छोरीको उपचारका लागि दातासँग गुहार



काठमाडौं, (नेस)
विगत ४ महिनादेखि काठमाडौंका विभिन्न अस्पतालमा छोरी मञ्जलाको उपचार गराइरहेका सोलुखुम्बु, गुदेल–१ का गोरखाशेर राईले दाताहरूसँग आर्थिक सहयोगको आग्रह गरेका छन्।

प्यरालाइसिस भएकी १८ वर्षीया छोरीको रोग निको हुन नसकेर अहिले फेरि कम्मरमुनीको भागमा गहिरो घाउसमेत बनेपछि उनले आर्थिक सहयोगको अपिल गरेका हुन्।

गत मंसिरदेखि छोरीलाई उपचार गर्न काठमाडौं ल्याएका राईले टिचिङ, काठमाडौं मेडिकल कलेज जोरपाटी र साँखुको सुष्मा कोइराला अस्पतालमा उपचार गराएका थिए।

लामो समयसम्म अस्पताल बसाइका क्रममा एकैतर्फ सुत्दा घाउ बढेको बिरामीका आफन्तले जानकारी दिए। घाउ बढेकै कारण चिकित्सकहरूले कम्मरमुनिको भाग दीर्घकालसम्म नचल्ने बताएपछि २ साताअघिदेखि मञ्जलाको उपचार स्पाइनल इन्जुरी अस्पताल काभ्रेमा भइरहेको मञ्जलाका आफन्त अजय कुलुङले जानकारी दिए। अब पहिले जस्तो हिँडडुल गर्न नसक्ने भएपछि थेरापीसँगै र ह्वील चेयरको प्रयोगबारे अभ्यस्त गराउन मञ्जललालाई काभ्रे पुर्याइएको उनले बताए।

गोरखाशेरको आर्थिक अवस्था कमजोर भएपछि यसअघिको उपचार आफन्तको सहयोगमा भएको बताइएको छ। हालसम्म मञ्जलाको उपचारमा ५ लाख रुपियाँका हाराहारीमा खर्च भइरहेको बताइएको छ। उनको उपचारका लागि नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघको धुम्बाराहीस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको खाता नम्बर ०२९०१०४०२५०७९५ मा रकम उपलब्ध गराउन सकिने संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्