सिन्धुपाल्चोकमा पाका ‘भर्सेज’ युवा



नानीराम नेपाल⁄सिन्धुपाल्चोक

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा वडा, गाउँ तथा नगरमा उम्मेदवार चयन गर्न दलहरूलाई समस्या हुने देखिएको छ। निर्वाचन नजिकिएसँगै स्थानीय तहका नेतृत्वका लागि आकांक्षीहरू बढिरहँदा दलहरूलाई उम्मेद्वार चयनमा समस्या पर्ने देखिएको हो। पाकाहरू उम्मेद्वारी पाउन आफ्नै किसिमले लविङ गरिरहेका छन्। अर्कातिर स्थानीय निकायमा पहिलोचोटी मतदान गर्न लागेका युवापुस्ता युवालाई नै उम्मेद्वार बनाई विजयी गराउनमा लागिपरेका छन्।

वर्षौपछि स्थानीय तहको निर्वाचन हुन लाग्दा पुराना एवं पाका नेताहरूमा उत्साह बढेको छ। अझ युवा पुस्ता बढि उत्साही देखिन्छन्। चुनावी सरगर्मी बढेसँगै पुरानो पुस्ता र युवापुस्ता अलग अलग नेता कार्यकर्ता भेटघाटमा ब्यस्त बनिरहेका छन्। दुई दशक सम्म स्थानीय तहको निर्वाचन हुन नसक्दा राजनीतिक दलहरूमा नेतृत्व ‘जाम’ नै भएर बसेको छ। त्यसमाथि नयाँ पुस्ता पनि स्थानीय तहमा नेतृत्वका लागि दावी गरिरहँदा दलहरूलाई उम्मेद्वार छान्नै समस्या छ।

पाकाले नेतृत्वको दावी छाडेका छैनन्, युवा पुस्ताबाट पनि नयाँ नयाँ अनुहारहरू नेतृत्वका लागि प्रत्यासी देखिएका छन्। युवा पुस्ताको समर्थन लिएर पुरानो पुस्ता स्थानीय तहको नेतृत्व गर्ने मनस्थितीमा देखिन्छ। पुराना तथा अग्रज नेताहरू सल्लाहकारको भुमिकामा रहेर नयाँ पुस्तालाई स्थानीय निकायको नेतृत्वको अवसर दिनुपर्ने युवापुस्ताले तर्क गरिरहेका छन्। ‘नेतृत्व युवापुस्तालाई दिनुपर्छ तर उमेरले मात्र युवा भएर हुँदैन’, बलेफी गाउँपालिका (साविकको मांखा–६) का सुनिल पौडेल भन्छन्,–‘ हर दृष्टिकोणले सक्षम युवा नेतृत्वमा आउनुपर्दछ।’ पछिल्लो पुस्तामा महत्वकांक्षा बढ्दा स्थानीय तहको निर्वाचनमा उम्मेद्वार चुन्न समस्या हुने नेकपा एमालेका एकजना पुराना नेता बताउँछन्। युवापुस्तालाई पनि सम्मानजनक हिसावले प्रतिनीधित्व गराउनुपर्नेमा जोड दिँदै ति नेताले आ आफ्नो पदिय हैसियत, त्याग, योगदान र क्षमताका आधारमा नेतृत्व दावी गर्नुपर्ने औंल्याए।‘लामो समय निर्वाचन भएन, पाका र युवा पुस्ताको व्यवस्थापन कसरी गर्ने भन्ने संकट सवै दलमा छ’, ती नेताले भने।

