चौसागढीमा दर्जनबढि आकांक्षी



नानीराम नेपाल⁄सिन्धुपाल्चोक

स्थानीय तह निर्वाचनको सरगर्मी बढेसँगै जिल्लाका प्रमुख दलह्रू नेपाली काँग्रेस,नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाले जिल्लाका तिनै नगरपालिका र नौ गाउँपालिकामा चुनवकेन्द्रीत अभियान सुरु गरेका छन्। प्रमुख तिन दलले सवै गाउँ तथा नगरपालिकामा भेला, बैठक तथा पार्टी प्रवेशको कार्यक्रमलाई तिव्र बनाएका छन्।

दलह्रूले चौतारा साँगाचोकगढी नगरपालिका(चौसागढी)लाई प्रतिष्ठाका रूप्मा लिएपछि यतिबेला सदरमुकाम चौतारा आसपासमा चुनावी माहौल बढेको छ। प्रमुख तिन दल कांग्रेस, एमाले र माओवादी केन्द्रले चौतारा साँगाचोकगढी नगरपालिकालाई आफ्नो प्रतिष्ठाका रूप्मा लिएका छन्।
निर्वाचन मिति नजिकिँदै गर्दा चौसागढी नगरपालिकामा मेयरका लागि १२ जना आकांक्षी देखिएका छन्।

सदरमुकाम रहेको चौतारा साँगाचोकगढीको मेयर पदका लागि नेपाली कांग्रेसबाट तिन, एमालेबाट चार र माओवादी केन्द्रबाट तिन आकांक्षी देखिएका छन्। त्यस्तै राप्रपाबाट पनि दुई जनाको नाम चर्चामा छ। नेपाली काँग्रेसबाट नगर सभापति यज्ञ दंगाल, साविक साँगाचोकका इकाई सभापति केशवराज गिरी र इन्द्रलोचन धितालको नाम चर्चामा छ। नेकपा एमालेबाट सोम सापकोटा, इन्द्र नेपाल र ईश्वरीप्रसाद श्रेष्ठको नाम चर्चामा आएको छ। पूर्व सांसद कृष्णराज श्रेष्ठले पनि मेयरमा आकांक्षा गरेको बुझिएको छ। माओवादी केन्द्रबाट माधव सापकोटा, अमानसिंह तामाङ र युवराज दुलालको नाम चर्चामा छ। उनीह्रूबिच को उम्मेद्वार बन्ने भन्नेमा पार्टीभित्रै कडा प्रतिष्पर्धाको अवस्था देखिएको छ। पार्टी अध्यक्ष प्रचण्डसँगको ‘डाइरेक्ट’ सम्बन्धका कारण दुलालले नै चौतारामा मेयरको टिकट पाउने अनुमान गरिएको छ। राप्रपाबाट केन्द्रिय सदस्य पुस्कर ढुंगेल र जितबहादुर भारतिको नाम चर्चामा छ।

स्थानीय तहको निर्वाचनमा जिल्लाबाट यो वर्ष २ लाख १ हजार ४ सय १४ मतदाता सहभागी हुनेछन्। जसमा १ लाख २ हजार ४ सय ७१ पुरुष र ९८ हजार ९ सय ४३ महिला छन्। संविधान सभा निर्वाचन २०७० मा जिल्लामा कुल मतदाता १ लाख ८४ हजार ८२ मतदाता थिए। यो चार वर्षको अवधीमा जिल्लामा २७ हजार ३ सय ३२ मतदाता बढेका छन् भने ५ हजार ९५ मतदाताको मृत्यु भएपछि मतदाताको सूचीबाट उनीह्रूको नाम हटाइएको निर्वाचन कार्यालयका प्रमुख विजयकुमार कार्कीले जानकारी दिए।

भूकम्पपीडितलाई चासो छैन
नाका नखुले ‘नो भोट’

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावी माहौलले छपक्कै छोपिसकेको छ। चुनावी सरगर्मी बढिरहँदा दुई वर्षदेखि टहरामा जीवनयापन गर्दै आएका भूकम्पपीडितलाई भने चुनावी माहौलले छुन सकेको छैन। विनाशकारी भुकम्पको दुई वर्षसम्म घर बनाउन नसकी गोठजस्तै टहरामा कष्टकर जीवन धान्दै आएका उनीह्रूमा कसरी घर बनाउने भन्ने एउटै चिन्ता छ, चुनावको चासो छैन। दुई हिउँद बर्खा टहरामै धानेका भूकम्पपीडितह्रू चैतको हुरीमा टहरो थाम्दै रात कटाइरहेका छन्।

