भारतीय पत्रकारले जति नेताले बुझेनन्ः सञ्चारमन्त्री



काठमाडौं, (नेस)
नेपाल–भारत सम्बन्धका विषयमा दुवै देशमा विभिन्न सम्पादक तथा सञ्चार सरोकारवालाहरूले छलफल गर्दै छन्। मिडियामार्फत दुवै देशको सम्बन्ध विस्तारलगायतका विषयमा सोमबारदेखि काठमाडौंमा छलफल शुरु भएको हो।
भारतको माखनलाल चतुर्वेदी राष्ट्रिय विश्वविद्यालय पत्रकारिता एवं सञ्चार विभागको आयोजना तथा बीपी कोइराला इन्डिया–नेपाल फाउन्डेशन र मिडिया एक्सन नेपालको संयुक्त सहयोगमा शुरु भएको कार्यक्रमको उद्घाटन सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले गर्नुभएको छ।

उद्घाटन सत्रमा बोल्दै मन्त्री कार्कीले दुवै देशका मिडियाले एकअर्काका बारे सकारात्मक कुरा लेखे सानातिना विवाद आफै समाधान भएर जाने बताउनुभयो। उहाँले भारतीय पत्रकारहरूले जति भारतीय नेताहरूले नेपाललाई बुझेको भए नेपाल–भारतबीच कुनै समस्या नआउनेसमेत बताउनुभयो।

कार्यक्रममा माखनलाल विश्वविद्यालयका उपकुलपति बीके कुठियालाले नेपाली विद्यार्थीहरूले भारतमा पत्रकारिता अध्ययन गर्नुपर्ने र भारतीय विद्यार्थीहरूले नेपालमा पत्रकारिता अध्ययन गर्नुपर्ने बताउनुभयो। उहाँले नेपाली मिडियाबाट भारतीय पत्रकारहरूले सिक्नुपर्ने धेरै कुरा रहेकोसमेत बताउनुभयो।

उद्घाटन सत्रमा नेपालका तर्फबाट प्राध्यापक जयराज आचार्य, निर्मलमणि अधिकारीलगायतका व्यक्तिहरूले बोल्नुभएको थियो भने भारतीय पक्षबाट सांसद एवं वरिष्ठ पत्रकार तरुण विजयलगायतले बोल्नुभएको थियो।

सोमबारकै छलफलमा वरिष्ठ पत्रकार एवं अन्नपूर्ण पोष्टका सम्पादक युवराज घिमिरे तथा जनआस्थाका सम्पादक किशोर श्रेष्ठले भारतीय मिडियाहरूले नेपालबारे सकारात्मकभन्दा नकारात्मक टिप्पणी गर्ने गरेको बताउनुभयो। घिमिरेले नेपालको राजनीतिक विषयमा पेचिलो बन्दै गएको मधेसका बारे भारतीय मिडियाका कारण पनि समस्या उत्पन्न भएको बताउनुभयो। दुवै देशका मिडियाले सकारात्मक सन्देश दिएको खण्डमा सम्बन्ध अझै सुधार हुने बताउनुभयो।

श्रेष्ठले केही दिनमै सार्कस्तरीय प्रेस काउन्सिलहरूको संगठन घोषणा हुन लागेको जानकारी पनि दिनुभयो। भारतीय पक्षबाट दूरदर्शनका समाचार सम्पादक ओपी यादवले भारतीय सहयोगहरूका विषयमा जानकारी गराउनुभएको थियो भने गढबाल पोष्ट दैनिकका सम्पादक सतीश शर्माले नेपालमा बढ्दै गएको बाहिरी हस्तक्षेपका बारे बोल्नुभएको थियो। कार्यक्रम आज मंगलबारसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्