उद्धार गर्न गृहमन्त्रीको निर्देशन



काठमाडौँ, २१ चैत । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले मुग्लिन नारायणगढ सडकखण्डअन्तर्गत घुमाउनेमा भएको दुर्घटनामा परी घाइते भएकाको तत्काल उद्धार गर्न निर्देशन दिनुभएको छ ।

सो स्थानमा आज बिहान घुमाउने पहाडको ढिस्को एक्कासि खस्दा एकजनाको घटनास्थमै मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए । साथै एउटा ट्याङ्कर, ट्रक, मिनी ट्रक र कारसमेत पुरिएको थियो ।

उपप्रधानमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालद्वारा आज जारी विज्ञप्तिमा सो घटनालगत्तै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी घटनास्थलमा पुगिसकेका जनाइएको छ ।

घाइतेको उद्धारका लागि गृहमन्त्रालयले नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको र बाटोमा जम्मा भएका माटो, ढुङ्गा पन्छाउनका लागि तनहुँबाट जेविसी लोडर पठाइसकिएको पनि विज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्