एटीएमबाट रकम झिक्ने अर्को समूह पक्राउ



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल घुम्न आएका माल्दोभियाका ४ जना नागरिकलाई नेपालका विभिन्न बैंकबाट नक्कली एटीएम प्रयोग गरी रकम चोरी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

नेपाल घुम्ने बहानामा पूर्वीयुरोप तथा केही अफ्रिकन मुलुकमा मानिसहरूले नेपालका विभिन्न बैंकको एटीएम प्रयोग गरी रकम निकाल्ने गरेको सूचनाको आधारमा खटिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ४ जना माल्दोभियाका नागरिकबाट ७ लाख नेपाली रुपियाँ, १ हजार ६ सय अमेरिकी डलर, २ हजार २ सय ४५ युरो, ४ सय ९५ थान एटीएम कार्डसमेत बरामद गरेको छ।
ग्लोबल आईएमई बैंकको कान्तिपथमा रहेको एटीएमबाट शंकास्पदरूपमा रकम झिकिरहेका उनीहरूलाई सीआईबीको टोलीले पक्राउ गरी कारबाही अगाडि बढाएको छ।

उनीहरू बैंकबाट रकम निकालेर ठमेलस्थित होटल नेपालयमा प्रवेश गरेपछि प्रहरीले उनीहरूको कोठामा छापा मारेको थियो। पक्राउ पर्नेमा निकु डियुरिजा पा, एलेक्स भन्ने भ्यासिली फेटेस्कु पा, युरि डर्मिन्जी पा, युजिन डियुरिजा रहेका छन्। उनीहरूले रोमानियाको समेत पासपोर्ट लिएर नेपाल आएको पाइएको सीआईबीले जनाएको छ।

सीआईबीले हालसम्म एटीएम ठगी काण्डमा १५ जना विदेशीलाई पक्राउ गरी उनीहरूबाट ८४ लाख २८ हजार नेपाली रुपियाँ, ६३ हजार अमेरिकी डलर, ६२ हजार ९ सय ५० युरो र १ हजार १ सय ३९ वटा एटीएम कार्ड बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्