सामाजिक नैतिकताविरुद्धको कानुन



दामोदर पौडेल

सामान्यतया कानुन सबैका लागि समान हुनुपर्दछ। केही अवस्थामा विशेष अधिकार दिनुपर्दछ तर त्यसले समाजलाई नै असर गर्नुहुँदैन। तर मुलुकी ऐनको विवाहवारीको महलको दफा ९ मा लेखिएको छ कि लोग्ने र स्वास्नीबीच अंशवण्डा भई भिन्न बसेमा बाहेक कुनै लोग्ने मानिसले आफ्नी स्वास्नी जीवित छँदै वा कानुनबमोजिम लोग्ने–स्वास्नीको सम्बन्ध विच्छेद नहुँदै अर्की महिलासँग विवाह गर्न वा अर्को पत्नी राख्न हुँदैन।

त्यसै महलको १० नम्बरमा कुनै लोग्ने मानिसले उक्त दफा ९ विपरीत अर्को विवाह गरेमा वा स्वास्नी राखेमा निजलाई एक वर्षदेखि तीन वर्षसम्म कैद र ५ हजार रुपियाँदेखि २५ हजार रुपियाँसम्म जरिवानासमेत हुनेछ, स्वास्नी मानिसले पनि जानी–जानी त्यस्तो विवाह गरेमा वा स्वास्नी भई बसेमा निजलाई पनि सोही बमोजिम सजाय हुनेछ भन्ने उल्लेख छ।

यो व्यवस्थाले कुनै पनि पुरुषले आफ्नी पत्नी हुँदाहुँदै अर्को विवाह गरेमा स्वतः सजाय हुने भयो। तर महिलाले आफ्नो लोग्ने हुँदाहुँदै अर्को विवाह गरेमा कुनै सजायको व्यवस्था छैन। महिलाले आफ्नो पतिसँग सम्बन्ध विच्छेद गरेर पूरा अंश लिन सक्छिन्। त्यसपछि अर्को विवाह गरेमा पहिलो पतिबाट लिएको अंशसमेत फिर्ता गर्नुपर्दैन। यो व्यवस्थाले महिलाले विवाह गर्ने र पुनः अर्को पुरुषसँग चाहेमा विवाह गर्ने अधिकार कानुनले सुरक्षित गरिदिएको छ। महिलाले पति छोड्नु र अर्को विवाह गर्नु कुनै अपराध होइन अर्थात् कानुनअनुसार कुनै सजाय हुँदैन। केवल उनले अर्की पत्नी नभएको पुरुषसँग विवाह गरे हुन्छ। अर्की पत्नी भएको भए पनि उनलाई अर्की पत्नी भएको थाहा थिएन भन्ने प्रमाणित गरेमा उनलाई कुनै सजाय हुँदैन। यसले गर्दा सम्बन्ध विच्छेदका मुद्दाका संख्या बढिरहेका छन्। साना विषयमा पनि असहिष्णुता बढेको छ। बच्चाहरुको बिचल्ली हुने अवस्था बढेको छ। अर्कोतर्फ लोग्ने मानिसले आफ्नी पत्नी हुँदाहुँदै अर्को विवाह गरेमा सजाय हुन्छ।

महिलालाई पुरुषलाई भन्दा बढी नै यौन अधिकार मुलुकी ऐनले दिएको छ। मुलुकी ऐनअनुसार १६ वर्ष उमेर पुगेकी महिलासँग उनको मञ्जुरी लिएर यौनसम्बन्ध राख्नु अपराध हुँदैन। अविवाहित र पति मरेकी महिलाले पुरुषहरुसँग यौनसम्बन्ध राख्न सक्छिन्। यौनसम्बन्ध राखेको कारणले उनलाई कुनै सजाय हुँदैन। पति हुँदाहुँदै पनि कुनै महिलाले परपुरुषसँग यौनसम्बन्ध राखेमा मुलुकी ऐन लोग्ने स्वास्नीको महलका आधारमा पतिले स्थानीय निकायमा पत्नीविरुद्ध सम्बन्ध विच्छेद मुद्दा दिन सक्छ। तर स्थानीय निकायले भने त्यस्ती महिलालाई पनि पुरुषसँग मिलाएर राख्ने प्रयास गर्नुपर्दछ। अर्थात् महिलाले परपुरुषसँग यौनसम्बन्ध राखेमा उनले गल्ती भयो अब त्यस्तो हुँदैन भनेर माफी मागेमा पतिले उनलाई घरमा नै राख्नु पर्ने पनि हुन सक्छ। मुलुकी ऐन लोग्ने स्वास्नीको महलको दफा १ को (क) मा लोग्नेले भने पत्नीले अरु पुरुषसँग यौनसम्बन्ध राखेको अवस्थामा स्थानीय निकायमा सम्बन्ध विच्छेदको निवदेन दिनुपर्दछ, त्यो स्थानीय निकायले पनि दुवै थरीलाई भरसक सम्झाइ–बुझाइ गरेर मेलमिलाप गराइदिनुपर्दछ भन्ने प्रस्ट उल्लेख छ। तर पुरुषले अरु महिलासँग यौनसम्बन्ध राखेमा पत्नीले अदालतबाट सीधै सम्बन्ध विच्छेद गर्न सक्छिन्।

