नेपालका कम्युनिस्ट र कराँते



फणीन्द्र फुयाल ज्वाला

कराँते अर्थात् मार्सल आर्टअन्तर्गतको एउटा खेल विधा। अनि कम्युनिस्ट पार्टीहरु, जो विश्व सर्वहारा वर्गको पक्षमा आवाज बुलन्द पार्दे सदियौंदेखि संघर्ष गरिरहेका छन्। आज नेपालको सन्दर्भमा कराँते र कम्युनिस्टहरु उस्तै बन्न पुगेका छन्। यो मानेमा यिनीहरुको चरित्र उस्तै छ कि यी दुवै फुट र गुटले ग्रस्त बन्दै गएका छन्।

जसरी नेपाली कम्युनिस्ट पार्टीहरु एक ठाउँमा बस्नै सक्दैनन् नेपालको मार्सल आर्ट पनि एकढिक्का भएर संगठित हुन सकेको छैन। नेपालका कम्युनिस्ट पार्टीहरुको मूलभूत सिद्धान्त र दस्तावेज उस्तै–उस्तै भए तापनि नेता–नेताबीचको व्यवहार र सोचाइमा तालमेल हुन नसक्दा पार्टी गुट र उपगुटका कारण फुट्ने गरेका छन्। सबै कार्यकर्तालाई पद चाहिएको छ, कि त पार्टी अध्यक्ष वा महासचिव। त्यसैका कारण कम्युनिस्टहरु अनेक बहानाबाजी, आरोप–प्रत्यारोप गरी आपसमा टुक्रिने गरेको इतिहास हो। त्यही रोग नेपालको मार्सल आर्टमा पनि विद्यमान छ। विदेश भ्रमण, पद, पैसा र शक्तिको अस्वस्थ प्रतिस्पर्धाका कारण नेपाली कम्युनिस्टहरुजस्तै नेपालको मार्सल आर्ट क्षेत्र पनि विभाजित छ।

मार्सल आर्टअन्तर्गतका खेलमा खुट्टाको प्रहारले प्रतिपक्षी खेलाडीलाई जति प्रहार गरे पनि, घाइते पारे पनि र कतिपय अवस्थामा अंगभंग नै भए पनि खेल सकिएपछि उनीहरु आपसमा हात मिलाएर र अंकमाल गरेर एरिनाबाट बिदा हुन्छन्। तर खेलाडीहरु मिले पनि ती खेलका पदाधिकारीहरु भने कुनै पनि हालतमा मिल्ने पक्षमा छैनन्। उनीहरु खेल संघ नै फुटाएर अर्को त्यस्तै प्रकारको संघ दर्ता गर्न कसरत गर्छन् र गरिरहेका छन्। मार्सल आर्ट खेलका अधिकांश पदाधिकारीहरु विदेशी डलर कुम्ल्याउने, खेल प्रतियोगिताको बहानामा वैदेशिक भ्रमण गर्ने र ताल परे उतै लुकेर बस्ने जस्ता प्रलोभनले गर्दा मार्सल आर्टका खेल संघहरु फुट्ने गरेको नेपालको तीतो यथार्थ हो।

वामपन्थी राजनीतिक वृत्तका नेताहरु जति टुटफुट गरे पनि आखिर जनता भने मिलेरै बसेका छन्। जनताले आफ्नो परिश्रम नगरी साँझ–बिहान हात–मुख जोर्न पाउँदैनन्। नेपालका कम्युनिस्ट पार्टीमा पनि एकले अर्कालाई हिलो छ्याप्ने, खुइल्याउने, धम्क्याउने, सांस्कृतिक विचलन, आर्थिक विचलनलगायतका विषयमा आरोप–प्रत्यारोप गर्ने कुराहरु हुन्छन्। नेताहरुले सानोतिनो अन्तर्संघर्षमै पनि यस्तै प्रकारका आरोप लगाउँदै जाँदा मनोमालिन्य पैदा भई पार्टीहरु टुटफुट र विखण्डन भएका छन्। जसरी मार्सल आर्टका खेलाडीहरुले पदाधिकारीहरुको जुँगाको लडाइँमा मार खेप्दै आउनुपरेको छ, त्यसै गरी नेपालका वामपन्थी, प्रगतिशील पक्षधर जनताले पनि कम्युनिस्ट नेताहरुको स्वार्थ र फुटका कारण पटक–पटक धोका खाइरहेका छन्।

