जनमत वाङ्मय प्रतिष्ठानबाट यस वर्षका सम्मानित प्रतिभाहरु



जनमत वाङ्मय प्रतिष्ठान नेपालले आफ्नो ३३ औं वार्षिकोत्सवका अवसरमा विभिन्न क्षेत्रमा रही साहित्य सिर्जना एवम् संरक्षण गर्दै आएका व्यक्तित्वहरुलाई आज बनेपामा सम्मान गर्दै छ। प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार मोहन दुवालका अनुसार जनमत पत्रिकाको माध्यमबाट विगतमा पनि समय–समयमा विभिन्न साहित्यिक कार्यक्रम एवम् बर्सेनि यस किसिमको सम्मान गरिँदै आएको हो। यही क्रममा आज शनिबार एक समारोहका बीच १० जना साहित्यिक व्यक्तित्वहरुलाई सम्मान गरिँदै छ। आज सम्मानित हुने प्रतिभाहरुको यहाँ संक्षिप्त जानकारी प्रस्तुत गरिएको छ।
हृदयचन्द्र–वरिष्ठ जनमत साधक सम्मान
वि.सं. १९९१ फागुन १४ गते माता स्व. मोहनमाया श्रेष्ठ र पिता स्व. आनन्दलाल श्रेष्ठकी सुपुत्रीका रुपमा क्षेत्रपाटी, काठमाडौंमा यिनको जन्म भएको हो।कटु सत्यभित्रको सङ्घर्ष नै जीवन हो’ भन्न रुचाउने शान्ता श्रेष्ठले जीवनका अधिकांश समय महिला सङ्घ–संस्थामा सक्रिय रही नारी हक–हितका लागि, जनताको प्रजातान्त्रिक हक–अधिकार प्राप्तिका लागि सङ्घर्षरत रहेर आफूलाई चिनाइरहिन्। एम.कम.सम्मको अध्ययन गरेकी यिनी २००४ साल र २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भई सङ्घर्ष गरेबापत प्रजातन्त्र सेनानीका रुपमा सम्मानित भइसकेकी छन्। हालसम्म पनि आस्थामा बाँच्न जानेकी, स्वाभिमानलाई तल–माथि पर्न नदिई जीवनमा जस्तोसुकै कठिनाइ आए पनि र एक्लै भए पनि बाँच्न जानेकी यिनी बाँच्दै गरेकी महिलाहरुकै समूहको अगुवा महिला राजनीतिज्ञ पनि हुन्। यिनको उच्चता हिमशिखरकै शीतल छहारीजस्तै शीतल महसुस हुने खालका छन्। २०६३ सालतिर सभासदसम्म भई राजनीतिक क्षेत्रमा देखा पर्दै आएकी यिनी उपराष्ट्रपति पदमा समेत उम्मेदवार भई राजनीति–वृत्तमा आफूलाई चिनाइसकेकी सक्रिय महिला हुन्।

साहित्यमा यिनी कथाकारका रुपमा प्रसिद्ध छिन्। वि.सं. २००८ देखि नै संस्मरण लेख लेख्दै आएकी यिनी २०१३ सालमा रेडियो नेपाल प्रसारण सेवामा भएको प्रवेशले साहित्यमा विशेष रुचि राख्दै, सिर्जनाका बटवृक्षहरु हुर्काउँदै, साहित्यिक क्षेत्रमा देखा पर्दै आएकी साहित्यकार हुन्। यिनका कथा, नाटक, कविता, संस्मरण, उपन्यासका पुस्तकहरु प्रकाशित छन्। शान्ता श्रेष्ठका प्रकाशित साहित्यिक कृतिहरुमा कथा सङ्ग्रहतर्फ– सारङ्गीमा नअटाएको सुर (२०४२), दिल वैराग (२०५९), शान्ता श्रेष्ठका कथाहरु (२०६०), चाँदनी (२०६९) र आक्रोशका आँखाहरु (२०७१) प्रकाशित छन्। संस्मरण सङ्ग्रहहरुमा– तेत्तीस पुतली (२०५२), खालि हात (२०५२), अन्धकारभित्रको अन्धकार (२०६३), अन्धकारको गर्भभित्र (२०६४), यो कथा हो (२०६५) प्रकाशित छन्। उपन्यासहरुमा– सङ्घर्षभित्रका अनौठा पाइला (२०५८) र घाउ उसको दुखाइ मेरो (२०६०) प्रकाशनमा आएको देखिन्छ। यसको अलावा २०४६ सालमा दिन होइन, साँझपछिको रात (नाटक) र २०४७ सालमा बोलाएँ मैले बिहान (कविता सङ्ग्रह) प्रकाशित भएको देखिन्छ।

