भक्तपुरमा तात्यो चुनावी माहोल



पुष्कर बुढाथोकी, भक्तपुर

स्थानीय तहको निर्वाचनमा भक्तपुरमा अन्य जिल्लाको भन्दा फरक माहोल देखिएको छ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको गृहनगर यहाँ नेमकिपाको बढी चर्चा सुनिन्छ। त्यसैले भक्तपुरमा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीबीच प्रतिस्पर्धा हुने देखिन्छ। त्यसो त नेकपा माओवादी केन्द्र र राप्रपा पनि प्रतिस्पर्धी देखिएका छन्।

यसअघि ६ वटा नगरपालिका रहेकामा नगरकोट र अनन्तलिंगेश्वर नगरपालिकालाई गाभेर अब चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा गाभेपछि चार नगरमा खुम्चिएको भक्तपुरमा वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको माहोल निकै तातिएको छ।यहाँ सूर्यविनायक, भक्तपुर, मध्यपुर ठिमी र चाँगुनारायण नगरपालिका गरी चार नगरपालिकामा स्थानीय नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ। तर कुनै पनि पार्टीले आफ्नो उम्मेदवारी सार्वजनिक भने गरेका छैनन्।

अहिले जिल्लाका चारै नगरपालिकामा कसलाई टिकट दिने भन्नेबारे दलभित्र छलफल भइरहेका छन्। कतिपय पार्टीका व्यक्ति–व्यक्तिले आफू उम्मेदवार भनेर घोषणा गरे पनि स्थानीय तहको मेयर, उपमेयर र वडा अध्यक्षको टिकट नपाउने निश्चित छ।भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा ०५४ को स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट मदनकृष्ण श्रेष्ठ मेयर र मुरारी आचार्य उपमेयरमा निर्वाचित भएका थिए। उक्त निर्वाचनमा भक्तपुर नगरपालिकामा नेमकिपाका प्रेम सुवालले जित हात पारेका थिए।चाँगुनारायण र सूर्यविनायक नयाँ नगर भएकाले यहाँ पहिलोपटक स्थानीय निर्वाचन हुँदै छ।

भक्तपुर नगरपालिकालाई नेमकिपाको पकड क्षेत्रका रूपमा पनि लिइन्छ। यहाँ नेमकिपाको नै बढी चर्चा सुनिन्छ। तर, नेमकिपाबाट को उम्मेदवार बन्छ भन्ने अहिलेसम्म टुंगो लाग्न सकेको छैन। साथै, सो नगरपालिकामा नेमकिपाका तर्फबाट अहिलेसम्म कसैले पनि दाबी नगरेको र सबै पार्टीको निर्णय पर्खिरहेको नेमकिपा पार्टी स्रोतले जनाएको छ। तर अन्य पार्टी कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाभित्र भने धेरै स्थानीय नेताले आआफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन्।त्यसो त अन्य दलले यहाँ मिलेर निर्वाचनमा सहभागी हुने पनि चर्चा सुनिन्छ।

अहिले जिल्लाका चारै नगरपालिका र वडामा कसलाई टिकट दिने भन्ने छलफल भइरहेको कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले बताए। एमाले पार्टीको आन्तरिक छलफल भइरहेको र चैत ३० गतेसम्ममा वडा अध्यक्षको र वैशाख ४ गतेसम्म मेयर उम्मेदवार टुंगो लाग्ने जानकारी जिल्ला उपाध्यक्ष बचन देउजाले दिएका छन्। माओवादी केन्द्रले चैत २८ गतेसम्म उम्मेदवारको तय गरिसक्ने जिल्ला संयोजक डीपी ढकालले जानकारी दिएका छन्।

नेमकिपाले छलफल जारी रहेको र वैशाख ७ गतेसम्ममा जिल्ला समितिमा नगर समितिले सम्भावित नामहरू पठाउने जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठले बताए। पार्टीबाट चारै नगरपालिका र तिनका वडामा कसलाई टिकट दिने भन्नेबारे आन्तरिक छलफल भइरहेको राप्रपा केन्द्रीय सदस्यसमेत रहेका नगरकोट निवासी नेता रवीन्द्र प्रताप शाहले बताए।

