मधेश गुम्ने खतरा बढ्योःअध्यक्ष ठाकुर



कृष्णउदास खनाल, वीरगन्ज । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले राज्यको विभेदकारी रवैया नसुध्रिए नेपालले मधेस नै गुमाउने खतरा रहेको चेतावनी दिनु भएको छ ।

वीरगन्ज संग सीमा जोडिएको बाराको प्रसौनीमा सोमबार तमलोपा बाराको चार नम्बर क्षेत्रीय कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले भन्नु भयो ‘मधेस आफैंमा राष्ट्र हो, मधेस विनाको नेपाल कल्पना नै गर्न सकिन्न, तर सरकारी रबैयाले अहिले मधेसी गुमाईसकेको अवस्था छ, विभेदको अवस्था यस्तै रहीरहने हो भने पछि मधेस नै गुम्न सक्ने अवस्था आउन सक्छ ।’ उहाले संविधान संशोधन विना हुने कुनैपनि चुनाव नमान्ने बताउनु भयो ।

सरकार बन्दुकको बलमा चुनाव गराउने तयारीमा रहेको भन्दै अध्यक्ष ठाकुरले भन्नु भयो, ‘यदि सरकारले बन्दुकको बलमा जबरजस्ति चुनाव गराउन खोज्यो भने मधेसी जनताले त्यसको सशक्त प्रतिकार गर्छन् । काँग्रेस एमालेमा रहेका मधेसी नेताहरु भोट माग्ने बेलामा मात्रै मधेसको कुरा बोल्ने तर अधिकारको कुरा गर्दा मौन बस्ने गरेको भन्दै उहाले त्यस्ता बहुरुपिया मधेसी नेताहरुलाई मधेसी जनताले चिनिसकेको बताउनु भयो ।
केहि दिन यता सरकारले मोर्चासंग सहमति भएको भनेर निराधार हल्ला चलाएको भन्दै अध्यक्ष ठाकुरले सरकारसँग कुनै त्यस्तो सहमति नभएको प्रष्ट पार्नु भयो । व्यक्तिमाथि हुने खतरालाई राष्ट्रिय खतरा मानेर शासक वर्गले देशलाई अल्झाउने काम मात्र गरेको अरोप उहाले लगाउनु भयो ।

व्यवस्थापिका संसदमा संविधान संशोधनको विषयले भन्दा पनि सरकार कसरी टिकाउने भन्ने विषयले अहिले बढि महत्व र प्राथमिकता पाएको नेता ठाकुरले बताउनु भयो ।तमलोपाका महामन्त्री जितेन्द्र सोनलले मधेसको पहिचान र अधिकारलाइ ठूला तीन दलले संसद भवनमा बन्धक बनाएर राखेको आरोप लगाउनु भयो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ६ सय ५० जना भन्दा बढी नेता कार्यकर्ताहरु तमलोपामा प्रवेश गरेको तमलोपा बाराका प्रवक्ता रमेश सर्राफले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्