आदिनाथको मूर्तिलाई खटजात्रा गरियो



काठमाडौँ, २२ चैत । काठमाडौँको दक्षिणभेगस्थित चोभारमा रहेको आदिनाथको मूर्तिलाई आज खटजात्रा गरिएको छ ।

प्रत्येक वर्ष आजको दिन स्थानीय चोभारडाँडाबाट करिब तीन किलोमिटरको दूरीमा पर्ने नख्खु दोभानसम्म मूर्तिलाई खटमा बोकेर लैजाने चलन छ ।

प्राचीन समयमा मूर्ति सोही दोभानमा फेला परेपछि चोभारका स्थानीयवासीले मन्दिर बनाई डाँडामाथि लगेर आजकै दिन प्रतिस्थापन गरेको जनविश्वासमा जात्रा निकाल्ने परम्परा बसेको पुजारी सरोज शाक्यले जानकारी दिनुभयो । बुधबार महास्नान गराइएका आदिनाथको मूर्तिलाई चैतेदसैँका दिन दोभानमा बजागाजासहित लगेर पूजा गर्ने परम्पराअनुसार त्यहाँ आज विशेष पूजा भएको छ ।

काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट जात्रामा सहभागी हुन भक्तजनको घुइँचो लागेको छ । वर्षमा एकपटक मात्र गरिने सो खटजात्रामा विभिन्न धर्मावलम्बीका स्वदेशी तथा विदेशी पर्यटकसमेत रमाइलो हेर्न त्यहाँ पुग्ने गर्छन् । आदिनाथ मन्दिरलाई हिन्दू धर्मावलम्बीले शिव शक्तिका रूपमा र बौद्ध धर्मावलम्बीले लोकेश्वरका रूपमा आस्था प्रकट गर्ने गर्छन् ।

करुणाका प्रतीकका रुपमा समेत मानिने आदिनाथको सो जात्रामा सहभागी भएमा रोगव्याधीबाट मुक्ति हुने र सकारात्मक ऊर्जा प्राप्त भई असल कार्यका लागि प्रेरणा मिल्ने बताइएको छ । साँझ स्थानीयवासीको घर आँगनमा मूर्तिलाई पु¥याएर दर्शन गराइने र मन्दिरमा प्रसाद वितरण गरिने कार्यक्रम छ । रासस

प्रतिक्रिया दिनुहोस्