८३ वर्षसम्मको उमेरमा पनि चोखो भावना र निष्ठामा दत्तचित्त रही हिमालझैँ अटल रहेकी नारी, साहित्यमा सत् निष्ठा पोख्न पाउँदा गौरव गर्ने साहित्यकार शान्ता श्रेष्ठका अटल विश्वासहरु जीवन्त रहिरहून्् भनी शुभकामना दिएरहृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान’बाट सम्मान गर्न पाउँदा जनमत गौरव महसुस गर्दछ।
जनमत–केदार÷सुदर्शना बालसाहित्य सम्मान
प्रसिद्ध आख्यानकार रमेश विकलका अक्षरमार्गमा निरन्तर लाग्न मन गरेर अक्षरयात्रीका रुपमा आफ्नो छवि देखाउन सफल छन् विकलका सुपुत्र विजय चालिसे। वि.सं. २००८ असार २२ गते जोरपाटी–९, आरुबारी, काठमाडौंमा जन्मेका विजयले आफ्नो पिताको सिर्जना, साधना र समर्पणलाई मन पराएर सघाएका मात्र छैनन् पिताकै आदर्श र व्यक्तित्वलाई चिरस्थायी बनाउने रमेश विकलको सम्झनामा प्रतिष्ठान नै बनाएर आफूलाई चिनाए। उपन्यास, कथा, यात्रा, निबन्ध, संस्कृति, पत्रकारितामा आफ्नो सिर्जनामार्फत चिनाउँदै आएका यिनी बालसाहित्यकारका रुपमा पनि प्रसिद्ध छन्। बालसाहित्यमा २७ वटा पुस्तक प्रकाशित गराइसकेका यिनका अन्य विधाका प्रकाशित पुस्तकहरुमध्ये उपन्यासमा– होटेल राँकीमा हत्या, अनि कुइरो फाट्छ, त्यस्तै कथासङ्ग्रहमा– त्रिविधा, प्रयोग÷प्रत्यारोग, भग्न आस्थाको खण्डहरु, अग्निचव्रm, विज्ञानको कैदी, खोसिएको सपना पर्दछन्। संस्कृति, यात्रा निबन्ध र विविधमा– डोटेली लोकसंस्कृति र साहित्य, अप्रिलको बेलायत, मनका तुलिकामा स्मृतिका विम्बहरु प्रकाशित छन्। आमसञ्चार, पत्रकारितामा पनि विविध पक्षमा यिनले कलम चलाएका छन्। नेपाली तथा नेपाली–अंग्रेजी भाषामा थुप्रै अन्य फुटकर लेख–रचनाहरु प्रकाशित गराइसकेका यिनी वि.सं. २०२० देखि लेखन क्षेत्रमा लागेका हुन्।

