जंगलमा बाँदरसँग खेल्दै गरेकी बालिकाको उद्धार



नयाँदिल्ली, (एजेन्सी)
जंगलमा बाँदरहरूसंगै बसिरहेको एक बालिका भेटिएपछि उत्तरी भारतका प्रहरीले शुक्रबार हराएका सूचीमा रहेका बालबालिकाको पहिचान गर्ने कोसिस गरिरहेका छन्। करिब ८ देखि १० वर्ष उमेर बीचका ती बालिकालाई केही साताअघि उत्तर प्रदेशको एउटा जंगलमा फेला पारिएको थियो।

उनको उपचारमा खटिएका डाक्टरहरूले बोल्न नजान्ने उनले बाँदरको जस्तो व्यवहार देखाउने गरेको बताएका छन्। उद्धार गर्न प्रहरी घटनास्थलमा पुग्दा एक हुल बँँदरसंग बसेर उनी तिनीहरूको हाउभाउ नक्कल गरिरहेकी थिइन्। नेपालसँग जोडिएको भारतीय सिमानामा रहेको काटारनियाघाट वन्यजन्तु आरक्षण ती बालिकालाई गाउँलेहरूले देखेका थिए।

प्रहरी अधिकारी सुरेश यादवले उनलाई लिन गएको प्रहरी टोलीलाई बाँदरहरूले आक्रमण गरेको बताएका छन्। डाक्टरहरूले अस्पतालमा ल्याइँदा कुपोषणग्रस्त उनको केश र नंग लामो हुनुका साथै शरीरभरि घाउ रहेको पनि बताएका छन्। उनी बाँदर जस्तो चिच्याउने र चारवटै हात खुट्टाले टेकेर हिंड्ने गरेको बताइएको छ।

अहिले उनको स्थितिमा केही सुधार आएको बताइएको छ। अलि सामान्य अवस्थामा आइसकेपछि उनलाई बाल कल्याण निकायमा हस्तान्तरण गरिने भएको छ। त्यहाँ उनलाई चिकित्सा विशेषज्ञहरूले पुनः संसार चिनाउने काम गर्नेछन्। अस्पतालका प्रमुख मेडिकल अफिसर डीके सिंहले स्वास्थ्यमा केही सुधार आएपछि उनलाई लखनउ मेडिकल कलेजमा राखिने बीबीसी हिन्दीलाई बताएका छन्।

उनलाई भेट्न अस्पताल पुगेको स्थानीय डिस्ट्रिक्ट मजिस्ट्रेट अजयदीप सिंहले उनलाई ुवन दुर्गाु नाम दिएका छन्। उनी कति समयदेखि जंगलमा रहँदै आएको भन्ने स्पष्ट हुन सकेको छैन। अधिकांश भारतीयले उनलाई चर्चित लेखक रडयार्ड किप्लिंगको जंगल बुकको ब्वाँसो पाल्ने पात्र मोग्लीसँग तुलना गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्