इजिप्टमा सीसीद्वारा संकटकाल घोषणा



कायरो, (एजेन्सी)
इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सीसीले सोमबार मुलुकभरि तीन महिने संकटकाल लगाएको घोषणा गरेका छन्।

आइतबार इस्लामिक स्टेट (आईएस)का लडाकूहरुले ४४ जनाको मृत्यु हुने गरी दुईओटा चर्चमा बम विस्फोट गराएकाले उनले संकटकालको घोषणा गरेका हुन्। ‘पाम सन्डे’ नामक स्थानीय पर्व मनाइरहेका बेला राजधानी कायरोनजिकै रहेका दुईओटा चर्चमा बम विस्फोट गराइएको थियो। तर उनले घोषणा गरेको तीन महिने संकटकाल लगाउने प्रस्ताव एक साताभित्रमा संसद्मा पेस गर्नुपर्ने संवैधानिक कानुनी व्यवस्था रहेको छ। संसद्मा रहेका बहुमत सदस्यको समर्थन राष्ट्रपति सीसीलाई रहेकाले संसद्बाट सजिलैसँग उक्त प्रस्ताव अनुमोदित भई संकटकाल कार्यान्वयनमा आउने अनुमान गरिएको छ। संकटकाल घोषणा गर्ने क्रममा सीसीले कट्टरपन्थी इस्लामिक लडाकूविरुद्ध अथक र निकै लामो लडाइ लड्ने प्रतिबद्धता जाहेर गरेका छन्। कायरोदेखि उत्तरतर्फको टान्टामा रहेको मार गिर्गिस चर्चमा गराइएको पहिलो बम विस्फोटनमा २७ जनाको मृत्यु भएको इजिप्टका स्वास्थ्य मन्त्रीले पत्रकारहरुलाई जानकारी दिएका छन्।

त्यसै गरी अर्को विस्फोटन एलेक्जान्ड्रियास्थित मार्कको चर्चमा भएको थियो। सो विस्फोटनमा चार जना प्रहरी अधिकृतसहित कम्तीमा १७ जना मारिएका छन्। आक्रमणकारीले आत्मघाती हमला गरेको पनि गृहमन्त्रीले बनाएका छन्।
यसै गरी टान्टाको विस्फोटमा ७८ जना र एलेक्जान्ड्रियामा भएको विस्फोटमा कम्तीमा ४० जना घाइते भएको स्वास्थ्य मन्त्रीले जानकारी दिएका छन्। आईएसले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै आफ्ना दुई जना आत्मघाती लडाकूले बम विस्फोटन गराएको दाबी गरेको छ। संकटकालको घोषणासँगै महत्त्वपूर्ण संरचनाको सुरक्षाका लागि अब इजिप्टमा प्रहरीसँगै सेना खटिने र सुरक्षा निकायलाई पक्राउ पुर्जीबिना जोसुकैलाई कुनै पनि बेला गिरफ्तारी गर्ने अधिकार हुने बताइएको छ।

यसैबीच गाम्बियाका राष्ट्रपति इड्गार लुंगुले पूर्वनिर्धारित इजिप्ट भ्रमण रद्द गरेका छन्। पछिल्लो समयमा त्यहाँ भएका बम विस्फोटन र राष्ट्रपति सीसीले संकटकालको घोषणा गरेकाले हिजो लुंगुले आफ्नो भ्रमण रद्द भएको जानकारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्