पत्रकारितामा पनि आफ्नो पहिचान बनाइसकेका यिनले गोरखापत्र प्रतिष्ठानबाट प्रकाशित हुने गोरखापत्र दैनिक, मधुपर्क मासिक, युवामञ्च मासिक, मुना मासिक पत्रिकाहरुको पटक–पटक प्रधानसम्पादक भई सेवा पुर्याइसकेका छन्। यिनलेसाङ्ग्रिला’ त्रैमासिक साहित्यिक पत्रिकाको पनि सम्पादन गरेको देखिन्छ। समाजसेवा, शिक्षणसेवामा पनि मन दिँदै आएका यिनी थुप्रै सङ्घ–संस्थाहरुमा सल्लाहकार, अध्यक्ष, संरक्षक, महासचिव, उपाध्यक्ष भई आफूलाई चिनाउन सफल छन्। हाल यिनीरमेश विकल साहित्य प्रतिष्ठान’ स्थापना गरेर महासचिवका रुपमा कार्यरत छन्।

साहित्यकार विजय चालिसेलाई भाषा–साहित्यको क्षेत्रमा सक्रिय र समर्पित भएबापत जनमत वाङ्मय प्रतिष्ठानका तर्फबाट बालसाहित्यको उत्कृष्टत लेखनका लागि विशेष सम्मान गर्न पाउँदा प्रतिष्ठान गौरव महसुस गर्दछ। भाषा र साहित्यका क्षेत्रमा यिनको गति र यात्रा प्रफुल्लित हुँदै जाओस्।

दीपा–जनमत सम्मान
नेपाली भाषा–साहित्यका अभियन्ता, अन्वेषक र चर्चित साहित्यकारका रुपमा आफूलाई चिनाउन सफल पूर्णप्रकाश नेपालयात्री’का सुपुत्र शैलेन्दुप्रकाश आफ्नै बुबाको अक्षरमार्गमा दिलोज्यान लगाएर कुद्दै आएका सफल साहित्यकार हुन्।

समालोचना र काव्यमा आफ्नो विशिष्ट पहिचान देखाउन सफल यिनी साहित्यसेवा र सिर्जनामा रम्न पाउँदा खुशी छन्। यिनले पनि आफ्ना पिताको स्मरण र भावनामा समर्पित हुँदैपूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्र’ स्थापना गरेर आफूलाई अक्षर–पूजारीका रुपमा चिनाएका छन्।

शिक्षणसेवा र प्राध्यापन पेसामा आफूलाई क्रियाशील तुल्याएर आफूलाई साहित्यकारका रुपमा चिनाउँदै आएका यिनका प्रकाशित पुस्तकहरुमा महाकाव्यतर्फ– प्रेमपूजा, विन्देश्वरी, नमिता सुनिता, दिग्बोध, कल्पना कुसुम, वेदना बोल्छ, जानकी विरह, युगकवि, महाभूकम्प सबाई पर्दछन्। त्यसै गरी समालोचनामा– राममणि आ.डी. व्यक्ति र कृति, राष्ट्रकवि माधव घिमिरे, माधव घिमिरेका खण्डकाव्यको ध्वनितात्विक अध्ययन, कवित्व विचरण छन्। अनिवार्य नेपाली, नेपाली वाणी, रचनात्मक नेपाली व्याकरण, नेपाली वाङ्मय, प्रयोगमूलक नेपाली व्याकरण विषयका ४० औं पाठ्यपुस्तक लेखकका रुपमा चिनिएका यिनका बालसाहित्यमा पनि चार थान पुस्तक प्रकाशित छन्।