पार्टीको निर्णयभन्दा पनि आफू अगाडि बढेर उम्मेदवार हुँ भन्नु गलत भएको र पत्रपत्रिका र फेसबुकले उम्मेदवार बनाउने हो कि भन्ने जस्तो भएको धेरैको भनाइ छ।चार नगरपालिकामा गरेर ३६ वडा रहेका छन्। मध्यपुर थिमी नगरपालिकामा नेपाली कांग्रेस, एमाले र नेमकिपाबीच प्रतिस्पर्धा हुने देखिन्छ। यो नगरपालिकामा माओवादी केन्द्र र राप्रपासमेत प्रतिस्पर्धी हुन्।

भक्तपुरमा नगरपालिकामा नेपाल मजदुर किसान पार्टी, कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुनेछ। उक्त नगरपालिकामा नेमकिपाको संगठन अन्य पार्टीको भन्दा बलियो देखिन्छ। २०७० सालको संविधानसभाको निर्वाचनमा भक्तपुरको दुई क्षेत्रमा निर्वाचन क्षेत्र नं. १ मा नेपाल किसान मजदुर पार्टीका नारायणमान बिजुक्छे विजयी भएका थिए।२ नं. निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका रामेश्वर ढुंगेलले जित हासिल गरेका थिए।

२०५४ सालमा भएको तत्कालीन स्थानीय निकायको निर्वाचनमा जिल्लाका १६ गाविसमध्ये ९ गाविसमा एमाले, ६ गाविसमा कांग्रेस र एक गाविसमा नेमकिपाले जित हासिल गरेको थियो। भक्तपुर नगरपालिकामा नेमकिपा र मध्यपुर थिमीमा कांग्रेसले जित हासिल गरेको थियो।

हाल मुलुकको राजनीतिमा तेस्रो शक्तिमा रहेको माओवादी केन्द्र उतिबेला नभएकाले हाल कतिपय स्थानमा उक्त अवस्था कायम नहुने देखिन्छ। स्थानीय तहको निर्वाचन भएकाले पार्टीभन्दा पनि व्यक्तिमा भरपर्नेसमेत देखिन्छ।

भक्तपुर नगरमा नेमकिपा र मध्यपुर थिमीमा कांग्रेस स्वभावैले मेयरका लागि बलियो देखिए पनि अन्य पार्टीको भूमिकाले पनि प्रभाव पार्न सक्ने देखिन्छ। यसै गरी चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा कांंग्रेस एमालेबीच मुख्य प्रतिस्पर्धा हुने चर्चा गरिए पनि नेमकिपा र राप्रपा र माओवादी केन्द्रलाई पनि कम अँँक्न नसकिने अवस्था छ। यहाँ पनि दलहरूको समीकरणले कसलाई विजयी बनाउने हुन् यसै भन्न सकिने अवस्था छैन।

भक्तपुरमा १ लाख ६१ हजार ५ सय २९ जना मतदातामध्ये महिला मतदाताको संख्या ८३ हजार २ सय ६६ तथा पुरुष मतदाताको संख्या ७९ हजार ६ सय २३ जना रहेको निर्वाचन अधिकृत उमेशकुमार राईले जानकारी दिएका छन्।

भक्तपुरका चारमध्ये भक्तपुर नगरपालिकामा सबैभन्दा बढी मतदाता रहेको जिल्ला निर्वाचन अधिकृत राईले जानकारी दिए। उनका अनुसार भक्तपुर नगरपालिकामा ५३ हजार तीन सय २४ मतदाता रहेका छन्। त्यस्तै, सूर्यविनायक नगरपालिकामा ३७ हजार तीन सय ९३, मध्यपुर ठिमी नगरपालिकामा ३६ हजार ८८ र चाँगुनारायण नगरपालिकामा ३४ हजार दुई सय ९० मतदाता छन्। सबै नगरपालिकाको नामावली आयोगमा अन्तिम प्रमाणीकरणका लागि पठाइएको छ। तीमध्ये १८ वर्ष कम उमेरका मतदाता घट्न सक्ने हुनाले कुल मतदातामा केही संख्या घट्ने अधिकृत राईले बताए ।

भक्तपुरका चारमध्ये सूर्यविनायक नगरपालिकामा सबैभन्दा धेरै मतदानस्थल तय राखिएको छ। जहाँ २३ वटा मतदानस्थल तय गरिएको जिल्ला निर्वाचन अधिकृत उमेशकुमार राईले बताए। राईका अनुसार चाँगुनारायण नगरपालिकामा २१, मध्यपुर ठिमी र भक्तपुर नगरपालिकामा १७÷१७ मतदानस्थल तोकिएका छन्।

प्रतिक्रिया दिनुहोस्