नेपालमा राणाशासनको अन्त्यपछि पुष्पलाल श्रेष्ठको टिमले कम्युनिस्ट पार्टीको स्थापना गरेपछि करिब ७० वर्षको इतिहासमा यहाँ धेरै कम्युनिस्ट पार्टीहरुको जन्म भयो। वर्तमान अवस्थामा विद्यमान करिब दुई दर्जनभन्दा बढी कम्युनिस्ट वा वामपन्थी धारका पार्टीहरु पनि यही टुट, फुट, गुट र विभाजनको परिणाम हो। हाल पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको एकीकृत नेकपा (माओवादी), मोहन वैद्य नेतृत्वको नेकपा–मओवादी, नेत्रविक्रम चन्द विप्लव महासचिव भएको नेकपा माओवादी, मोहनविक्रम सिंहको मसाल, चित्रबहादुर केसीको जनमोर्चा, केपी शर्मा ओली अध्यक्ष रहेको हालको नेकपा (एमाले), नेकपा (माले) हुँदै पुनः अहिले नेकपा (एमाले), नेकपा (माले) लगायतका कम्युनिस्ट तथा वामपन्थी शक्तिहरु र पछिल्लो पटक डा. बाबुराम भट्टराई जसरी एउटै पार्टीभित्र रहन नसकी विभाजित छन्, नेपालको मार्सल आर्ट पनि त्यस्तै गरी विभाजित भएको छ।

त्यसै गरी केही महिनाअघिसम्म मणि थापा महासचिव रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी र मातृका यादव नेतृत्वको माओवादी पार्टी पनि कम्युनिस्ट पार्टीको रुपमा बाहिर देखा परेकै हुन्। त्यसै गरी भक्तपुर र केही जिल्लाहरुमा संगठन रहेको दाबी गर्ने नारायणमान बिजुक्छे (रोहित) नेतृत्वको नेपाल मजदुर किसान पार्टी पनि कम्युनिस्ट पार्टीकै रुपमा चिनिएको छ। जसरी कम्युनिस्ट पार्टीहरुमा सबैलाई नेता बन्नुपर्ने अभिप्रायले गर्दा सिद्धान्त एकै भए पनि पार्टी फुटाउने ‘फेसन’ चलेको छ, ठ्याक्कै मार्सल आर्टका पदाधिकारीहरुलाई पनि यही मनोदशाले ग्रसित पारेको छ। नेपाल कराँते महासंघ, नेपाल तेक्वान्दो संघ, नेपाल बाडोरियो कराँते महासंघ, राष्ट्रिय तेक्वान्दो युनियनलगायतका मार्सल आर्टसँग सम्बन्धित साढे २ दर्जनभन्दा बढी खेल संघहरु राखेपमा दर्ता भएका छन्। अन्य संघहरु फुट्दै नयाँ दर्ता हुने क्रम पनि जारी नै छ।

नेपालको कम्युनिस्ट वामपन्थी धाराको वृत्तमा यति बेला फुट नभई जुट, एकता र एकीकरणको खाँचो छ। वामपन्थी धाराका नेताहरु पनि भाषण र बोलीमा त लोली मिलाउँछन् तर व्यवहारमा भने एकताभन्दा पनि अनेकता नै देखिएको छ।

नेपालजस्तो सानो भौगोलिक मुलुकमा धेरै राजनीतिक दलहरुको अवश्यकता छैन। उनीहरुमा एकताको जरुरी छ। त्यसै गरी नेपाली मार्सल आर्टको क्षेत्रमा पनि एकताको प्रयास हुन जरुरी छ। उस्तै र एकै प्रकारका खेलकुद संघहरु गाभ्ने कुरा राखेपमा बेलाबखत चल्ने गरेको शब्द पनि हो। सदस्य सचिव केशवकुमार विष्टले यस विषयलाई आफ्नो आगमनका शुरुआती दिनहरुमा निकै चर्कोरुपमा बोल्ने गरे तापनि हिजोआज भने उनी यसबारेमा मौन देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्