शिक्षणसेवामा कर्म लगाएर, मर्ममा साहित्य भरेर, काव्य, समालोचनाका अनेकौं आलेखहरुमा आफूलाई डुबाएर साहित्यकारका रुपमा प्रख्यात रहेका यिनी जनमत मासिकमा काव्य र समालोचना छपाउँदै आएका प्रिय लेखकका रुपमा जनमत मासिकका पाठकहरुले चिनिदै आएका स्रष्टा हुन्। यिनै प्रिय स्रष्टालाई यिनले २०७३ कात्तिकको जनमत मासिकमा प्रकाशित गराएकोअन्तरका सुसेलीहरुमा’ एक दृष्टि समालोचनाका लागिदीपा–जनमत सम्मान’ प्रदान गरिएको हो। सुन्दर यात्राका लागि शुभकामना।
गणेश÷खिलकुमारी दुवाल जनमत सम्मान
नेपालभाषामा विद्यावारिधी गरेका, नेपालभाषाका ज्ञाता, नेपालभाषाका प्राध्यापक चन्द्रमान बज्राचार्यले नेपालभाषामा लगायत नेपालीमा पनि पुस्तक प्रकाशन गरेर आफूलाई लेखकका रुपमा चिनाएका छन्। अनुसन्धान, समालोचना र समसामयिक विषयमा कलम चलाउँदै आएका चन्द्रमान कीर्तिपुर क्षेत्रका प्रख्यात बुद्धिजीवी पनि हुन्। वि.सं. २०११ साउन ३१ गते कीर्तिपुरमा जन्मेका यिनी नेपालभाषा केन्द्रीय विभागका प्रमुख भएर पनि सेवा पुर्याउँदै छन्। सबैजसो विषयमा चाख राख्दै आएका यिनका नेपालभाषामा प्रकाशित पुस्तकहरुमा–छ्वास’ काव्यय् कवि व्यथित, भिक्षु महानामकोविद’ म्हसिके, सिर्जनाया विवेचना,नेपाय्’ जिगु धःगु खँ’, कविकेशरी चित्तधरहृदय’ ः जीवनी र व्यक्तित्व, साहित्यिक सिद्धान्त, सन्दर्भ ः नेपालभाषा, क्रिया–शब्दकोश (नेपाली–अंग्रेजी–नेपालभाषा) पर्दछन्। नेपालीमा यिनका प्रकाशित पुस्तकहरुमा– महाकवि चित्तधरहृदय’कोसुगत–सौरभ’ मा नेपाल–संस्कृति,सुगत–सौरभमा बुद्ध जीवनी र बुद्धधर्म साहित्यिक समीक्षाका कृतिहरु अनुवाद भएर प्रकाशित भएका छन्।

पर्यटन र संस्कृतिको हिसाबलेकीर्तिपुर’लाई चिनाउन यिनले कीर्तिपुर नगरपालिकाभित्रका पर्यटन स्थलहरु एक झलक, भिजिट कीर्तिपुरलाई प्रकाशन गराएका छन्। भारतको विस्तारवादी चरित्रको विरुद्धमा यिनलेकिन पिरोल्छ भारत नेपाललाई’ समसामयिक लेखसङ्ग्रह प्रकाशित गरेका छन्।आफन्तीका कथा’का अनुवादकका रुपमा पनि चिनिएका चन्द्रमान नेपालभाषा साहित्य क्षेत्रमा क्रियाशील रहँदै आएका सक्रिय अभियन्ता हुन्।

