बरियताको सोख



मुलुक अहिले अप्ठेरोमा रहेको धरहरा वरपरका चर्चाले पनि बताइरहेको छ । निर्णय गर्नुपर्ने कुराहरु धेरै छन् । कार्यान्वयनमा जानुपर्ने कुरा धेरै छन् । जनताका थुपै्र समस्या समाधान गर्नुपर्ने अवस्था छ । तर, सरकार भने दुई उपप्रधानन्त्रीको बरियताका बारेमा छेउ न टुप्पाको विवादमा अल्झिएर तीन सातादेखि मन्त्रिपरिषद्को बैठकविहीन अवस्थामा रहेको छ । यस्ता बैठक नहुँदा निश्चय पनि कतिपय महत्त्वपूर्ण निर्णयहरु हुन नसकेर अलपत्र परेको बुझ्न कठिन छैन ।

तर, दुई जना उपप्रधानमन्त्री म ठूलो भन्दै फुलेर बस्ने अनि प्रधानमन्त्री निरीह बनेर बस्ने परिपाटी दोहोरिइरहेको छ । यो भन्दा हाँस्यास्पद र राष्ट्रिय लज्जाको विषय के हुन सक्ला ? तर, भइरहेको छ त्यही । माननीय कमल थापा (कथा) र माननीय विमलेन्द्र निधि (विनि) अहिले म ठूलो भन्दै फुलेर बसेका छन् ।

यत्रो विवाद हुँदा त ‘होइन मलाई बरियतामा कुनै मतलब छैन म देश र जनताको काम गर्न आएको हुँ’ गर्छु भन्नु नि । उनीहरु यो कुरा सार्वजनिक रूपमा भन्न पो तयार होलान् कि भनेर धरहरा वरपर धेरैले अनुमान गरे पनि कथा र विनी त मौनता साँधेर पो बसे बा। फेरि देशलाई अनिर्णयको बन्दी बनाउनुको सट्टा बरु छोडेर बाहिरिन्छु भन्नु नि त्यो पनि भन्दैनन् । उनीहरुलाई जनता र देश भाँडमा गए पनि जाउन् आफूलाई बरियतामा परे हुनेरहेछ । कुनै मतलब नै नगरी मन्त्रिपरिषद् बैठक लम्ब्याउँदै जानुले यही कुराको संकेत गरेको छ । अनौठो छैन त पाठकबृन्द यी बरियतावालाको सोख !

प्रतिक्रिया दिनुहोस्