सकिएकै हुन् त नेपालका माओवादीहरू ?



देवराज गुरुङ

विगत ०५२ सालपछिको परिवर्तनकारी र जनताले आश गरेको पार्टी थियो माओवादी। नेपालमा भएको माओवादी आन्दोलनले राज्यका धेरै पक्षहलाई परिवर्तन गरेको छ। त्यही आन्दोलनले राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गर्न निकै महत्त्वपूर्ण भूमिका खेल्यो।

जति बेला माओवादीले युद्धको थालनी गर्दै थियो, हाल नेपाली राजनीतिमा ठूला भनिएका दलहरुको दिमागमा गणतन्त्रको सपना त के कल्पनासमेत थिएन।

गिरिजाप्रसाददेखि अन्य नेताहरुले माओवादीले गणतन्त्रको नारा उठाउँदा रत्नपार्कबाट बयलगाडा चढेर अमेरिका जाने कुरा गर्यो भन्दै माओवादीलाई हासोमा उडाउनसमेत पछि परेनन्। अहिले गणतन्त्रको खुबै मीठो भाषामा वकालत गर्न खोज्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले त्यति बेला माओवादीहरु भनेका २⁄३ जना व्यक्ति मात्रै भएकाले तिनलाई बन्दुक ठोकेर सिध्याउन सकिनेसमेत बताएका थिए। त्यति मात्र कहाँ हो र ? आफूलाई ठालू कम्युनिस्ट ठान्ने एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल त अझ प्रधानमन्त्री बन्न पाउँ भन्दै ज्ञानेन्द्रको पाउमा दामसमेत चढाउन भ्याए।

माओवादी आन्दोलन उत्कर्षमा पुग्दै गर्दा तीनै दलले दिल्लीमा ७ बुँदे सम्झौता गरेर गणतन्त्रको जस लिनसमेत पछि परेनन्। गणतन्त्रको स्वाद पनि यतिबेला माओवादीहरुले भन्दा तिनै अवसरवादी दलहरुले बढी चाखिरहेका छन्। मुखले आफूलाई खुबै क्रान्तिकारी भन्ने माओवादीहरुको आन्दोलन अहिले यसरी सकियो कि आगो लागेको परालजस्तै हुन पुगेको छ। जति माओवादी बन्नलाई समय लाग्यो त्योभन्दा पनि कम समयमा नेपाली माओवादी आन्दोलन कमजोर बनेको छ।

हिजो युद्ध लडेर आएका माओवादीहरु यति बेला टुक्रा-टुक्रामा विभक्त भएका छन्। माओवादीले अरूलाई जति दोष दिए पनि आफ्नै कारणले आन्दोलन कमजोर भएको हो। तर, उनीहरु कहिले पनि आफ्नो कारणले आन्दोलन कमजोर बनेको हो भन्ने कुरा स्वीकार नै गर्दैनन्। पार्टीभित्रको अवसरवादी चरित्र, कार्यकर्ताको उचित व्यवस्थापन र फुट माओवादी आन्दोलनलाई कमजोर बनाउने मुख्य कारणहरु हुन्।

पुष्पकमल दाहाल ुप्रचण्डु माओवादीको अध्यक्ष भएको २५ वर्षभन्दा बढी भइसकेको छ। उनैले नेतृत्व गरेको हालको माओवादी केन्द्रलाई उनका कार्यकर्ता र नेताहरुले संस्थापन पक्ष भन्दै आएका छन्। यसैबीचमा पार्टीको नाम पनि धेरै पटक फेरियो तर नेतृत्व भने अझै उही। खासमा अहिले माओवादी केन्द्रभित्र अवसरवादीहरुको भीडले भरिभराउ भएको छ। सत्ता र शक्तिको पछाडि लाग्ने मान्छेहरु अहिले मओवादी केन्द्रको पछि-पछि दौडिरहेका छन्। माओवादी शान्ति स्थापनापश्चात् पार्टीमा भित्रिएका अवसरवादी प्रवृत्तिका मान्छेहरुले कम्युनिस्ट भन्नेहरुलाई लिडिङु गरिरहेका छन्। भित्रभित्रै अराजक र अवसरवादी कम्युनिस्टका रूपमा माओवादी केन्द्र पार्टी विकास भइरहेको छ।