नेपालभाषाका सेवक तथा साहित्यकारलाई दिँदै आएकोगणेश÷खिलकुमारी दुवाल–जनमत सम्मान’ ले यस वर्ष यिनैको सम्मान भएको छ। नेपालभाषा साहित्य उत्थानका लागि, नेपालभाषाकै समृद्धिका लागि समर्पित व्यक्ति–संस्थालाई सम्मान गर्दै जाने यस सम्मानको उद्देश्य रहेकोले यस वर्ष उक्त सम्मानले डा. चन्द्रमान बज्राचार्यलाई सम्मान गरिएको छ। भाषा, साहित्य र संस्कृतिको उत्थानका लागि निरन्तर गतिशील बन्दै, ऊर्जा थप्दै, सिर्जनामा गति बढाउँदै सेवा र समर्पणमा सधैँ क्रियाशील भइरहन सकून्, भाषा÷साहित्यको यात्रामा सफलता मिलोस्।
भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान
भाषा–साहित्यको उत्थानका लागि चित्रकारितामा रङ्ग भर्दैै देखा परेकी, विराटनगरमा रमेर साहित्यिक धरातल निर्माण गर्दै आएकी गङ्गा सुवेदी क्रियाशील र सक्रिय महिला साहित्यकारका रुपमा चिरपरिचित छन्। साहित्यकार, समाजसेवकहरुको सम्मान गर्न पाउँदा गौरव गर्ने यिनी स्रष्टा, समाजसेवकहरुलाई उत्कृष्ट ढङ्गले सेवा गर्ने अभियानमा जुटेकी छन्। वि.सं. २०१८ मङ्सिर २१ गते धरानमा जन्मेकी यिनी सामाजिक सेवामा पनि सक्रिय छन्। साहित्य, चित्रकला, समाजसेवा यिनका गतिशीलताका नामहरु हुन्। २०३३ सालमा यिनी सामूहिक चित्रकला प्रदर्शनीमा देखा परिन्। यिनका प्रकाशित कृतिहरुमा– बोल्छन् आँखाहरु (कविता सङ्ग्रह), सपनाको क्षितिजभित्र (गीत सङ्ग्रह, गीति एल्बम), गङ्गा सुवेदीका विचार र कथाहरु, एक पाइला अघिल्तिर (गीत सङ्ग्रह), सृष्टि र जगत् (कला र साहित्य सङ्ग्रह), घायल वर्तमान (कथा सङ्ग्रह), सम्मोहित समय (कथा सङ्ग्रह) छन्। जिल्ला र राष्ट्रका चित्रकला प्रदर्शनीमा पनि चित्रकारका रुपमा देखाउन सफल यिनीचेतन’ पत्रिका रचेतना सन्देश’ अर्धवार्षिकका सम्पादक पनि हुन्।

यिनै साहित्यसेवी तथा साहित्यिक पत्रकार गङ्गा सुवेदीलाई यिनको साहित्यसेवा, समर्पणका लागिभारती–जनमत साहित्यिक पत्रकारिता सम्मान’ ले सम्मान गरिएको छ। यात्रामा रम्नेहरु जो निःस्वार्थ सेवामा पनि समर्पित छन् उनीहरुको कर्म–सेवाहरु अभिनन्दित हुँदै जानेछन्। गङ्गा सुवेदीका साहित्यिक सिर्जनाहरुमा ऊर्जा थपिँदै जाओस्, कलाकारितामा सुन्दर रङ्गका आकृतिहरु थपिँदै जाऊन््, समाजसेवामा अझ उच्चता थपिँदै जाओस्, यात्रामा सफलता मिल्दै जाओस्।

कमला सैंजू–जनमत सम्मान
वि.सं. २०२५ कात्तिक १६ गते इमाडोल, ललितपुरमा जन्मेकी ललिता गजुरेलले साहित्यलाई स्पर्श गर्न थालेपछि एकनासले साहित्य सिर्जना र सेवामा लागेको देखिन्छ। कथा, कविता, उपन्यास र नाटकमा कृतिहरु प्रकाशित गराइसकेकी यिनका थुप्रै विधामा बालसाहित्यका पुस्तकहरु प्रकाशित छन्। थुप्रै साहित्यिक सङ्घ–संस्थामा रहेर, विभिन्न खालका साहित्यिक पुस्तक–पत्रिकाको सम्पादक भएर, आफ्नो कृति पाठकहरुमा फिँजाएर साहित्यिक जगत्मा यिनी सक्रिय ढङ्गले क्रियाशील छन्।

यिनका प्रकाशित कविता कृतिहरुमा– बुद्ध रोएझैँ लाग्छ, समयकी आमा, त्यस्तै कथा सङ्ग्रहहरुमा– प्रेमको परिभाषा, भत्किएका किनारा, दुखेको घाउ र निष्पाप आँखाहरु छन्। उपन्यास कृतिमा– उन्माद, गीत सङ्ग्रहमा– मनको तलाउमा, पूर्णाङ्की नाटकमा– ख्यालख्याल कृति पनि प्रकाशित छन्। सफल साहित्यकार बन्ने यिनको इच्छा रहेकोले साहित्यमा यिनी एकसुरले लागेको लाग्यै गरिन्। ललिता दोषीले खर्चेको पसिनाले यिनी साहित्यकारका रुपमा स्थापित हुँदै आएको देखिन्छ।

