नियमावली संशोधनको निर्माण व्यवसायीद्वारा विरोध



भक्तपुर, २२ चैत । निर्माण व्यवसायी सङ्घ भक्तपुरले सरकारले सार्वजनिक खरिद नियमावली, २०६४ मा गरेको पाँचौँ संशोधन सच्याउन माग गर्दै आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
सङ्घका अध्यक्ष निरञ्जन बजगाईंको नेतृत्वमा गएको निर्माण व्यवसायीको टोलीले प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउनुअघि सङ्घको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष बजगाईंले सरकारले गत पुस ९ गते सार्वजनिक खरिद नियमावली, २०६४ मा चौथो संशोधन भएको तीन महिना पनि नबित्दै फागुन २६ गते पुनः पाँचौँ संशोधन गरेको भन्दै आपत्ति जनाउनुभयो ।

सरकारले निर्माण व्यवसायीको छाता सङ्गठन निर्माण व्यवसायी महासङ्घलाई समेत बेवास्ता गरी गरेको संशोधनले निर्माण व्यवसायीको रोजीरोटी खोस्ने काम भएको उहाँको आरोप छ ।

निर्माण कार्य गराउँदा रु ६० लाखसम्मको काम उपभोक्ता वा समुदायबाट गराउन सकिने र त्योभन्दा माथि बोलपत्र आह्वान गर्नुपर्ने नियमलाई संशोधन गरी उपभोक्ताले रु एक करोडसम्मको काम गर्न सक्ने व्यवस्था गरेकामा सङ्घको आपत्ति रहेको छ ।

सङ्घले पुरानै व्यवस्था रु ६० लाखसम्मको निर्माण कार्यमात्रै उपभोक्ताले गर्न पाउने व्यवस्थालाई कायम गर्दै वृद्धि गरेको रु एक करोडसम्मको व्यवस्था खारेज गर्न माग गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्