सार्वजनिक गाडीमा सधैं कष्टकर यात्रा



बिन्दु अधिकारी ढकाल
मुलुकको समग्र भागमा हेर्ने हो भने ५ लाखभन्दा बढी यातायातका साधन सञ्चालित छन्। विकासले फड्को मारेसँगै गाउँ–गाउँमा सडकको विस्तार भएको छ। सडक विस्तारसँगै भाडाका साधन दिनानुदिन थपिँदै छन्। काठमाडौं उपत्यकामा चल्ने साझा बस एउटाबाहेक सार्वजनिक रुटमा चल्ने भाडाका सबैखाले सवारीसाधन सरकारीस्तरबाट चलेका छैनन्। निजी क्षेत्रबाट सञ्चालित सार्वजनिक सवारीसाधनले देशभरकै यात्रुलाई आवत–जावत गराउँदै आएका छन्। यद्यपि आम यात्रुको मुहारमा खुसीको झल्को भने देखिएको छैन। यात्रारत यात्रुलाई प्रत्यक्ष–परोक्ष शोषण र भाडादरमा मनोमानीले आम यात्रु सधैं मर्कामा पर्ने गरेका छन्। यातायात व्यवस्था विभागले पर्याप्त तथा प्रभावकारी अनुगमन नगरिदिँदा यातायात व्यावसायी एकतर्फी निर्णयका वाहक तर सरकारचाहिँ उल्टो लाचारीझैं लाग्छ।

विभिन्न बस व्यवसायी समितिको एकल निर्णयमा देशमा पेट्रोलियम पदार्थको मूल्य बढ्नासाथ भाडादर उच्च बनाइहाल्छन्। तर, पेट्रोलियम पदार्थको मूल्य घट्दा भाडादर कहिल्यै घटाउन चाहँदैनन्। किलोमिटरको आधारमा भाडादर कहिल्यै तोकिँदैन। जोसँग जति भाडा लिन मन लाग्छ त्यति लिएको हुन्छ, पीडितले गुनासो पोख्ने ठाउँ पाउँदैनन्। कुनै यात्रुले प्रश्न गरिहाल्यो भने जर्खरिएको जवाफ पाइन्छ, त्यो पनि सुन्नै नसक्ने शब्दमा। भाइ त्यो के बोल्यौ भनी दोहोर्याएर सम्झाउन त्यहाँ कसैले आँट गर्दैनन्। यात्रु चढाउँन कुनै निश्चित ठाउँको प्रयोग त छँदै छैन। पैसाको लोभ, कतिले पनि नपुग्ने, भित्र ठेलमठेल यात्रु कोचिएका छन् तर बाहिर जसले जहाँ हात उठाए पनि घ्याच्च गाडी रोक्ने नराम्रो प्रवृत्ति छ। झर्ने बेलाको यात्रुसँग झर्कोफर्को, अनि फेरि उही अश्लीन शब्दमा गाली–गलौज। खिन्न मन लगाएर सुनेको नसुन्यै गरी बाटो लाग्नुको विकल्प हँुदैन। मुखको तीतो, त्यो खलासीसँग एकछिन बाझेर के गर्नु, भोलि फेरि नहिँडी सुखै छैन। बाटोतिर अलपत्र वृद्धवृद्धा, विद्यार्थी, असक्त, असहायले हात उठाउँदा उनीहरूको साधन नै खिएला जस्तो, खुट्टै किचौंलाझैं गरेर गाडी हुइँक्याउँछन्। तर, निर्दयीले गाडी रोक्दैनन्।

विद्यार्थी कार्डको बेवास्ता, समय नगुजे्रको कार्ड देखाउँदा पनि भाडा छुट दिदैनन्। ठूला चाडपर्वका बेला ‘अग्रिम टिकट बुकिङ’ एउटा गतिलो बहाना, दूरदराजका कैयौं यात्रीलाई बीचबाटोमा अलपत्र छाडी हिँड्छन्। नक्कली टिकटको बिगबिगी समस्या आफैंले बढाउँछन्। जसको परिणाम कैयौंले हुटमा त कतिपयले मुढामा बसेर नै भए पनि लामो यात्रा पूरा गर्नुपर्ने अवस्था खडा हुन्छ। महिला तथा बालक सबैको विजोग मात्र होइन कन्तविजोग त्यहाँ देखिन्छ। आफ्नो मात्र दुनो सोझ्याउने ध्याउन ठूलो रकमको चलखेल दशैं त व्यावसायिकका लागि मात्र आएको भान हुन्छ। ठूलो र चर्को स्वरमा गीत बजाउँदै अझ मादकपदार्थको सेवन पनि ठाउँ–ठाउँमा गर्दै चालकले सवारी हाक्दा कसैले सम्झाउन खोजे उल्टो जवाफ दिन्छन्– ‘के हामीलाई चाहिँ आफ्नो ज्यानको माया छैन र ? ’