निर्वाचन नजिकिँदै जाँदा सरकारी जागिर नै छाडेर उम्मेद्वार बनि राजनीतिमा होमिन तयार हुनेहरू पनि धेरै छन्। वर्षौसम्म जागीर खाएर निर्वाचनका बेला उम्मेद्वार बन्न खोजे युवापुस्ताले रोक्ने अवस्था देखिएको छ। ‘जागिर छाडेर कोहीपनि मान्छे उम्मेद्वार बन्न आउँछ भन्ने युवापुस्ताले मान्नेछैन’, नेपाली कांग्रेसका युवा नेता युधिर पौडेल भन्छन्,–‘स्थानीय तह अब युवा पुस्ताले नेतृत्व गर्छ, पाकाहरू प्रदेश र केन्द्रतिर लाग्नुस्।’ यसपटकको स्थानीय तह निर्वाचनमा युवाहरूको भावना कुल्चिएर जान खोजे ‘बागी बिद्रोह’ हुनसक्ने पनि पौडेलले संकेत गरे । पाकालाई सम्मान गर्दै राजनीतिक दलहरूले युवालाई अवसर दिनुपर्ने उनले तर्क गरे। ‘युवा पुस्तालाई नेतृत्वमा ल्याउन सवै पार्टीमा बहस चलाउनुपर्छ’, –उनी भन्छन्। सक्रिय राजनीतिमा रहेकालाई ‘बाइपास’ गरेर जागिरेहरूलाई उभ्याउन नहुने उनले बताए।

माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका नेता इन्द्रजित तिमल्सिनाले केहि दिनअघि नजिकिँदो स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै फेसबुकमा एउटा स्टाटस लेखे। फेसबुक स्टाटसमार्फत उनले दुइ दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा युवा पुस्तालाई नेतृत्वमा पुर्याउन माओवादीसहित कांग्रेस–एमालेका नेतालाई सांकेतिक दवाव दिएका थिए। ‘युवावस्थामै उम्मेद्वार बनेका नेताहरू आज टिकट बाँड्ने ठाउँमा हुनुहुन्छ’, विद्यार्थी नेता तिमल्सिनाले भने,–‘हेरौं, त्यो बिरासत अरुको नेतृत्व विकासमा कति लागु गर्न सक्नुहुन्छ ?’ उनी पनि स्थानीय तहको निर्वाचनमा युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने तर्क गर्छन्।

नेकपा एमाले निकट युवाहरू पनि स्थानीय तह निर्वाचनमा युवाको सम्मानजनक प्रतिनीधीत्व हुनुपर्नेमा जोड दिँदै आएका छन्। लामो समयसम्म स्थानीय निकाय रिक्त हुँदाको पीडा सवैभन्दा बढि युवाहरूले भोगेको भन्दै उनीहरू युवा नेतृत्वको ‘अघोषित अभियान’ मा लागिपरेका छन्। सामाजिक विकासको गतिलाई अघि बढाउनका लागि अब युवापुस्तालाई नेतृत्वको अवसर दिनुपर्ने एमाले जिल्ला कमिटी सदस्य विजयकृष्ण श्रेष्ठ बताउँछन्। पटक पटक पाकाहरूले मात्र नेतृत्व दावी गरिरहने हो भने युवावर्गले कहिले पालो पाउने ?’, श्रेष्ठ भन्छन् । अबको स्थानीय निकाय फरक किसिमको हुने हुँदा प्राविधिक सीप, क्षमता र योग्यताका आधारमा युवाहरूलाई नेतृत्वको अवसर दिनुपर्ने उनी बताउँछन्। युवाहरू पलायन भएकै कारण मुलुकले विकासमा गति लिन नसकेको भन्दै स्थानीय तहमा युवाहरूको भुमिका महत्वपुर्ण हुने उनले बताए।

उमेद्वार बन्न जागिर छाड्दै शिक्षकहरू

सेतिदेवी माध्यमिक विद्यालय ठुलोसिरुवारीका शिक्षक कुलप्रसाद दाहालले जिल्ला शिक्षा कार्यालयमा पेशाबाट राजिनामाका लागि कागजपत्र पेश गरे। जिल्ला शिक्षा कार्यालयले गत १३ चैतमा उनको राजिनामा स्विकृत गरिदियो। चैत १ गतेदेखि नै लागुहुने गरि शिक्षक दाहालको राजिनामा स्विकृत भयो। राजिनामा स्विकृत भएपश्चात शिक्षक दाहाल चुनावी अभियानमा छन्। माओवादी केन्द्र समर्थित उनी पार्टीले टिकट नदिए स्वतन्त्र रूपमा उम्मेद्वारी दिने दाउमा छन्।

