अमेरिकी नौसेना कोरियाली प्रायद्विपतर्फ



वासिङटन, (एजेन्सी)
उत्तर कोरियासँग त्यसको आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई लिएर चिन्ता बढिरहेका बेला अमेरिकी सेनाले आइतबार आफ्नो नौसैनिक आक्रमण समूहलाई कोरियाली प्रायद्विपतर्फ बढ्न आदेश दिएको छ।

कार्ल भिन्सन नामक उक्त समूहसँग एउटा विमानवाहक र अन्य युद्धपोतहरू रहेको छ। यूएस प्यासिफिक कमान्डले सो समूह अहिले पश्चिम प्रशान्त क्षेत्रतर्फ अघि बढिरहेको रिपोर्टिङ गरेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको आणविक खतराविरुद्ध अमेरिका एक्लै उभिन सक्षम रहेको प्रतिक्रिया दिँदै आएका छन्। यूएस प्यासिफिक कमान्डका प्रवक्ता डेभ बेनह्यामले उत्तर कोरियाको गैरजिम्मेवारीपूर्ण आणविक तथा क्षेप्यास्त्र कार्यक्रमको कारण उक्त प्रायद्विप खतरामा परेको अभिव्यक्ति दिएका छन्।

प्योङयाङले अमेरिकाको मुख्य भूमिसम्म प्रहार गर्न सक्ने लामो दूरीको क्षेप्यास्त्र विकास गर्लान् भनी अमेरिका चिन्तित रहेको छ। उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाबीच वार्षिकरूपमा हुने गरेको संयुक्त सैनिक अभ्यासलाई आफूविरुद्ध युद्धको तयारीका रूपमा लिने गरेको छ।

प्रतिक्रिया दिनुहोस्