त्यस्तै आफ्नो समिपमा युवती राखेर मोबाइलमा कुरा गर्दै एउटा चालकले सयौंको जीवनसँग खेलबाड गरेको देख्दा पनि सम्बन्धित कसैको ध्यान त्यसतर्फ पुगेको देखिँदैन। यात्रा अवस्थामा कसैलाई इमरजेन्सी दिसापिसाब लागेमा सूचना दिँदा पनि साधन रोकिँदिन्नन्। चिसो र जाडो बेलामा झ्यालका सिसा बन्द हँुदैनन् भने उर्लंदो पानी झरी वर्षात्मा झ्यालबाट पानीभित्र, यात्रु निथु्रक्क भिज्दासम्म व्यावसायिका मुखबाट विचरा भन्नेसम्म शब्द आउँदैन। हिजोआज त कम उमेरका सबै चालक, सबै ड्राइभर। ओठ निचोर्दा दूध आउनेजस्ता सबै गाडीका मालिक। जो अनपढ छ ऊ सवारीचालक, कस्तो अचम्म हाम्रो देशको प्रशासन ?

सार्वजनिक यातायातलाई यति धेरै आरोप प्रत्यारोप लगाउँदै फेरि त्यही यातायातबिना हाम्रो दैनिक गुजारा नचल्ने हामी यात्रुका पनि त केही कमिकमजोरी होलान्। त्यसतर्फ हामीले ध्यान पुर्याएका छौं वा छैनौं ? सबैभन्दा पहिला ट्राफिक नियमको पूर्ण पालना गरौं। जथाभावी गाडी रोक्न हात नउठाऔं। निश्चित र तोकिएको बस बिसौनीबाट यात्रको शुरुआत गरौं। र, झर्दा पनि तोकिएको ठाउँमा नै झरौं। सानोतिनो कुरा झिकेर चालक वा सहचालक वा खलासीसँग अनावश्क वादविवाद नगरौं। रोड अथवा सडक पेटीमा बिस्कुने, बालबच्चा वा चौपाया छोड्ने नगरौं। कतिपय दुर्घनाका कारण हामी आफैं छौं। हामीले आफूभित्रका बेथितिलाई सुधार नगर्ने हो भने यात्रारत साधन सरकारी हुन् वा निजी, नोक्सानमा पर्ने त आखिर हामी नै हौं।

यसै गरी सवारीचालकले ट्राफिक नियमलाई राम्रोसँगले पालनाशगर्नुपर्ने हुन्छ। केही वर्षयता शुरु गरिएको मापसे चेकिङको कारण उपत्यकामा सवारी दुर्घटना कम भएजस्तै लामो दूरी चल्ने सवारीसाधनका हकमा पनि कडाइका साथ मापसे चेकिङ लागू गर्न सक्नुपर्छ। सडक दुर्घटनासम्बन्धी जनचेतना शहर केन्द्रित मात्र नभएर गाउँ–गाउँसम्म र अझ विद्यालयस्तरमा पनि गराउन सक्नुपर्छ। जनचेतना कार्यमा चालकसमेतलाई सहभागी गराउन सक्यौं भने झनै प्रभावकारी हुने थियो। प्रत्येक चालकले आफ्नो दायित्वलाई हृदयङ्गम गरी सवारीसाधन चलाउने हो भने सार्वजनिक यातायातमा भुक्तभोगी यात्री सबैको मुहारमा खुसीको हासो आउने थियो। यात्रा जतिसुकै लामो होस्, मुटु सिरिङ्ग हुने थिएन। सिंगो गाउँ शोकाकुल बन्ने थिएन।

प्रतिक्रिया दिनुहोस्