बक्सिङ खेलाडी थाइल्यान्ड जाने



नेपाल समाचारपत्र
काठमाडौं
थाइल्यान्ड अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप (किङ्स कप) मा सहभागी हुन जाने नेपाली बक्सिङ टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले आइतवार विदाइ गरेका छन्।

थाइल्यान्डको राजधानी बैंककमा सोमबारदेखि शुरु हुने उक्त प्रतियोगितामा जाने खेलाडीमा ५२ केजी तौलसमूहमा प्रेम चौधरी, ६४ केजीमा दीपक श्रेष्ठ र ६९ केजी तौलसमूहमा विष्णु घलेले रहेका छन्। नेपाली टोलीको प्रशिक्षकमा प्रविण तुलाधर र डम्बरदत्त भट्ट रहेका छन् भने सहायक प्रशिक्षकको जिम्मेवारी दीपक महर्जनले सम्हाल्नेछन्।

नेपाल बक्सिङ संघका सदस्य प्रनिर अधिकारी टिम व्यवस्थापकका रूपमा रहेका छन्। नेपाली टोलीको नेतृत्व भने बक्सिङ संघका अध्यक्ष राम अवालेले गर्नेछन्। खेलाडीलाई विदाइ तथा शुभकामना दिँदै सदस्यसचिव विष्टले नेपाली बक्सिङको गौरवशाली इतिहास रहेको धारणा व्यक्त गर्दै खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरेका थिए। विदाइ कार्यक्रममा संघका उपाध्यक्ष दीपक गुरुङ र सदस्य ओमनारायण श्रेष्ठले प्रत्येक बाउट जित्ने खेलाडीलाई बाउटको २५ हजार रूपियाँका दरले पुरस्कार प्रदान गर्ने घोषणा गरे।

यसै गरी अवालेले उपाधि जित्नेलाई जनही एक लाख, उपविजेता भएमा ५० हजार तेस्रो स्थान हासिल गरेमा २५ हजार रूपियाँ प्रदान गर्ने घोषणा गरे। नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गर्दै छ।

प्रतिक्रिया दिनुहोस्