बहुराष्ट्रिय सैन्य तालिम सकियो



काठमाडौं, (नेस)
नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक कमान्डको सहआयोजनामा काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा चैत ७ गतेबाट सञ्चालन भएको शान्ति प्रयास ३ सोमबार सम्पन्न भएको छ।

उक्त समापन समारोहमा रक्षामन्त्री बालकृष्ण खाँणले यस प्रकारको अभ्यासले शान्ति स्थापना कार्यमा संयुक्त राष्ट्रसंघबाट तोकिएको जिम्मेवारीहरू सफलतापूर्वक कार्यान्वयन गर्न शान्ति सैनिकहरूको पेसागत ज्ञान तथा मनोबलमा थप अभिवृद्धि हुने बताउनुभयो।

उहाँले साथै शान्ति स्थापना कार्यमा खटिने विभिन्न मुलुकका सैनिकहरूबीच आपसी सद्भाव, सहयोग र समन्वयमा वृद्धि भई शान्ति स्थापना कार्यमा अझै निखार आउने बताउनुभयो।

मन्त्री खाँणले ५९ वर्षदेखि निरन्तर शान्ति स्थापना कार्यमा सहभागी हुँदै हालसम्म १ लाख १५ हजार ७ सय ३ नेपाली शान्ति सैनिक विभिन्न मुलुकका ४१ वटा शान्ति मिसनमा सहभागी भइसकेको जानकारी गराउँदै हाल १५ वटा विभिन्न शान्ति मिसनमा ४ हजार ४ सय ९३ शान्ति सैनिक शान्ति स्थापना कार्यमा कार्यरत रहेको बताउनुभयो।

उक्त अभ्यासमा नेपालसहित जम्मा २८ राष्ट्रका १ हजार १ सय ३५ जना सैनिकहरू सहभागी भएका थिए।
अभ्यासको क्रममा स्टाफ ट्रेनिङ इभेन्ट, फिल्ड ट्रेनिङ इभेन्टलगायतको तालिम सञ्चालन गरिएको थियो।

सो अभ्यासको प्रमुख लक्ष्य शान्ति स्थापना कार्यका लागि मिशन इलाकामा तैनाथ हुनुपूर्व संयुक्त राष्ट्रसंघको बहुराष्ट्रिय वातावरणमा एक–आपसमा समन्वय र सहकार्य गरी शान्ति स्थापना कार्य गर्ने क्षमतामा अभिवृद्धि गर्ने रहेको थियो।
यस प्रकारको बहुराष्ट्रिय सेना सम्मिलित अभ्यासबाट छिमेकी मित्रराष्ट्रहरू बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न मद्दत पुग्नुको साथै विश्व शान्ति स्थापना कार्यमा समेत थप मद्दत पुग्ने प्रधानसेनापति राजेन्द्र क्षत्रीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्