नगर विस्तारपछि मेयरमा रस्साकस्सी



रोशन पराजुली, हेटौंडा

वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचन तयारीमा यति बेला मकवानपुरका दलहरू जोडतोडले लागेका छन्। करिब १९ वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनले यति बेला हेटौंडालाई निर्वाचनमय बनाएको छ।

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा मकवानपुरमा उम्मेदवारहरूबारे छलफल शुरू भएको छ। उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा विभिन्न पार्टीका नेता उम्मेदवार बन्न छलफल शुरू भएको हो।

पछिल्लो समय हेटौंडा उपमहानगरपालिकाको मेयर को होला भन्नेमा धेरैको चासो छ। मकवानपुरमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा माले, नयाँ शक्तिलगायत पार्टीमा उपमहानगर मेयरका लागि आन्तरिक दौडधुप चलिरहेको छ। पार्टी संस्थागतरूपमा कसलाई उम्मेदवार बनाउँदा विजय हासिल गर्न सकिन्छ भनेर आन्तरिक तयारीमा जुटेको छ भने उम्मेदवारका आकांक्षीहरू आफ्नो पक्षमा सहमति जुटाउन लागिपरेका छन्। विशेष गरी कांग्रेस, एमाले र माओवादी केन्द्रमा बढी रस्साकस्सी छ भने राप्रपा, माले, नयाँ शक्तिलगायत पार्टीमा कम दौडधुप देखिन्छ।

संविधानसभामा पहिलोपटक कांगे्रस विजयी भएको क्षेत्र नम्बर १ का साविक हर्नामाडी र हटिया गाविस हाल हेटौंडामा गाभिएपछि कांग्रेस बलियो प्रतिस्पर्धी भएको राजनीतिका जानकारहरू बताउँछन्।

राम्रो सांगठनिक प्रभाव रहेको हेटौंडामा बसामाडी, चुरियामाई र हटिया गाभिनु एमालेलाई फाइदाजनक देखिन्छ भने पदमपोखरी गाभिनु राप्रपालाई फाइदाजनक भएको उनीहरूको भनाइ छ। हर्नामाडी जोडिँदा भने कांग्रेसलाई फाइदा पुग्ने जानकारको भनाइ छ।

गत संविधानसभामा रहेको क्षेत्र नं ३ का सबै भाग हाल हेटौंडा उपमहानगरमा पर्दछ, जहाँ एमाले विजयी भएको थियो भने राप्रपा दोस्रो तथा कांग्रेस तेस्रो भएको थियो।
मकवानपुरको एक मात्र उपमहानगर हेटौंडामा छ। देशको महत्त्वपूर्ण नगरका रूपमा रहेको हेटौंडामा यसपटक मेयर को बन्लान् भन्ने विषय प्रमुख विषय बनेको देखिएको छ। केही समय अघिसम्म २५ मिटरले बहस पाएको हेटौंडाको चिया पसलदेखि चोक⁄चौतारीसम्म मेयर उम्मेदवारको चर्चा हुने गरेको छ।
पार्टी संस्थागतरूपमा कसलाई उम्मेदवार बनाउँदा विजयी हासिल गर्न सकिन्छ भनेर आन्तरिक तयारीमा जुटेको छ भने उम्मेदवारका आकांक्षीहरू आफ्नो पक्षमा सहमति जुटाउन लागिपरेका छन्। विशेष गरी कांग्रेस, एमाले, राप्रपा र माओवादी केन्द्रमा बढी रस्साकस्सी छ भने माले र नयाँ शक्तिलगायत पार्टीमा कम दौडधुप देखिन्छ।

कांग्रेसमा उम्मेदवारीका लागि पार्टीको छलफल नभए पनि आकांक्षीहरू पार्टी सभापति एवम् गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँसँग सम्पर्कमा छन्।

बानियाँले ‘काम गर्नेलाई उम्मेदवार बनाउने उद्घोष गरेसँगै पछिल्लो समय पार्टी अभियानमा नेताहरूको दौडधुप देखिन थालेको पार्टी कार्यकर्ताले महसुस गरेका छन्।

यसपटक नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति र स्थापित नेता माइकल रामचन्द्र अर्याल, हाल नगर अध्यक्ष आनन्दराम पराजुली, पार्टीका पूर्वउपसभापति अशोक शाक्यमध्ये एक मेयरको उम्मेदवार बन्न सक्ने चर्चा छ। निर्माण व्यवसायी संघका अध्यक्षसमेत रहेका पराजुलीलाई पार्टीले उम्मेदवार बनाउने धेरैको आँकलन छ। पार्टीले जिम्मेवारी दिए आफू जनताको हितमा खटिने उनले बताएका छन्। कांग्रेस पूर्वउपसभापति एवम् वर्तमान सल्लाहकार शाक्य पनि आकांक्षी रहेको उनी निकटले बताए। तर, पछिल्लो समय पार्टी कार्यक्रम र स्थानीय क्षेत्रमा देखिएको बाक्लो सहभागिताले नेतृ रीता खनालको आकांक्षा रहेको कार्यकर्ताहरूको अनुमान छ। ट्रेड युनियन अभियानमा अनुभवी खनाल गृहिणी शिक्षाकी अभियन्ता हुन्।