नजिकिँदो बर्खा कसरी धान्ने भन्ने अर्को ठूलो चिन्ता छ उनीह्रूलाई। तर दुई दशकपछि हुन लागेको स्थानीय तह निर्वाचनको चासो छैन। दलका नेता कार्यकर्तालाई चुनावी तातो लागिसक्दा भूकम्पपीडित मतदातामा भोट हाल्ने उत्साह देखिँदैन। ‘भोट त धेरैपटक हालियो, चुनाव त आउँछ जान्छ’, साविक कालिका गाउँविकास समिति– ३ की सीता माझी भन्छिन्,–‘भोट हालेर हाम्रो घर बन्ने होइन क्यारे ’ विनाशकारी भूकम्पको दुई वर्षसम्म टहरामा जसोतसो जीवन गुजारा चलाएका हेलम्बुका ५४ वर्षिय सोमर तामाङले अझैसम्म घर बनाउन सकेका छैनन्। पुननिर्माणका लागि सरकारी अनुदानको पहिलो किस्ता पाएर पनि जग्गाजमिन नहुँदा उनी बेघर बनिरहे। छिमेकीका जग्गामा टहरा बनाई आश्रय लिइरहेका उनलाई पनि स्थानीय तह निर्वाचनको केहि चासो छैन। स्थानीय निकायको चुनाव हुनु–नहुनुले आफ्नो जीवनमा अर्थ नराख्ने उनी बताउँछन्।‘टहरामा कतिञ्जेल बस्नु, घर बनाउने जमिन छैन’, उनी भन्छन्,–‘चिन्ता त घरको छ, चुनावको हैन।’

चुनावी तयारीका लागि नेताह्रू गाउँ गाउँमा पुग्दा भूकम्पपीडितले पहिलो किस्ता नपाएको गुनासोसँगै दोस्रो किस्ताको रकम माग गरिरहेका छन्।

भूकम्पपीडितह्रूमा चुनावी रौनकता छाएको छैन। ‘नेता–कार्यकर्तालाई चुनाव लाग्या छ, जनतालाई छैन’, साविक इर्खु गाउँ विकास समिति –३ का कुमार तामाङ भन्छन्,–‘हामीलाई जसले सहयोग गर्छ उसैलाई भोट दिने हो, नत्र त कसैलाई भोट हालिँदैन।’ कुनै पनि दलले भूकम्पपीडितलाई सहयोग नगरे भोट नै नहाल्ने उनले सुनाए।‘हाम्रो भोटले जित्छन् अनि हामीलाई नै हेर्दैनन्’, उनी भन्छन्,‘जसले जितेपनि हामीलाई केहि न केहि।’ दुई वर्षसम्म पुननिर्माणको पहिलो किस्ताको पचास हजार नपाएकी इर्खुकी सिर्जना लामा पहिलो किस्ता नपाए त भोट नै नहाल्ने सुनाउँछिन्। पति बिदेश, आफ्नो नाममा जग्गाधनीपुर्जा नभएपछि सिर्जनाले अहिलेसम्म पहिलो किस्ता पाएकी छैनन्।‘पहिलो किस्ता पाइएन भने भोट नै हाल्दिन’, उनी भन्छिन्,–‘घर बनाउन सक्या छैन, भोट हालेर के हुन्छ ?’

स्थानीय निर्वाचन नजिकिएपनि सीमाक्षेत्र तातोपानी(हाल भोटेकोसी गाउँपालिका) का स्थानीयमा कुनै रौनकता छैन। न त कुनै उल्लास नै छ उनीह्रूमा। दलका झण्डा फहराउँदै दैनिकजसो नेताका गाडी हुँइकिन थालिसक्दा पनि सीमावासीमा चुनावी तातो छैन। दुईवर्षदेखि तातोपानी नाका बन्द हुँदा यसक्षेत्रका स्थानीयको जनजीवन नै कष्टकर बनिरहेको छ। छिट्टै नाका खुलोस् भन्ने उनीह्रूको एउटै चाहना छ। सीमाक्षेत्रका स्थानीयह्रू नाका खोल्न जसले पहल गर्छ उसैलाई भोट दिने बताउँछन्। नाका नखोले त स्थानीय तह निर्वाचनमा ‘नो भोट’ को मनस्थितीमा उनीह्रू छन्। ‘नाका खुल्छ भने मात्र भोट दिने हो, नत्र दिँदैनौं’, तातोपानीका स्थानीय निमा शेर्पाले भने।

प्रतिक्रिया दिनुहोस्