नमोबुद्ध नगरपालिकामा त्रिपक्षिय भिडन्त



मोतीराम तिमल्सिना⁄काभ्रे

६ गाविस मिलेर दाप्चा काशिखण्ड बनेको जिल्लाको अन्तिम नगरपालिकामा स्थानीय पुर्नसंरचना पछि थप दुई गाविस थपिएर नमोबुद्ध नगरपालिका कायम भयो। जिल्लाको छैटौ नगरपालिका मण्डन देउपुर घोषणा भयो।

स्थानीय निर्वाचनको माहोल चम्किरहँदा नमोबुद्ध नगरपालिकामा उम्मेदवारहरू घर दैलो कार्यक्रममा ब्यस्त भए पनि दलहरूले आधिकारिक उम्मेदवार घोषणा गरिसकेका छन्। आकांक्षी धेरै भए पछि दलहरूले सबै कार्यकर्ताहरूलाई ब्यवस्थापन गर्ने गरी तल्ला कमिटी देखि नै असन्तुष्टहरूलाई थामथुम पार्न लागिरहेका छन्। तर पनि भित्री निर्णय र तयारी अनुसार सबै दलका सम्भावित उम्मेदवाहरूले सबै क्षेत्रमा प्रचार प्रसारलाई तिब्र बनाएका छन्।

सत्तारुढ दल नेपाली कांग्रेसबाट यस अघि दाप्चा काशिखण्ड गाउँ समितिका सभापति रहेका कुन्साङ लामालाई नगरको प्रमुख पदको टिकट दिदैछ भने एमालेबाट पनि गाउँ कमिटीका अध्यक्ष टिपी शर्मा तिमल्सिना(टंकप्रसाद तिमल्सिना) लाई प्रुमख पदको उम्मेदवारी दिने निश्चित गरेको छ। सत्ताकै नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले पनि गाउँ कमिटी अध्यक्ष रहेका रत्न लामालाई प्रमुख पदको टिकट दिने निश्चित जस्तै गरेको छ। अन्य दलहरू राप्रपा लगायतका केहि दलहरूले पनि प्रमुख दलहरूसँग तालमेल गर्ने वा उम्मेदवार कसलाई खडा गर्ने भन्ने आन्तरिक तयारीमा जुटेका छन्।


तामाङ समुदायको बाहुल्यता रहेको भन्दै नेपाली कांग्रेसले सभापति समेत रहेका कुन्साङ लामालाई टिकट दिने तयारी गरेको हो। माओबादी द्धन्द्धकालमा उहाको पक्की घर ध्वस्त बनाइदिएका थिए भने माओबादीसंगको झडपमा उहाको अंगभंग हुनेगरि घाइते समेत भएका थिए। निरंकुशता विरुद्धको आन्दोलनमा निरन्तर सहभागि रहदै आएका लामा काग्रेसभित्र इमानदार कार्यकर्ता र विकास प्रेमिको रूपमा परिचित छन् । क्रसर ब्यवसाय समेत गरिरहेका लामाले भुकम्पको बेला घरघरमा पुगेर राहत वितरण गरि जनमत लिएका थिए। नमोबुद्ध नगरपालिकामा अन्य समुदायबाट उम्मेदवार उठाउँदा पराजित हुने भन्दै लामालाई नै उठाउने तयारी नेपाली कांग्रेसले गरेको छ।

नमोबुद्ध नगरपालिकामा समावेश भएका ८ वटा गाविस नै २०५४ सालमा एमालेले जितेका गाविसहरू हुन्। निर्वाचन क्षेत्र नम्वर १ र २ मा परेका गाविसहरूबाट संविधान सभा २०६४ मा दुबैमा माओवादीले विजयी हासिल गरेको थियो भने २०७० मा क्षेत्र नम्वर १ मा नेपाली कांग्रेसका उम्मेदवार र क्षेत्र नम्वर २ मा नेकपा एमालेका उम्मेदवारले विजयी हासिल गरेको थियो। एमालेले सबै गाविसमा आफ्नो पकड भएको बताउँदै लामो समय पत्रकारिता र राजनीतिमा सक्रिय पोल्ट्रि ब्यवसायमा समेत संलग्न रहेका नेता टंकप्रसाद तिमल्सिना(टिपी शर्मा) लाई प्रमुख पदको उम्मेदवार बनाउने आन्तरिक निर्णय गरेको छ। त्यहि अनुसारको प्रचार प्रसार र तयारीका साथ एमालेले सबै गाविसमा कार्यक्रमहरू संचालन गरिरहेको छ। जातिय रूपले कुन्साङले तामाङ समुदायको मत प्राप्त गर्ने आंकलन गरेपछि एमालेले उपप्रमुखमा कसलाई उठाउने भन्ने निर्णय गरिसकेको छैन।

नेकपा माओवादी केन्द्रमा टिकटका प्रमुख दावेदार हरि तिमल्सिना र रत्न लामा रहेका छन्। तिमल्सिना र लामा बीच समझदारी कायम गर्ने अन्तिम प्रयास भएको छ। तिमल्सिनालाई उठाउँदा पार्टीले तामाङ समुदायको मत प्राप्त नगर्ने हो कि भन्ने आंशका छ भने तामाङलाई टिकट दिँदा विगतमा गोठाटारमा गोली हान्दा बालकको मृत्यु भएपछि ६ वर्ष जेल जीवन विताएर सार्वजनिक भए लगत्तै पार्टीको अध्यक्ष भएका थिए। अहिले पनि उनलाई जिल्ला अदालतमा दायर भएको २०५८ सालमा सुन्तली तामाङले दर्ता गरेको फौजदारी मुद्धा कायम नै छ। मुद्दा फिर्ता लिन महिला बोकेर रत्न दिन दिनै अदालत धाउन थालेका छन्। तिमल्सिनाले दावी छाडे लगत्तै रत्नलाई माओवादी केन्द्रले टिकट दिने निश्चित छ।

छत्रेवाँझ, डराउनेपोखरी, पुरानागाउँ, मेथिन्कोट, खनालथोक, फुलबारी गाविस मिलेर बनेको साविक दाप्चा काशिखण्डमा हाल कानपुर कालापानी र श्यामपाटी सिमलचौर गाविस समावेश गरिएको नमोबुद्ध नगरपालिका बनेको छ। २९ हजार ५ सय १९ जनसंख्या रहेको छ भने ११ वडा कायम गरिएको छ। १ सय २ वर्ग किमी रहेको नमोबुद्ध यस अघिको अन्तिम नगरपालिका थियो। धार्मिक हिसावले लुम्विनी पछिको दोश्रो मानिएको नमोबुद्ध नगरपालिकामा ऐतिहासिक स्थान तेमाल देखि विपी लोकमार्गको केन्द्र भकुण्डसम्म पर्छ। पाँचखाल, पनौतीसम्म सिमाना फैलिएको उक्त नगरपालिकामा २० हजार ७ सय १७ मत रहेको छ।

प्रतिक्रिया दिनुहोस्