एकजना महिला साहित्यसेवी, लेखिका, सम्पादक, सक्रिय अभियन्ता भएकै कारणलेकमला सैंजु–जनमत सम्मान’ले साहित्यकार ललिता दोषीको सम्मान गर्न पाइएको छ। विविध क्षेत्रमा सक्रियता देखाउँदै आएका प्रतिभाहरुलाई कदर गर्दै आएको यो सम्मानले ललिताको दोषरहित साहित्यिक सेवा, समर्पण र सिर्जनाका लागि यो सम्मान प्रदान गरिएको छ। जीवनलाई वरदान सम्झिने र साहित्यलाई आँसु र हाँसो पोख्ने साथीका रुपमा मित्रता गाँस्न रुचाउने ललिता दोषीको समर्पण–भाव अझ साहित्यमा खुल्दै जाओस्।

जनमत–महेन्द्रलाल कलाकार सम्मान
कला सिर्जनामा समर्पित रहँदै आफूलाई कलाकारका रुपमा, कला–प्रशिक्षकका गतिमा सक्रिय तुल्याउँदै आएकी कलाकार हुन् सरिता डंगोल। सरिता डंगोल कलाक्षेत्रका एकजना सक्रिय युवा व्यक्तित्वका रुपमा चिनिँदै आएको नाम हो। कलाको ग्यालरी खोलेर, कला प्रदर्शनीमा जाँगर चलाएर र कला शिक्षणमा जीवनका कर्महरु घोलेर सधैँ हस्याङफस्याङ बोकेर कुदिरहने नाम हो सरिता डंगोल। पाटनमा जन्मेकी र यतै कर्म पोख्दै आएकी यिनी विद्यालयमा पढ्दादेखि नै कलालाई मन पराउँदै र कला सिक्दै आएकी विद्यार्थी हुन्। प्रथमचोटि यिनले सिद्धार्थ आर्ट ग्यालरीमा १७ वर्षअगाडि आफ्नो कला–कर्म देखाउँदै आएकी कलाकार हुन्।

फाइन आर्टमा स्नातकोत्तर गरिसकेकी यिनी चित्रकला शिक्षा पोख्दै आएकी शिक्षिका पनि हुन्। बाह्रौंपटक एकल चित्रकला प्रदर्शनी गरिसकेकी यिनी आफ्नो चित्रकला प्रदर्शन गर्ने क्रममा जापान, फ्रान्स, अस्ट्रेलिया, कोरिया, बंगलादेश पनि पुगिन्। वत्सगोपाल वैद्य र शशिकला तिवारी यिनका प्रिय कलाकार हुन्। म्यान गाङ्ग, रेम्ब्रान्ट यिनका मन परेका विदेशी कलाकार हुन्। कला शिक्षालाई प्रचार गर्ने उद्देश्यले गाउँ–गाउँ पुग्न पाउँदाको क्षण यिनका लागि प्रियक्षणहरु हुन्।जीवन एक सङ्घर्ष हो, सङ्घर्ष नै आनन्दको बाटो हो।’ यिनको जीवनप्रतिको दृष्टि रह्यो। वि.सं. २०३० भदौ १५ गते मिखाबहाल, ललितपुरमा जन्मेकी यिनी हाल भैंसेपाटी, ललितपुरमा बसोबास गर्छिन्।
कलाकारहरुको सम्मान गर्ने क्रममा यसपल्ट उनलाईजनमत–महेन्द्रलाल कलाकार सम्मान’ प्रदान गरिएको छ। कलामा अझ उत्कृष्टता, प्रखरता थपिँदै जाओस्। कलामार्फत देश र जनताको मुहारमा शक्ति प्रदान गर्न सक्ने क्षमतामा वृद्धि होस्। यात्रामा अझ पोख्तता थपिँदै जाओस्।

