कञ्चनजंघा आरोहण गर्दै तीन नेपाली महिला



रवीन भट्टराई, ताप्लेजुङ
ताप्लेजुङमा रहेको विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघामा यही सिजनभित्र तीन नेपाली महिलाको पाइला पर्ने भएको छ। ुथ्री ओमेन, थ्री टपु नामक अभियानका तीन जना नेपाली महिलाले उक्त हिमाल आरोहणका लागि यात्रा शुरू गरिसकेका छन्।

उनीहरूको टोली शनिबार ताप्लेजुङ आइपुगेको छ। आरोहणमा ओखलढुंगाकी माया शेर्पा, सोलुखुम्बुकी पासाङल्हामु शेर्पा तथा दोलखाकी दावायाङजोम शेर्पासहितको टोली रहेको छ।

उनीहरूले ताप्लेजुङको याम्फुदिनतर्फको मार्गबाट कञ्चनजंघा बेसक्याम्प प्रवेश गर्ने बताइएको छ। जलवायु परिवर्तन न्यूनीकरणको सन्देश बोकेर चैत २५ गते काठमाडौंबाट हिँडेका उनीहरू शनिबार दिउँसो ताप्लेजुङ आइपुगेका हुन्।

सो टोलीलाई होटल व्यवसायी संघ ताप्लेजुङका अध्यक्षसहित प्रतिनिधिले खादा लगाई सम्मानसहित आरोहणको सफलताको शुभकामनासमेत दिएका छन्। संघका अध्यक्ष दिनेश खवास, सल्लाहकार सुरेश लिम्बुसहित सञ्चारकर्मीको टोलीले पाँचथरको गणेशचोक पुगेर लामो समयपछि कञ्चनजंघामा मानव पाइला राख्ने साहस गरेको भन्दै सम्मानसहित शुभकामना दिएको हो।

आरोहण टोली पाँचथरको गणेशचोक, थर्पु, हप्पुखोला, खेवाङ, याम्फुदिन हुँदै कञ्चनजंघा आधार शिविरतर्फ जाने बताइएको छ। २००७ मा विश्वको सर्वोच्च शिखर सगरमाथा तथा २०१४ मा पाकिस्तानमा रहेको दोस्रो अग्लो हिमशिखर माउन्ट केटुको आरोहण गरिसकेको उक्त समूहले विश्वको तेस्रो अग्लो हिमाल आरोहण गर्न लागेको हो। उनीहरूको टोलीमा भारतीय, चाइनिज, स्पेनिसलगायतको टोलीसमेत रहेका छन्।

कम आरोहण हुने र तुलनात्मकरूपमा अप्ठेरो भएकाले तयारी पनि सोहीअनुसार गरी यात्रा तय गरेको आरोहण दलका सदस्यहरूको भनाइ छ। यो हिमालको पाँचौं क्याम्प निकै अप्ठेरो र लामो भएको माउटेन गाइड नुरी शेर्पा बताउँछन्।
ुमहिलाहरू सजिलो हिमाल मात्र आरोहण गर्छन् भन्ने भ्रम चिर्नु र कञ्चनजंघा जस्तो अप्ठेरो हिमाल पनि चढे भन्ने सन्देश दिँदै आरोही र पर्यटक भित्राउनु आरोहणको मुख्य उद्देश्य भएको आरोहणमा सहभागी मायाँ शेर्पाले बताइन्। ुजलवायु परिवर्तनले पारेको प्रभावका विषयमा पनि जनस्तरसम्म जानकारी गराउनु छु (उनले भनिन्।

पर्यटन मन्त्रालयको पर्वतारोहण शाखाका नायव सुब्बा ज्ञानेन्द्र श्रेष्ठका अनुसार सन् २०१५ देखि कञ्चनजंघा हिमालको आरोहण भएको छैन। सन् २०१३ र १४ मा आरोहणका क्रममा त्यहाँ लगातार दुर्घटना भएका थिए। २०१३ मा ३ र १४ मा ५ जनाको आरोहणकै क्रममा ज्यान गएको थियो। उनीहरूको शव पनि निकाल्न सकिएको छैन। महिला टोलीले भने व्यवस्थित ढंगले चुनौतीहरू सामना गर्दै आरोहण गर्ने तयारी गरेका छन्।

उनीहरूको टोली सेभेन समिट कम्पनीबाट आरोहण गर्न लागेका हुन्। कञ्चनजंघा हिमाल आरोहणका क्रममा ४५ देखि ५० दिन लाग्नसक्ने आरोहीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्