४२ हजार फिटमाथि बच्चाको जन्म



इस्तानबुल, (एजेन्सी)
टर्की एयरलाइन्सको एक उडानको केबिन क्रु विमान ४२ हजार फिटको उचाइमा उडिरहेको बेला एक जना नयाँ यात्रीलाई विमानमा स्वागत गरे। उक्त विमान गिनीको राजधानी कानकरीबाट वागाडुग हुँदै इस्तानबुलको उडानमा थियो।

विमानका यात्रीमा एक जना गर्भवती महिला पनि थिइन्। विमानले उडान भरेको केही समय नबित्दै उक्त महिलालाई प्रसव पीडा शुरु भएको थियो। उनको पीडा शुरु भएको देखेपछि चालक दलका सदस्य र केही यात्री उनको मद्दतका लागि अगाडि आए। ती महिलाले विमानमा एक बच्चालाई जन्म दिइन्।

उक्त वोइङ ७३७ विमान बुर्किनो फासोको राजधानी वागाडुग पुगेपछि ती महिला र उनका बच्चालाई अस्पताल लगिएको थियो। महिला र काडिजु नाम राखिएका उनका बच्चा दुवै अस्पतालमा स्वस्थ रहेको समाचारमा जनाइएको छ। चालक दलका सदस्यहरूको यो कामलाई सबैतर्फबाट प्रशंसा भएको छ।

टर्की एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘नाफी डीबी नामकी २८ हप्ताको गर्भवती यात्री प्रसवपीडामा भएको चालक दलका सदस्यहरूले देखेपछि तत्काल उनको सहयोगका लागि उनीहरू परिचालित भएका थिए।

अधिकांश एयरलाइन्सले गर्भवती महिलालाई ३६ हप्ताको गर्भ अगाडिसम्म मात्र यात्राको अनुमति दिएको छ। यात्रा गर्नुपरेको अवस्थामा उनीहरूले २८ हप्ताभन्दा धेरै समयको गर्भवती भएको आफ्नो चिकित्सकबाट लेखाउनुपर्नेछ। यसले बच्चा जन्मने सम्भावित तिथि थाहा हुन्छ।

प्रतिक्रिया दिनुहोस्