बाबुराम भट्टराई र मोहन वैद्यले पार्टी छाडेपछि माओवादीमा प्रचण्डलाई ठूलो संकट परेको छ। प्रचण्डले समय अनुकूल बाबुराम र वैद्यको दस्ताबेजमा राजनीति गर्दै आएका हुन्। उनीहरुले नै लेखेका दस्ताबेजमा प्रचण्डले कमा र फुलिस्टप थपेर आफ्नो भन्दै आएका हुन्। प्रचण्डसँग अहिले जनयुद्ध लडेका खासै नेताहरु पनि छ्रैनन्। ती मानिसहरु यति बेला बाबुराम, वैद्य र विप्लव तीनै जना नेताहरुमा बाँडिएका छन्। प्रचण्डलाई अबको राजनीतिक यात्रामा सफल बन्न बाबुराम र वैद्य चाहिएला वा नारायणकाजी श्रेष्ठ, त्यो भने समयले देखाउन बाँकी नै छ।

उता मोहन वैद्यले प्रचण्ड र बाबुरामलाई दक्षिणपन्थी र लाल गद्दारको आरोप लगाउँदै नेकपा माओवादी क्रान्तिकारी गठन गरेका छन्। उनीसँग हाल ६० वर्षभन्दा माथिका नेता-कार्यकर्ताहरुको ठूलो हिस्सा रहेको छ। उमेरले नेटो काटेका नेता तथा कार्यकर्ताका कारण उनको क्रान्तिको बाटो पनि अपुरो हुने लगभग निश्चित छ। उनीसँग अबको विकल्प भनेको पार्टी एकताबाहेक अरू छैन।

विप्लवसँग भने थोरै भए पनि युवा र क्रान्तिकारी रगत भएका मानिस छन्। तर, विप्लवको कार्यदिशा अपुरो रहेको छ। न उनको पार्टी आन्दोनलमा जान सक्छ, न संसदीय राजनीतिमा ? पार्टीको दोधारे प्रवृत्तिले पनि उनको यात्रामा पूर्णविराम लाग्ने निश्चित छ।

पार्टीभित्र युद्धको समयदेखि नै बुर्जुवा र दक्षिणपन्थीको आरोप खेप्दै आएका बाबुराम भट्टराईले यति बेला अन्य पार्टीभन्दा फरक पार्टी निर्माण गरेर अघि बढिरहेका छन्। खोक्रो सिद्धान्तले मात्रै देशको विकास सम्भव नहुने भन्दै भट्टराई यति बेला आर्थिक समृद्धिको नाराका साथ नयाँ शक्ति नामको पार्टी खोलेर अगाडि बढिरहेका छन्। नयाँ शक्ति पार्टीलाई जनताले आश गरेको तर भर नगरेको पार्टीको रूपमा हेरिएको छ। तर, पार्टीभित्र भने मिश्रित खालका मान्छेहरु छन्। सबै विचारधाराबाट आएका मानिसहरुलाई पार्टीले अहिले एकै ठाउँमा घोलिरहेका छन्। ठोस रूपमा यसको परिणामा कस्तो आउँछ त्यो त आगामी दिनमा हेर्न बाँकी नै छ।

अन्य पार्टीबाट फालिएका र केही अवसर पाइन्छ कि भनेर लाग्नेहरुको यस पार्टीमा अहिले ठूलै जमात छ। अलि बढी यस पार्टीले सामाजिक सञ्जालमा राजनीति गरिरहेको छ। कहिले काहीं त नयाँ शक्ति पार्टी कतै फेसबुके पार्टी त बन्ने होइन ? भन्ने पनि आरोप लाग्ने गरेको छ। पार्टीको आर्थिक स्रोत के हो र कहाँबाट कति पैसा आएको छ, त्यो पनि केही सीमित नेताहरुलाई भन्दा अन्यलाई पत्तो छैन।

यसरी एक-आपसमा टुक्रा-टुक्रा भएर नाङ्लोको व्यापार जस्तो बनेको माओवादी पार्टीहरु छिट्टै जुट्ने छाट्काँट पनि छैन। फेरि अर्कातर्फ पार्टी एकता गर्नलाई सैद्धान्तिकरूपमा पनि मेल हुन जरुरी छ। तर, भोलि चुनावमा जाँदा जनताबाट तिरष्कृत भएर आफूलाई सानो भएको महसुस भएपछि माओवादी आन्दोनल कमजोर भयो भन्दै बहानाबाजी गरेर पार्टी एकता गर्ने सजिलो बाटो भने देखिएको छ। यस्तो खेलमा खुब सिपालु र ह्याट्रिक हान्न माहिर खेलाडी प्रचण्डले यस्तो प्रेम प्रस्ताव ल्याए भने त्यसलाई चाहिँ अनौठो नमान्दा हुन्छ।

प्रतिक्रिया दिनुहोस्