ककलिङ हरीसिद्धी माध्यमिक विद्यालय ठूलोपाखरका शिक्षक कैलाश थापाले पनि दुई साताअघि शिक्षा कार्यालयमा राजिनामा पेश गरे। शिक्षा कार्यालयले उनको पनि राजिनामा स्विकृत गरिदियो। चैत १ देखि लागु हुनेगरि राजिनामा स्विकृत भएपछि शिक्षक थापा स्थानीय तह निर्वाचनको तयारीमा जुटेका छन्।

गाउँपालिकामा वडाध्यक्षमा उम्मेदवारी दिन उनले पेशाबाट राजिनामा दिएका हुन्। इचोकस्थित महेन्द्र आधारभुत विद्यालयमा कार्यरत शिक्षक खेतनाथ घिमिरेले पनि दुईसाताअघि शिक्षा कार्यालयमा राजिनामा पेश गरे। शिक्षा कार्यालयले राजिनामा स्विकृत गरिदिएपछि उनीपनि शिक्षक पेशाबाट मुक्त भए। राजिनामापछि उनी पनि उमेदवार बन्ने कसरतमा छन्।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै जागिर छाडेरै राजनीतिमा लागेर स्थानीय तहको नेतृत्व लिन शिक्षकहरू लागिपरेका छन्। स्थानीय तह निर्वाचनमा विभिन्न पार्टीबाट उमेदवार बनि स्थानीय तहको नेतृत्व हत्याउन शिक्षकहरू राजनीतिमा होमीएका छन्। चुनावको मिति घोषणा भएयता तिनजना शिक्षकले राजिनामा दिएका छन्। उनीहरूको राजिनामा स्विकृत नै भइसकेको छ। चुनावको मिति नजिकिएसँगै राजीनामाका लागि अरु धेरै शिक्षकहरू तम्तयार अवस्थामा छन्।

शिक्षा कार्यालयका अनुसार राजिनामाबारे सुझबुझका लागि शिक्षकहरू आउने क्रम बढेको छ। बैशाख पहिलो साताभित्र जिल्लाका धेरै शिक्षकहरूले राजिनामा गर्ने शिक्षास्रोतले जानकारी दिएको छ। धेरै शिक्षकहरू राजिनामाका लागि तयारी अवस्थामा बसेपनि उनीहरूले बैशाख अगावै राजिनामा नगर्ने शिक्षा कार्यालयका एक कर्मचारी बताउँछन्।‘बैसाखदेखि ग्रेड बढ्छ, त्यसपछि शिक्षकहरू राजिनामा लिएर आउँछन्’, ति कर्मचारीले भने। बाह्रविसेस्थित शारदा माध्यमिक विद्यालयका शिक्षक यमबहादुर बस्नेत पनि केहि दिनअघि राजिनामा लिएर शिक्षा कार्यालयमा आए। तर उनले शिक्षा कार्यालयमा राजिनामा बुझाएका छैनन्। बस्नेत पनि ग्रेड बढेपछि राजिनामा दिने तयारी अवस्थामा रहेका छन्।

निर्वाचन नजिकिएसँगै बैशाखदेखि राजिनामा गर्ने शिक्षकहरूको लर्को लाग्ने जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरे बताउँछन्। ‘स्थानीय तहको नेतृत्व लिन धेरै शिक्षक साथीहरू आकांक्षी देखिएका छन्, चैत यता तिनजनाको राजिनामा स्विकृत भइसकेको छ’, जिशिअ घिमिरेले भने,‘बैशाख पहिलो साता राजिनामाको लर्को लाग्ने स्थित देखेको छु।’

प्रतिक्रिया दिनुहोस्