“ह्वेर वी मूभ ?” अर्थात् हामी कता जाँदै छौं ?



कमल ढकाल

मलाई निराशा मन पर्दैन। निराश कुरा लेख्न मन पनि लाग्दैन। यसै पनि निराशाले घेरेको यो देशमा थोरै भए पनि देखिएका प्रगतिको कुरा गर्न मन लाग्छ। मलाई उज्यालो मन पर्छ। अँध्यारोको कुरा गरेर आफैं दुःखी हुन मन लाग्दैन। आफू सकेसम्म सकारात्मक काम गर्छु। अरुलाई पनि त्यतै हौस्याउँछु। यो लेख यसकारण लखियो कि मैले उत्तर दिन नसक्ने गरी एक सुरक्षा फौजका भाइले प्रश्न गरे– ‘ह्वेर वी मूभ ? अर्थात् हामी कता जाँदैछौं भनेर, हाम्रो देश कता जाँदै छ भनेर।
म निरुत्तर भएँ। बोल्न सकिनँ। आखिर यो लेख जन्म्यो।

प्रश्न सोधिरहँदा उनको आँखामा पानी बगिरहेको थियो। उनको अनुहार र आँखामा उनकै उत्तर थियो। र त झनै गहिरिएँ उनीप्रति। माओवादी द्वन्द्वमा गाउँ–गाउँ रात–विरात डुलेर ज्यान बचाएको कुरा गरे। मारिएका मान्छे हेलिकोप्टरमा ओसारेको कुरा गरे। लासहरुले उनको दिमागमा पारेको ट्रमाको कुरा गरे। राज्यले अराएको काम गर्न बन्दुक हातमा लिएर खाना नखाई बन्दुककै सिरानीमा सुतेको कुरा गरे। कतिपल्ट मरेर बाँचेको कुरा गरे। उनी नेपाली सेना थिए। अब कर्नेल पदमा जाँदै गरेका। त्यसैले त उनले देश द्वन्द्वमा भएको बेलामा आफुूमा आएको द्वन्द्वको कुरा गरे।

देशको प्रगति होला भनेर कसैलाई कम्प्लेन नगरी काम गरिरहे। २०६० साल आयो। उनले राजधानीको हाँडिगाउँमा अंशबाट आएको र आर्मीमा विदेश गई जोगाएको केही पैसाले चार आना जग्गा किने।

‘आर्मीमा काम गर्दा धेरैसँग घुलमिल नगर्र्नू, आफ्नो कुरा सबैलाई थाहा भयो भने ज्यान धरापमा पर्छ भनेकाले कोहीसँग संगत गरिएन। अब सबै साथीभाइ, इष्टमित्रलाई बोलाएर यही खहरेको छेउमा बनाएको नयाँ घरमा भोज गर्छु। अब त देशमा द्वन्द्व पनि सकियो। अब नयाँ काम गर्नुपर्छ। उनी यस्तै कल्पनामा कल्पिए।

नयाँ घरमा नयाँ सपना सजाउने अभिलासासहित उनी नक्सा पास गर्न गए। नगरपालिकामा नक्सा पास गर्न जाँदा उनको सातो उडेछ, बाटोको लागि २५ फिट छाडनुपर्ने नियम देखेपछि। लगाइरहेको सुरुवाल कन्दनी भएर छोटिएजस्तै जग्गा घरबाट सटरमा आउने देखेपछि झन्डै बेहोसीमा पुगेछन् उनी। भन्दैथे– सरकारको निर्णयले आज जिन्दगीभरको कमाइमा सडक बन्ने भयो।

सोधेछन्, ‘केही आइडिया छैन इन्जिनियर साप ? इन्जिनियरले तीन आइडिया दिएछन्। एक– चलेको भन्दा सस्तोमा बेचिहाल्ने। दुई– प्रि–फेभको घर बनाउने, आफू पनि बस्ने र भाडा पनि दिने। तीन– खहरेछेउको जग्गा भएकोले गाडी ग्यारेजलाई भाडामा दिने। भनेछन्– तपाईंले सोचेजस्तो तपाईंको ड्रिम होम त बनाउनै मिल्दैन नियमले।

–‘के सरकारले यसै जग्गा खान मिल्छ ?
म निरुत्तर भएँ।
–हामी कहाँ जाँदै छौ दाइ ? एक पब्लिकको जग्गामा सरकारले त्यसै बाटो बनाउने ⁄

