्यक्षको उम्मेदवारको टिकट दिने तयारी गरेको माओवादी स्रोतले जानकारी दिएको छ।

भीमसेन गाउँपालिका
भीमसेन गाउँपालिकामा नेपाली कांग्रेसबाट ईश्वर पाण्डेको नाम अगाडि छ। कांग्रेसबाट गाउँपालिकाको अध्यक्षका लागि नाम भने तारा पुडासैनी, वासु थापा, ठाकुर भट्ट युवराज बस्ताकोटी चर्चामा छन्। एमालेले सुरेश श्रेष्ठ, प्रतिप सिंखडा, कालिका पाण्डेको नाम चर्चामा रहेको छ। त्यस्तै माओवादी केन्द्रबाट भने लोकप्रसाद बन्जराको नाम बढी चर्चामा रहेको छ। अन्य केही व्यक्तिको नाम चर्चामा रहे पनि लोकप्रसाद बन्जरालाई गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाउने सम्भावना रहेको स्रोतले बतायो। बन्जरालाई यसअघि नै माओवादीले गाउँपालिका प्रमुखको जिम्मेवारी दिएर पठाएको छ।

आरुघाट गाउँपालिका
जिल्लाको दोस्रो व्यापारिक क्षेत्रसमेत रहेको आरुघाट गाउँपालिकाका लागि नेपाली कांग्रेसका बलिया उम्मेदवार हुन् पूर्ण दाहाल। दाहालसँगै गगन अधिकारी, राजु गुरुङको नाम चर्चामा रहेको छ। अरूको नाम चर्चामा रहे पनि दाहालले नै आरुघाट गाउँपालिकाको अध्यक्ष पदको टिकट पाउने कांग्रेस स्रोतले बतायो। कांग्रेसबाट उपप्रमुखमा कल्पना नेपाली, मनमायाँ गुरुङको नाम चर्चामा आएको छ। एमालेले कृष्ण नेपाली, बकबहादुर गुरुङलगायतको नाम चर्चामा ल्याएको छ। एमालेले पनि वर्तमान जिल्ला कार्यसमितिका सचिव कृष्ण नेपालीलाई टिकट दिने सम्भावना बलियो रहेको एमाले स्रोतको दाबी छ।

सुलिकोट गाउँपालिका
जिल्लाको सबैभन्दा विवादित बनेको सुलिकोट गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदका लागि इन्द्रकुमार गुरुङ, केशरी ढकाल, राम कुमार श्रेष्ठको नाम चर्चामा रहेको छ। उपप्रमुखमा जनककुमारी कोइरालाको नाम कांग्रेसमा अगाडि आएको छ। सुलिकोट गाउँपालिकामा एमालेबाट धनीराम घले, खिलप्रसाद पनेरू, दलबहादुर भट्टलगायतका नेताहरुको नाम चर्चामा छ। माओवादी केन्द्रबाट भने विष्णु भट्ट, धामी बराम, नरबहादुर गुरुङ, अमर गुरुङको नाम आए पनि विष्णु भट्टलाई अध्यक्षको टिकट दिने माओवादी स्रोतले बतायो।

धार्चे गाउँपालिका
धार्चे गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदका लागि एक महिला र एक पुरुषको नाम चर्चामा छ। फुलमायाँ गुरुङ, सन्तोष गुरुङको नाम चर्चामा रहेको हो। उपप्रमुखमा मानव गुरुङ र उर्मिला घलेको नाम चर्चामा रहेको छ। यस गाउँपालिकामा एमालेले कमानसिंह गुरुङ र शुकबहादुरमध्ये एक जनालाई गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवार बनाउने बतायो। माओवादी केन्द्र भने सांसद छमबहादुर गुरुङलाई अध्यक्षको उम्मेदवार बनाउने सम्भावना बलियो छ। छमबहादुरसँगै मित्र सुनार, सूर्य गुरुङ, आशा गुरुङ, राकेश गुरुङको नाम पनि चर्चामा रहेको छ।

चुम नुब्री गाउँपालिका
तिब्बतसँग सीमाना जोडिएको चुम नुब्री गाउँपालिकाको अध्यक्ष बन्न अहिलेसम्म नेपाली कांग्रेसबाट दुई जनाको नाम चर्चामा रहेको छ। छेवाङग्याल्जे, पेमा ग्याल्जेनको नाम चर्चामा रहेको हो। एमालेले चुम नुब्री गाउँपालिकामा लोप्साङ लामा र गंगाबहादुर गुरुङमध्ये एक जनालाई टिकट दिने बताएको छ। माओवादी केन्द्रबाट निमालामा लाक्पा ढुण्डुपलामा, रामकुमार गुरुङको नाम पनि चर्चामा छ। माओवादी स्रोतका अनुसार तीन जनामध्ये निमा लामाको सम्भावना बलियो छ।

प्रतिक्रिया दिनुहोस्