थाई नरेशद्वारा नयाँ संविधान अनुमोदन



बैंकक, (एजेन्सी)
थाइल्यान्डका नरेश माहा बजिरालोङकोर्न बोदिन्द्र देबायाभाराङकुनले बिहीबार आयोजित एक विशेष समारोहबीच नयाँ संविधानमा हस्ताक्षर गरेका छन्।
हस्ताक्षरपछि अनुमोदन भएको सो संविधान उनले प्रधानमन्त्री प्रायुथ चान ओचालाई सोही समारोहमा हस्तान्तरण गरेका थिए।

उक्त समारोहमा उच्चपदस्थ सरकारी अधिकारीहरू तथा विदेशी कूटनीतिक नियोगका प्रतिनिधिलगायत सहभागी थिए। यस नयाँ संविधानले मुलुकलाई राष्ट्रिय स्थिरता, एकता र समृद्धितर्फ लैजाने बजिरालोङकोर्नले विश्वास व्यक्त गरेका छन्।
उनी ६४ वर्षको उमेरमा केही महिनाअघि मात्रै थाइल्यान्डको नरेश बनेका हुन्।
उनका पिता तथा अत्यन्तै लोकप्रिय ८८ वर्षीय थाई नरेश भूमिबल अदुल्यादेजको निधन भएपछि उनले गद्दी सम्हालेका हुन्। अदुल्यादजेले झन्डै ७० वर्ष राजगद्दी सम्हालेका थिए।

महा बजिरालोङकर्नलाई ‘राम दशौंको उपाधि दिइएको छ। उनी चक्री वंशका १०औं नरेश भएकाले उनलाई उक्त उपाधि दिइएको हो। थाइल्यान्डको राजसंस्था विश्वका सम्पन्न र सम्मानित राजसंस्थामध्येको एक मानिन्छ। अझै पनि त्यहाँ राजपरिवारका कुनै पनि सदस्यको अपमान गर्ने व्यक्तिविरुद्ध लेस मेजेस्टे कानुनअनुसार कडा कारबाही गरिने गरेको छ।

प्रतिक्रिया दिनुहोस्