जनमत–जनक सेवा सम्मान
रामेछाप जिल्लाको डुम्रीखर्कमा वि.सं. २००२ मार्ग २७ गते पिता तेजबहादुर र माता कृष्णकुमारीका छोरा भई गोविन्दबहादुर थापाको जन्म भएको हो। शिक्षित परिवारमा जन्मेका यिनी सानै छँदा पितामाताकै लाडप्यारमा हुर्केका हुन्। आफ्नै पिताबाट अक्षरारम्भ गर्न पाएका यिनले घरमा नै व्यावहारिक ज्ञान सिकेका हुन्। साम्बभक्त सुवेदीसँग संस्कृत भाषा र व्याकरण सिक्न पाएका यिनले ११ वर्षको छँदा मात्र औपचारिक शिक्षाका लागि वि.संं २०१३ मा पद्मोदय हाइस्कुलमा भर्ना भएका हुन्। वि.सं. २०२१ तिर नर्मल तालिम पाएका यिनले २०२९ सालमा मात्र एसएलसी उत्तीर्ण गरेका हुन्। र, पछि इ.सं. १९८७ मा यिनले भारतको कानपुरबाट विशारद उत्तीर्ण गरेको देखिन्छ।

रामेछापमा जन्मी सिन्धुलीबाट शिक्षणसेवामा प्रवेश गरेका यिनले चार दशकभन्दा लामो समयसम्म शिक्षण पेसामा आफूलाई समर्पित तुल्याए। सिन्धुलीको बाहुनतिल्पुङबाट शिक्षणसेवा शुरु गरेका यिनले शारदा रा.प्रा. स्कुल बबियाखर्क, बालकल्याण रा.प्रा. स्कुल भलुवाजोर, राष्ट्रिय प्रा. स्कुल बेतिनी, रामेछाप हुँदै कलेज अफ एजुकेसन चेतभवनबाट नर्मल तालिम प्राप्त गरेर वि.सं. २०२१ चैत्र १ गतेदेखि २०६२ मंसिर मसान्तसम्म काभ्रे जिल्लाका विभिन्न विद्यालयहरुमा लामो समयसम्म शिक्षणसेवा पुर्याइसकेको देखिन्छ। काभ्रेको मेथिनकोट, बुच्चाकोट, रघुचौर, कटुन्जेबेंसी, चरङ्गेफेदीमा शिक्षणसेवाका मर्महरु पोखिसकेका शिक्षक गोविन्दबहादुर थापाले हालसालै मात्र मंसिर २७ गते ६१ वर्षको उमेरमा मेरा शिक्षणयात्रा चम्पु संस्मरण पुस्तक सार्वजनिक गराएर आफ्नो साहित्यिक जाँगर र वर्कत देखाएका छन्।

यिनै साहित्यकारलाईजनमत–जनमत सेवा सम्मान’ गर्न पाउँदा जनमत गौरव गर्दछ। यात्राका लागि शुभकामना।

केवलपुरे–जनमत सम्मान ः
‘ज्योति’को मर्म साहित्यमा पोखेर प्रतिष्ठानमा सक्रिय युवा साहित्यकार हुन् कमला रिसाल। ठूलोसिरुबारी, सिन्धुपाल्चोकमा जन्मेर काठमाडौंको साहित्यिक जगत्मा चिनिदै आएको नाम कमला। ज्योति साहित्य प्रतिष्ठानको महासचिव रहेर देखा पर्दै आएकी यिनी शिक्षणसेवामा समर्पित शिक्षिका हुन्। हाल यिनी लिटिल मुन एकेडेमीमा सङ्लग्न छिन्। कविता–गजल र समालोचना विधामा आफ्नो कलम चलाउँदै आएकी यिनले नेपाली विषयमा स्नातकोत्तर उत्तीर्ण गरेकी छिन्।

