भलिबललाई वाणिज्य बैंकको साथ



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल भलिबल संघले मुख्य प्रायोजकका रूपमा राष्ट्रिय वाणिज्य बैंकको साथ पाएको छ।

राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताका लागि राष्ट्रिय वाणिज्य बैंकले २ वर्षका लागि २० लाख रूपियाँ प्रायोजन गर्ने भएको छ। आइतबार आयोजित कार्यक्रममा भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार राष्ट्रिय वाणिज्य बैंकले प्रत्येक वर्ष १० लाखका दरले दुई वर्षका लागि लिगलाई प्रायोजन गर्नेछ। सम्झौतापश्चात राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको नामबाट सञ्चालन हुँदै आएको प्रतियोगताको नाम ‘एभीए—आबीबी राष्ट्रिय क्लब लिग’ रहने छ। सम्झौता २०७४ साल चैत २० गतेसम्म कायम रहने बताइएको छ।

कार्यक्रममा संघका महासचिव जितेन्द्रबहादुर चन्दले यो सम्झौतापछि आगामी दिनमा थप प्रायोजक भित्रिने सम्भावनाको पनि ढोका खुल्ने विश्वास व्यक्त गर्दै लिगलाई व्यवस्थित रूपमा आयोजना गर्ने प्रतिवद्धता जनाए। यसै गरी वाणिज्य बैंकका अध्यक्ष डा. रवीन्द्रप्रसाद पाण्डेले खेलकुद क्षेत्रमा केही गर्ने सोचका साथ भलिबलबाट प्रायोजना शुरु गरिएको बताए। बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपालको चर्चित खेल भलिबललाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए।

आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने लिगमा पुरुषतर्फ हेल्प नेपाल स्पोटर्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, पश्चिमाञ्चल भलिबल संघ, ढोरपाटन स्पोटर्स क्लव, जाउलाखेल भलिबल तालिम केन्द्र र बुटबलको मणिमुकुन्द भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन्। यसै गरी महिलातर्फ न्यु डायमन्ड क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, वेस्टर्न टप्स र जाउलाखेल स्पोर्टस क्लबले सहभागिता जनाउनेछन्।

लिगलाई रोमाञ्चक बनाउन र खेल स्तरलाई बढाउन हरेक टोलीबाट चारचारजना विदेशी खेलाडी खेलाउन पाउने व्यवस्था गरिएको छ। कूल २१ लाख रूपियँँ बजेट रहेको लिगको विजेताले दुई लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले एक लाख, तेस्रो हुनेले ५० हजार र चौथो स्थान हासिल गर्ने टोलीले २५ हजार रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। यसै गरी लिगको सर्वोत्कृष्ट खेलाडीले १५ हजार रूपियाँ पाउने छ। विधागत उत्कृष्टतातर्फ उत्कृष्ट लिब्रो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकले जनही पाँच हजार रूपियाँ पुरस्कार हात पार्नेछन्।

प्रतिक्रिया दिनुहोस्