पछिल्लो समय कांग्रेसले जिल्लामा राम्रो उपस्थिति जनाउन थालेपछि नेपाली कांग्रेस पनि सशक्त ढंगबाट चुनावमा होमिएको राजनीतिक विश्लेषक बताउँछन्। कांग्रेसमा मेयरसहित उपमेयरमा पनि चर्चा छ। उपमेयरका लागि महिला संघ अध्यक्ष लक्ष्मी श्रेष्ठ र इन्दिरा न्यौपानेको चर्चा छ।

हेटौंडामा स्थानीय निर्वाचनमा हालसम्म पकड जमाउँदै आएको एमालेका तर्फबाट मेयरका लागि रस्साकस्सी शुरू भइसकेको छ। हेटौंडाका पूर्वमेयर डोरमणि पौडेल, अखिल नेपाल महिला संघ केन्द्रीय सचिव विष्णु ओझा, पूर्वउपमेयर हरिबहादुर महत, एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल, सचिव एकालाल श्रेष्ठ, मोर्चा प्रमुख श्रीधर पोखरेल र पूर्वजिल्ला सचिव गोपाल श्रेष्ठमध्ये एक मेयर उम्मेदवार हुने सम्भावना रहेको एमाले स्रोतले बताएको छ।

एमालेका तर्फबाट उपमेयरमा जुनेली श्रेष्ठको चर्चा छ। डोरमणि मेयर हुँदा उपमेयर भएका महत शक्तिशाली दाबेदारका रूपमा छन्। एमाले नेता पोखरेल र श्रेष्ठ पनि आफ्नो उम्मेदवारी सबभन्दा प्रभावकारी भएको बताउँछन्। हालसम्म औपचारिक घोषणा नगरेका उनीहरू आन्तरिकरूपमा भने तयारीमा जुटिसकेको स्रोतको दाबी छ। एमाले अध्यक्ष सिग्देल र अनेम संघ नेतृ ओझा पनि सशक्त ढंगले आन्तरिक तयारीमा जुटेको दाबी गरिएको छ। सिग्देलले समेत यसबारे आन्तरिकरूपमा आफू निकटहरूबाट पार्टीमा माहोल बनाउने काम गरिरहेको जनाइएको छ। अन्य केही नेताले आकांक्षा गरे पनि एमालेमा महत वा सिग्देलमध्येबाटै मेयरको उम्मेदवार हुने करिब निश्चित रहेको स्रोतको दाबी छ।
हेटौंडा उपमहानगरमा माओवादी केन्द्रका तर्फबाट बलराम बललाई सिफारिस गरिएको छ। पुराना तथा अनुभवी नेता भएकाले बललाई उम्मेदवार बनाउने निर्णय गरिएको हो मकवानपुरको दोस्रो शक्तिका रूपमा रहेको राप्रपा मेयर कसलाई बनाउने भनेर लागिपरेको छ। राप्रपा अध्यक्ष कमल थापाको गृहनगर भएकाले राप्रपाका लागि हेटौंडा प्रतिष्ठाको विषय पनि हो। यहाँबाट राप्रपा केन्द्रीय सदस्य दीपकबहादुर सिंहको नाम सर्वाधिक चर्चामा छ।

संसदीय निर्वाचनमा पटकपटक पराजित भए पनि उनी राप्रपा मकवानपुरका लोकप्रिय नेता भएकाले उनी मेयरका प्रमुख दाबेदार रहेको राप्रपा स्रोतको दाबी छ। सिंहबाहेक अन्य दललाई ‘टक्कर दिने उम्मेदवार नरहेको भन्दै उनलाई पार्टीबाट ग्रिन सिग्नल दिइसकिएको उनी निकट नेताको भनाइ छ।
त्यसो त, राप्रपाका पूर्वकेन्द्रीय सदस्य तथा शाही शासनकालका मेयर मधु अधिकारी, सांसद गणेश थापा, पूर्वजिल्ला अध्यक्ष नवराज विष्ट पनि मेयरका सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ। मकवानपुरमा अन्य दल पनि लागेका छन्।

जिल्लामा कम भेटिने सिंह ग्रिन सिग्नल पाएसँगै वडाहरूमा हुने कार्यक्रममा बाक्लै उपस्थित हुन थालेका छन्। यसअघि चर्चामा रहेका नगर अध्यक्ष गुरुप्रसाद सापकोटालाई कसरी व्यवस्थापन गर्ने भन्नेमा पार्टीमा छलफल भइरहेको जनाइएको छ।

नेकपा माले मकवानपुरका भीमसेन महतको नाम सिफारिस गरिएको छ। उनी नेकपा माले पार्टी सचिव हुन्। हेटौंडा उपमहानगरपालिका र हेटौंडा–काठमाडौं सुरुङमार्गमा भएको ‘भ्रष्टाचार को विरोधमा खुलेर अभियान जारी राखेका महत युवापुस्तामा छाएका नेता मानिन्छन्।

नयाँ शक्ति पार्टीलाई जनमत जाँच्ने पहिलो अवसर स्थानीय तह निर्वाचन भएकाले उसले जनतामाझ परिचित व्यक्तित्वलाई उम्मेदवारका रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ। स्रोतका अनुसार मेयरमा नयाँ शक्तिले सामाजिकरूपमा परिचित व्यक्तित्वको खोजी गरिरहेको छ। नेताहरू राजेन्द्र सिंखडा र राजन मैनालीको नाम चर्चामा छ।

प्रतिक्रिया दिनुहोस्