साना दलको भूमिका निर्णायक



चिरञ्जीवी मास्के, दोलखा

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा दोलखामा दलहरूबीच हारजितको लेखाजोखा शुरू भएको छ। दुई नगरपालिका र ७ गाउँपालिका रहेको दोलखा जिल्लामा मुख्य प्रतिस्पर्धा एमाले र नेपाली कांग्रेसबीच नै हुने देखिन्छ।

नेकपा एमालेले गाउँपालिका र नगरपालिकाको केही वडाहरूमा कठिन प्रतिस्पर्धा गर्नु परे पनि प्रमुख उपप्रमुखमा भने सबै ठाउँमा जित्ने दाबी गरेको छ। एमाले उपाध्यक्ष नरबहादुर श्रेष्ठ केही गाउँपालिकामा अलि बढी मिहेनत गर्नुपर्ने भए पनि प्रमुख, उपप्रमुखमा भने सबैठाउँमा जित्न सकिने बताउँछन्। ‘जिल्लामा रहेका ७ गाउँपालिकामा हाम्रो सम्भावना राम्रो छ। जिरी नगरपालिकामा केही कमजोर जस्तो थियो। त्यहाँ पनि नेपाली कांग्रेसको नेता टंक जिरेल एमालेमा आएपछि राम्रो भएको छ त्यसैले अब एमालेलाई सबै ठाउँमा प्रमुख उपप्रमुख जित्न समस्या छैन।’ –उपाध्यक्ष श्रेष्ठले भने।

नेपाली कांग्रेस दोलखाका सचिव सन्तोष रिमाल पनि दोलखाको दुई नगरपालिका र ७ गाउँपालिकामा आफ्नो पार्टीको अवस्था राम्रो रहेको बताउँछन्। ‘हामी अहिले चुनावि अभियानमा छौं, हाम्रो सङ्गठन र जनताको साथलाई हेर्दा जिल्लाको सबै ठाउँमा हाम्रो जित सुनिश्चित जस्तै देखिएको छ।’ –सचिव रिमालले भने। सबै ठाउँमा मुख्य त एमालेसँगै प्रतिस्पर्धा हुने भएकाले कांग्रेस या एमालेले कुन कुन गाउँपालिका र नगरपालिकामा जित्छन् भनेर सजिलै अनुमान गर्न भने नसकिने रिमालको भनाइ छ।

माओवादी केन्द्रका केन्द्रीय सम्मेलन आयोजक कमिटी सदस्य ईश्वर थापा माओवादी केन्द्रले जिल्लाको कालिञ्चोक गाउँपालिकामा जित्ने दाबी गर्छन्। अन्य गाउँपालिकामा र दुई नगरपालिकामा भने कतै पार्टीको अवस्था कमजोर रहेको र कतै कांग्रेस एमालेसँग प्रतिस्पर्धामा रहेको थापाको भनाइ छ।
मतदाताको मनस्थिति र पार्टीको विगतको अवस्था हेर्दा दोलखाको दुई नगरपालिकामा एमालेको अवस्था राम्रो देखिएको छ। दोलखाको केन्द्र, सदरमुकामसमेत रहेको भीमेश्वर नगरपालिकामा एमालेले मेयर, उपमेयर सजिलै जित्न सक्ने आकलन अन्य पार्टीले समेत गरेका छन्।

तर वडा नम्बर ३, ४, ७ र ८ मा भने कांग्रेसको अवस्थासमेत राम्रो रहेको राजनीतिक विश्लेषकहरू बताउँछन्। सदरमुकाम चरिकोटमा रहेको वडा नम्बर ३ मा आफ्नो जित सुनिश्चित रहेको कांग्रेसको दाबी छ। नेकपा एमाले जिल्लाको सबै गाउँपालिका र नगरपालिकामा एक्लै चुनावमा जाने देखिए पनि कांग्रेस र माओवादी केन्द्रको भने धेरै ठाउँमा तालमेलको सम्भावनासमेत रहेको छ।

भीमेश्वर नगरपालिकामा कांग्रेसलाई मेयर र माओवादी केन्द्रलाई उपमेयर दिएर तालमेल गर्ने प्रयास भइरहेको बुझिएको छ। जिरी नगरपालिकामा पनि कांग्रेस नेता टंक जिरेल एमाले प्रवेश गरेपछि आफ्नो जीत सुनिश्चित बनेको एमालेको दाबी छ। तर जिरेलको एमाले प्रवेशसँगै कांग्रेस नेता जिपछिरिङ लामा र दोलखा सभापति रुद्रबहादुर खड्काको प्रतिष्ठाको विषय बनेकाले उनीहरू साम, दाम, दण्ड भेदका साथ प्रस्तुत हुने अवस्थामा एमालेलाई समस्या हुनसक्ने बुझाइ पनि धेरैको छ। माओवादी केन्द्रले पनि उत्साहका साथ जिरीमा चुनावी कार्यक्रम सम्पन्न गरेकाले आफूले जित्ने दाबी गर्दै आएको छ।

सात गाउँपालिकामध्ये विगु, तामाकोसी, मेलुङ र शैलुङमा एमालेले सजिलै जित्न सक्ने धेरैको अनुमान रहेको छ। बैतेश्वरमा कांग्रेसको उपस्थिति राम्रो रहेकाले एमालेले धेरै मेहेनत गर्नुपर्ने र प्रमुख उपप्रमुखमा लोकप्रिय उम्मेदवार छान्न सक्नुपर्ने विश्लेषकहरू बताउँछन्।

कालिञ्चोक र गौरीशङ्कर गाउँपालिकामा माओवादी केन्द्रले जित्ने दाबी गरे पनि एमालेको उपस्थितिसमेत सशक्त रहेकाले माओवादीलाई त्यति सहज नहुने विश्लेषकहरूको भनाइ छ। गौरीशङ्कर गाउँपालिका माओवादी केन्द्रका प्रभावशाली नेता देवी खड्का, विशाल खड्का र गंगा कार्कीको क्षेत्र भएकाले उनीहरूले आफ्नो प्रतिष्ठासँग जोडेका छन्। एमालेको केन्द्रीय सदस्य एवं सांसद पार्वत गुरुङको क्षेत्रसमेत गौरीशङ्कर गाउँपालिका नै भएकाले माओवादी केन्द्रले दाबी गरेजस्तो जित हासिल नहुने मतदाताहरूकै विश्लेषण छ।

जित हारको विषय दलहरूले छान्ने उम्मेदवारमा समेत निर्भर रहने भएकाले अहिले नै सजिलै कसले जित्ने र हार्ने भनेर अनुमान गर्न नसकिने मतदाताहरू बताउँछन्। दोलखाको कालिञ्चोक र विगु गाउँपालिकामा थामी समुदायको सशक्त उपस्थिति रहेको तथा जिरी नगरपालिका र बैतेश्वर गाउँपालिकामा जिरेल समुदायको उपस्थिति राम्रो रहेकाले उनीहरूको सहभागिताले समेत जित हारमा फरक पार्ने राजनीतिक विश्लेषकहरूको धारणा रहेको छ।

त्यसै गरी राप्रपा, माओवादी वैद्य, विप्लव माओवादी, नेकपा मालेलगायतका साना दलहरूले खेल्ने भूमिकासमेत जित हारका लागि निर्णायक हुनसक्ने विश्लेषकहरू बताउँछन्। साना दलले गाउँपालिका तथा नगरपालिकाको प्रमुख उपप्रमुखका लागि जित हारमा प्रभाव नपार्ने भए पनि वडा तहमा भने प्रभाव पार्न सक्ने विश्लेषकहरूको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्