कम्ब्याट ड्रेसले जोडेको गहिरो मित्रता



शैलेन्द्र थापा

हामी एकै दिन राष्ट्र सेवाका लागि कम्ब्याट ड्रेस लगाउँदै थियौं। त्यसपछिका नौ वर्षमा हाम्रो मित्रता शब्दमा वर्णन गर्न नसक्ने निकट हुन पुगेको थियो। हाम्रा कतिपय युनिट सँगै थिए। र, कतिपय व्यक्तिहरू हामीलाई सधैँ सँगै देख्दा सोध्ने गर्थे– तपाईंहरू जुम्ल्याहा हो ? तनहुँस्थित डुम्रे बजारकी दिदीले यसरी नै सोध्दा ऊ हाँस्दै भन्थ्यो– कहाँ हुनु दिदी, म बाहुन यो क्षेत्री। म फेरि जवाफ फर्काउँथे– दिदी, यो बफ बाहुन, म शुद्ध क्षेत्री अनि फेरि सँगै पेट मिची–मिची हाँस्थ्यौं।
यसरी नै मित्रताका नौ वर्ष पूरा हुँदै गर्दा आत्मीय मित्र सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठकलाई यस धर्तीबाट सदाका लागि गुमाउनुको पीडा शब्दमा उतार्न सकिने खालको छैन।

तर चैत्र २८ गते पूरै कालो दिनजस्तै लाग्छ मलाई। यो एक वर्षको अवधि त्यस्तो कुनै दिन छैन उसको सम्झना नआएको होस्। रगतको नाताभन्दा भावनाको नाता बलियो र नजिकको हुन्छ भन्ने मान्यता शायद हाम्रो मित्रताले प्रमाणित गर्थ्र्यो कि ? ऊ कर्तव्य पालनाकै सिलसिलामा २०७२ साल चैत्र २८ गते चितवनबाट काठमाडौं आउँदै थियो। धादिङस्थित पृथ्वी राजमार्गको मलेखुमा भएको सडक दुर्घटनाको खबर हावासरि साथीभाइमाझ फैलँदै थियो। म त्यस बेला पोखरामा थिएँ। शायद बिहानको ११ बजेको समय हुनुपर्छ। फोनको घण्टी पनि निर्दयी जस्तो लाग्यो। भानुभक्त सरले घटना आत्तिदै सुनाउनुभयो। त्यसपछिका झन्डै १० घण्टा कति बेचैनीमा बिते, यहाँ उल्लेख गर्न सकिँदैन। प्लेन टिकट खोजें काठमाडौं आउने तर भन्नेबित्तिकै किन पाइन्थ्यो र ? साना गाडी रिजर्वको प्रयास पनि असफल भयो। तर अन्तिम संस्कार चितवनस्थित देवघाटमा हुने सुनेपछि श्रीमती र २ वर्षकी छोरी च्यापेर म पनि पोखराबाट हिँडे चितवनतर्फ। साथमा थिए ब्याचीहरू लोकेन्द्र सुब्बा र सन्दीप अर्याल। साँझ ७ बजे पोखराबाट हिड्यौं।

उफ् बाटो पनि कति लामो ? ट्याक्सीको रफ्तार कम हो कि ? रातको झन्डै १०ः३० बजे जस्तो लाग्छ देवघाट पुगेको। त्यो सन्नाटा, त्यो समय र दृश्यहरू खोई कसरी भनौं। साथी विकासले पहिल्यै अरु साथीहरूलाई भनेको रहेछ– त्यो (म) आएपछि उत्पात गर्छ। त्यसलाई टाढै रोक्नुपर्छ। आखिर मन सम्हाल्न जसरी पनि त पर्यो। त्यो रात लगभग ट्याक्सीमै बित्यो भने हुन्छ। अन्तिम संस्कारपश्चात् फेरि पोखरा फर्कंदा बिहान करिब ४ बजेको थियो कि। त्यसपछिका केही दिन उदासी र बैचैनीमा बिते। आजका दिनसम्म नसम्झेको कुनै दिन भएजस्तो लाग्दैन। मित्रतामा आएको यो झड्का कति भोल्टेजको हो ? नाप्ने यन्त्र कतै बनेको भए नाप्न हुन्थ्यो।

उसले मलाई क्यारिकेचर गर्न सिक्यो, उसको र मेरो धेरै आनिबानी मेल खान्थ्यो र त हामी सँगैसँगै हुन्थ्यौं। उसको प्रतिभा, पेसाप्रतिको लगनशीलता, अनुसाशन, कर्तव्यनिष्ठता र इमानदारिता अब्बल थियो। आफैं गीत लेख्ने, संगीत भर्ने र त्यसलाई मीठो स्वर दिने क्षमता थियो स्वर्गीय दुर्गाबाबु पाठकको। त्यसैले त २०६०⁄६१ मा चितवनमा सम्पन्न सिनर्जी राइजिङ स्टारमा उत्कृष्ट १० भित्र र आठौं कालिका म्युजिक अवार्डमा बेस्ट आर्टिस्टको उपाधि जितेको थियो। ‘पन्छी’ र ‘निद्रा’ लाग्दैन गरी दुईवटा एल्वम बजारमा आएका थिए उसका। जसमा रहेका गीत यु–ट्युबमा लाखौंले हेरेका छन्।

२०६४ सालमा खुल्ला प्रतिस्पर्धाबाट सशस्त्र प्रहरी अधिकृत बनेको ऊ आफ्ना साथीभाइमाझ समेत उत्तिकै लोकिप्रिय थियो। कडा प्रकृतिका तालिममा पनि आफ्नो दुःख र थकानका बाबजुद थकित साथीहरूलाई मीठो गीत गाएर ऊर्जा थप्ने कार्यमा दुर्गाबाबु कहिल्यै पछि परेन। संगठनमा समेत अत्यन्तै अनुशासित, कर्तव्यनिष्ठ, पेसागतरूपमा दक्ष र जिम्मेवार अधिकृतका रूपमा गनिन्थ्यो दुर्गाबाबु। फुटबल तथा क्रिकेटमा समेत राम्रो खेलाडी ऊ क्यारिकेचर गर्न, गीतार बजाउन तथा अन्य क्रियाकलापमा समेत अब्बल मानिन्थ्यो।

अब यी सम्झना जीवनभर रहनेछन्। ती डाँडाकाँडामा सँगै पसिना बगाएको, एउटै स्याउ पालैपालो टोकेर खाएको, एउटै सर्ट आलोपालो लगाएको, एउटै थालमा खाएको, सँगै घुमेको, ती थुप्रै यादहरू अझै ताजै छन् र जीवनभर रहनेछन्। ‘आजको मिलन भोलिको छुटन, सम्झना रहिरहोस् नौ जुनी’ भनी उसले ‘पक्षी’ एल्बममा गाएका शब्दहरूजस्तै आज ऊ आफ्ना साथीभाइमाझ मीठो सम्झना छोडेर सदाका लागि गइसकेको छ।

सम्झनाका पोकाहरू फुकाउँदै जाने हो भने कैयौं पाना भरिन सक्छन्। र त भन्नै पर्छ– कम्ब्याटले जोडेको यो गहिरो मित्रता, दुई शरीर एक मुटु भएको थियो। सम्बन्ध प्रगाढ हुन र माया लाग्न एउटै बाबुआमाको सन्तान हुनपर्छ र ? खोई त्यस्तो लाग्दैन। त्यसैले त हामी एउटै थियौं– मन, मुटु र मस्तिष्क।
(लेखक सशस्त्र प्रहरी निरीक्षक हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्