यो व्यवस्थाले महिलालाई अधिकार र सुरक्षा दिएको छ कि उनीहरु उच्छ्रृङ्खल बन्ने वातावरण दिएको छ भन्ने सवाल उठाएको छ। कानुनले समाजलाई व्यवस्थित राख्न सहयोग गर्ने हो। तर अधिकारको नाममा यौन स्वच्छन्दता दिन हुँदैन। यसले समाजमा विकृति ल्याउँछ र परिणामहरु पनि देखिन थालेका छन्। लोग्नेले दुःख गरेर विदेशसमेत गई कमाउने, पत्नीले त्यो पैसा लिएर अर्को विवाह गर्ने र बच्चालाई बिल्लिबाठ पार्ने गरेका घटना बढेका छन्। पतिको सम्पत्ति लिएर सम्बन्ध विच्छेद गर्ने र त्यही सम्पत्तिलाई आधार बनाएर अर्को मन परेको मानिससँग विवाह गर्ने प्रचलनसमेत शुरु भएको छ।

एकजना विद्वान्ले भनेका छन् कि मानिसले आफ्नो परिवारको सदस्य गुमेको पीडा समयको अन्तरालमा बिर्सन सक्छ तर सम्पत्ति गुमेको पीडा बिर्सन सक्दैन। पतिको करोडौं सम्पत्ति लिएर महिलाले उससँग सम्बन्ध विच्छेद गरी अर्को विवाह गरेमा पतिको मानसिकता के होला ? यसले गर्दा पनि महिला वा पुरुषविरुद्धका अरु अपराध हुन सक्छन्।

कुनै महिलाको नाममा एकजना पुरुषले करोडौंको सम्पत्ति गरिदिएका रहेछन्। उनका सन्तान पनि रहेछन्। महिलाले पछि त्यो सम्पत्ति लिएर अर्को विवाह गरिछन्। पहिलो पतिलाई असैह्य भएछ। सन्तान पनि पाल्नुपर्ने र भएको सम्पत्ति पत्नीले लिएर अर्को पुरुषसँग हिँड्नुबाट पीडा भयो। उनले आफ्नी पत्नी लग्ने पुरुषलाई मारेछन्। यो बारा जिल्लाको घटना हो। यस्ता घटनाहरु शुरु भएका छन्। यसले समाजमा अस्तव्यस्तता ल्याउन सक्छ।

महिला हिंसाविरुद्धमा महिलालाई पूर्ण सुरक्षा दिनै पर्छ। महिलाको अस्मिताको रक्षाका लागि समाज र राज्यले ध्यान दिनै पर्छ। तर महिलालाई अस्वाभाविक यौनस्वच्छन्दता दिने, पतिको सम्पत्ति बरबाद पार्ने अवसर दिने र त्यो समेतका कारणले बालबच्चालाई महिलाले बिचल्ली पार्ने कार्य हुनु भने राम्रो होइन। राज्यले कानुन बनाउँदा असल महिलाको सुरक्षा र गलत काम गर्नेहरुलाई निरुत्साहित गर्नुुपर्दछ। कमसे कम महिलाले आफ्नो पति हुँदाहुँदै अर्को विवाह गरेमा सजायको व्यवस्था हुन आवश्यक छ। अब त महिलाले विवाह र सम्बन्ध विच्छेदको माध्यमबाट पनि सम्पत्ति कमाएर एकैपटक धेरै पति राख्ने अधिकार पनि कानुनले दियो। नेपालको कानुनमा महिलाले एकपटकमा एकभन्दा बढी पति राख्न नपाउने व्यवस्था गरेको छैन, पुरुषलाई गरेको छ।
(लेखक अधिवक्ता हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्