यिनका प्रकाशित गजल÷कविता सङ्ग्रहहरुमा– परेलीका बारभित्र, ज्योतिका युगीन स्वरहरु, एक अञ्जुली मन छन्। समालोचना कृतिमा– भीमनिधि तिवारी र उपेन्द्रबहादुरजिगर’ को गजलहरुको तुलनात्मक अध्ययन प्रकाशित छन्। मितेरी, भानु, अन्तर्दृष्टि, साहित्य ज्योतिका सम्पादनसमेत गरिसकेकी यिनले करुण चित्कार, तिम्रो शहरमा म, शब्दको चौतारीतिर फर्किएर, कर्णालीको लोकलय, लोकभाका र लोकगाथा, अझै दुख्दै छ मन काव्यकृति÷गीतसङ्ग्रहहरुको सम्पादन पनि गरेकी छन्।

जिल्लागतरुपमा मूल्याङ्कन हुँदै सम्मान गरिँदै आएको केवलपुरे–जनमत सम्मानले सिन्धुपाल्चोकमा जन्मेकी कवि कमला रिसालज्योति’ लाई यो सम्मान प्रदान गरिएको छ। साहित्यमा निरन्तर सक्रियता छाइरहोस्, सिर्जनामा प्रौढता र मार्मिकता थपिँदै जाओस्, यात्रामा लाग्दाका उकाली–ओरालीबाट अमूल्य पाठ सिक्दै जीवनपथमा कुदिरहन सकून्। सिर्जनामा मन दिनु भनेको एकखालको तप नै हो। उक्त तपमा थप शक्ति सिंचन होस्।
जनमत–राजभाइ सहयात्री सम्मान
शारदाप्रसाद पहाडी, स्वल्पाठाना सिन्धुलीका साहित्यकार हुन्। पुस ११ गते जन्मेका यिनले शिक्षाको हकमा स्नातकसम्म उत्तीर्ण गरेका छन्। जीवन बाँच्ने क्रममा यिनी शिक्षक भए, सरकारी जागिर खाए तर उनी जहाँ पुगे पनि साहित्य मनमा साँच्न र आँखामा राख्न छोडेनन्। यिनका प्रकाशित कृतिहरुमा आशाका ती फूलहरु, भूपिको गाउँमा पुग्दा दुईवटा काव्य–कृतिहरु, २०६८ र २०६९ मा प्रकाशित छन्। सिन्धुलियन गीति एल्बम निकाल्न पनि पसिना पोखेका यिनी हाल नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा सेवारत छन्। सिन्धुली वाङ्मय प्रतिष्ठान, सुनगाभा सिन्धु साहित्यिक त्रैमासिक, उमानाथ शास्त्री सिन्धुलीय साहित्यिक प्रतिष्ठान, शहीद स्मृति पुस्तकालयमा संलग्न रहेका यिनी जागिरको क्रममा ओखलढुङ्गामा करिव १ वर्ष शिक्षणसेवा गरे। खोटाङमा दुईपटक गरी करिब ४ वर्ष रेडक्रसको जागिरे भएर सेवा पुर्याए। म्याग्दीमा ३ वर्ष, वैतडीमा केही महिना यिनले सेवा गरेको देखिन्छ। २०७२ माघदेखि काठमाडौंमा नै सेवारत छन्।

जनमतको गरिमा बढाउन, जनमतको ग्राहक अभियानमा साथ दिन, जनमतका लागि लेख–रचना बटुल्ने कार्य गरेर यिनले थुप्रै जनमतको अर्थ र गरिमामा उच्चता थपिदिएका छन्। जनमतको यात्रामा, जनमतको निःस्वार्थ भावनामा साथ दिँदै आएका शारदाप्रसाद पहाडी हाम्रो जनमतको अक्षरयात्राका अनन्य मित्र रहेकै कारणले जनमतका सहयात्री स्वीकारियो। यिनै साहित्यिक मित्रलाईजनमत–राजभाइ सहयात्री सम्मान’ ले सम्मानित गर्न पाइएको छ। अक्षरयात्रामा निरन्तरता थपिँदै जाओस्, सिर्जनामा अझ ऊर्जा चुलिँदै जाओस्। शुभकामना छ।

प्रतिक्रिया दिनुहोस्