म निशब्द भएँ।
धेरै भएथ्यो उनलाई नभेटेको। उनी त एक वर्षअगाडि सुडान गएका रहेछन्। त्यहाँबाट ५० हजार डलर कमाएर नेपाल फर्केका रहेछन्। त्यो पैसाले जग्गा किन्न खोजेछन् राजधानीमा। घर बनाउन मिल्ने जग्गा नै पाएनछन्। न ५० लाखले दुईतल्ले घर बन्छ, न घर बनाउन मिल्ने जग्गा नै आउँछ भनेपछि उनी झनै अकमक्कमा परेछन्। यो सबै भनिरहँदा उनी बिस्तारै तात्दै आए र भने– ‘के यो देशमा सोझा–सीधा जनताले बाँच्न नपाउने ? आदर्शका कुरा गर्दै मिलिभगतमा पैसा कमाउनेको मात्र कुरा सुनिने ? कि तस्करी नै गर्नुपर्ने ? ‘क्लिन र क्लियर मनी कमाउनेले बाँच्न नपाउने ? ५० लाख कमाएँ भनेर आउँदा पनि जग्गा पनि नआउने घर पनि नआउने ? हामी कता जाँदै छौं ? जिन्दगीभर लगाएर ५० लाख कमाउँछ मान्छेले, अनि त्यसले बास र गाँसकै सुरक्षा नहुने कुन देशमा छौं हामी ?

फेरि उनको प्रश्न आयो– ‘ह्वेर वी मूभ ? उनी आफ्ना सात वर्षीया र चार वर्षीया दुई छोरीतिर फर्किए। बच्चालाई हामीले यो देशमा के दिँदै छौं ? खाजा चाउचाउ नुडल। खेल कार्टुन र टिभी। भन्दै गए– कुखुराको खोरजस्ता स्कुल छन्। त्यहाँ पनि तिर्न नसक्ने फी छ। न यति वर्षमा यो बच्चालाई यो बनाउने भन्ने नियम छ। मेरी छोरीले फुटबल खेल्छु भनी भने बच्चाको लागि राष्ट्रले फुटबलमा डिभिजन नछुट्याउने, अरु खेलकुदमा लाग्छु भने नपाउने ? हामी बच्चालाई कस्तो सभ्यता सिकाउँदै छौं ? कता जाँदै छौं हामी ? ह्वेर वी मूभ ?

यो प्रश्नले मेरो मथिङ्गल खलबलिसकेको थियो। उनी आफैंले भने– ‘यो देशमा बदलिएको राजनीतिक व्यवस्थामा नबदिलिएका लाखौंहरु बाँच्न नसक्ने भइसकेका छन् दाइ। त्यो कसले सुन्ने ? संविधान धान उमार्ने हैन, धान बिगार्ने बन्यो। सबै पैसा र पोलिटिक्सको धुनमा देख्छु। सडक, यातायत, स्वास्थ्य, शिक्षा सबै क्षेत्र लथालिंग छ। अरु त अरु, टेक्नोलोजी सबैतिर एकै हुनुपर्ने हैन ? प्लेन चढेर ओर्लनेबित्तिकै हामीले पढेको काम लाग्दैन। फेरि दोहोर्याउनुपर्छ। पढेको र सिकेकै कुराले हामीलाई टेन्सन हुन्छ भने किन पढ्ने ? किन सिक्ने ? किन यस्तो देश बनायौं हामीले ?

कुराकानीको अन्त्यमा उनले तरक्क आँसु झार्दै भने– ‘म दुई विषयमा मास्टर्स गरेको मान्छे। विदेशी सैनिकहरुसँग सुडानमा कम्पिटिसन गरेर प्रथम भएको मान्छे। मेरो जिन्दगी त गयो, गयो। अब बच्चालाई संसारमा केही सिकाउन म पलायन हुँदै छु। परिवार र देशको माया छातीभरि छ, तैपनि आँसुले यात्रा रोक्न नसक्ने रहेछ।
उनले भने, ‘आई ह्याभ टु मूभ।
मैले भन्न सकिनँ, ‘डन्ट मुभ भाइ, देशलाई तिम्रो खाँचो छ। एक दिन देश बन्नेछ पनि भन्न सकिनँ। निराशामा परेका उनलाई मैले आशा देखाउनै सकिनँ। उनी क्यानडा हिँडे।

प्रतिक्रिया दिनुहोस्