“यी सबै मान्छे बौलाहा हुन् कि बदमास ?”



केशरबहादुर विष्ट
वरिष्ठ नेता, एकीकृत राप्रपा (राष्ट्रवादी)

संविधानले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई संस्थागत गरेको छ। जनआन्दोलन मार्फत विस्थापित भएको संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्र पुनस्थापित हुनुपर्ने माग राख्दै केही राजनीतिक दलहरुले आफ्नो एजेण्डा बनाएका छन्। संविधान अनुसार ७ सय ४४ वटा स्थानीय तह कार्यान्वयनमा आएका छन्। संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र चाहिने चर्को माग उठाउदै आएका राप्रपाका अध्यक्ष कमल थापा अहिले संघीयता कार्यान्वयन गराउने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएको छ।

थापा प्रति बिमति राख्दै पार्टी एकीकरणको १९ औं दिनमै अर्का नेता डा प्रकाशचन्द्र लोहनी भने बाहिरिएर एकीकृत राप्रपा( राष्ट्रवादी) नामको दल खोल्नुभएको छ। सोही नयाँ दलको बरिष्ठ नेता हुनुभएको छ अर्का चर्चित राजनीतिज्ञ केशरबहादुर बिष्ट। यी सबै गतिविधि आखिर के का लागि भइरहेका छन् त ? यसपालि हामीले विष्टसँग समसामयिक विषयमा कुराकानी गरेका छौं। प्रस्तुत छ, नेपाल समाचारपत्रका लागि मधुसूदन रायमाझीले गरेको कुराकानीका मुख्य अंशहरुः

तपाईहरुले त फेरि नयाँ पाटी गठन गर्नु भयो नि ?
दुई वटा उदेश्यले पार्टी स्थापना गरिएको हो। हामीले विश्वास गर्ने हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था स्थानीय तहमा हक अधिकार सहितको स्वायत्त शासन। यी कुरा मूलुकमा उठ्दै हराउदै गएको छ। पञ्चालयत कालदेखि नै विकेन्द्रीकरण लागू भयो। तर व्यवहारमा लागू हुन सकेन। पञ्चायतकालमा अधिकार दिने र खोस्ने काम भयो। पञ्चायतमा सभापतिले सिडियोलाई कुट्ने काम समेत भयो। स्वयं प्रशासनको तर्फबाट षड्यन्त्र भएपछि सिडियो र सभापतिको अधिकार बाँडफाँड गरिएको थियो।

तपाई त पार्टी परिवर्तन गर्ने नेताको उपमा पाउनु भएको छ नि ?
मेरो जीवनमा बारम्बार दुर्घटना भइरहयो। सूर्यबहादुजीसँग काम गरे। उहाँ प्रधानमन्त्री हुँदा म मन्त्रिमण्डलमा थिए। सूर्यबहादुरजी गणतन्त्रवादी हुनु भो। मेरो उहाँसँग राय मिलेन। मलाई जानकारी नै नदिइ सूर्यबहादुरले मलाई पार्टीबाट निष्कासन नै गरिदिनु भो। पार्टी नखोलेर कहाँ जाउ ? मैले आफूले छोडेर हिडेको होइन। आठ⁄दस बर्ष राजाले जेल हालेका मान्छे बिपीले भनेका थिए–‘राजाको गर्दन तल मेरो गर्दन माथि। मेरो स्वार्थ आफ्नो ठाउँमा होला, मूलुकको लागि राजतन्त्र त चाहिन्छ चाहिन्छ,यद्यपी मलाई राजाले दुःख दिएका छन्।’

उहाँकै भाई गिरीजाबाबुसँग पनि मैले काम गरे तर उहाँले पनि राजसंस्था छोडिदिनु भो। राजतन्त्र छोडेर गणतन्त्रको राष्ट्रपति हुन हिडेपछि मलाई खपिसाध्य भएन। त्यसपछि मैले कांग्रेस छोडें। मलाई पार्टी बदलिरहन्छ भन्ने दोष लागिरहेको छ। बिपीको आर्दश कांग्रेसमा गएको थिएँ। त्यसपछि राप्रपा नेपालमा बसेर ठूलो दुःख गरियो। हाम्रो मेहनतले नै आएको हो ६ लाख ३० हजार मत।

तपाई त संविधानसभाबाट संविधान नै जारी नहोस् भन्ने पक्षमा हुनहुन्थ्यो तर संविधान जारी भएरै छोड्यो। त्यहीँबाट कमल थापासँग भएको बिवादले पार्टी विभाजनसम्म आइपुग्यो भन्छन् नि ?

मधेसवादी दलहरुले संविधान बहिस्कार गरेवापत संविधान संशोधन भयो। हामी त सयका सय हार्यौ। एक अंश पनि जितेनौ। संवैधानिक हिन्दुत्व पनि आएन। संवैधानिक राजतन्त्र मान्ने गणतन्त्रका राष्ट्रपतिबाट सपथ खान नजाऔं भन्दा बखेडा सुरु भयो। राप्रपामा आफूखुसी र मनलाग्दी निर्णय गर्ने पार्टी पर्यो। राप्रपा नेपालको जन्म रविन्द्रनाथ शर्माले गरे तर निधन हुनअघि कारवाहीमा परे।

राजेश्वर देवकोटा आउट भए। पार्टीको सह अध्यक्ष पदमसुन्दर लावती पार्टीबाट बाहिरिए। पार्टीको सह–अध्यक्ष केशरबहादुर विष्ट म पनि आउट भएँ। पार्टीमा जिम्मेवारी लिएका किशोरी महतो र सलिम मियाँ आउट भए। पार्टीका महामन्त्री गणेश शेरचन पनि बस्न सक्नु भएन। यी सबै मान्छे बौलाहा हुन कि बदमास हुन् ? जो राप्रपा नेपालमा अडिन सकेनन्। यतिसम्म कि महाधिवेशन भएको १९ दिनमा डा. प्रकाशचन्द्र लोहनीले पार्टी छोडनु भो। धन्न म त पाँच बर्ष बसे।

विश्वमा जति पनि देशमा संविधान सभा मार्फत संविधान बन्यो, जम्मा २६ वटा देशमा मात्र इतिहास छ। आजसम्म नेपाल २६ औं देश पर्छ। संविधानमा ५ प्रतिशत भन्दाले बढी बहिष्कार गरेका छैनन्। तर नेपालमा यो संविधान बन्ने क्रममा मधेसवादीले बहिस्कार गरेको अवस्थामा राप्रपाका २४ जनाले पनि बहिस्कार गरेको भए १२ दशमलब ५ प्रतिशतले बहिस्कार गरेको हुन्थ्यो। कमल थापाले उपप्रधान सहित परराष्ट्र र स्थानीय विकास मन्त्री खान सांठगाठ मिलाइसकेका रहेछन्। लोहनी मात्र होइन म पनि छक्क परेको छु। राजसंस्था र हिन्दुराष्ट्र राप्रपाले छोड्यो भन्दै जनताले धिक्कार भनेका छन्।

त्यसो भए कमल थापाको बारेमा जानकार नभएर नै डा. लोहनी पार्टी एकता प्रक्रियामा जानुभएको रहेछ होइन त ?
जुत्तामा किला पर्यो भने घोच्छ भन्ने ज्ञान हुनु र साच्चिकै किला परेर घोच्नु फरक पर्दो रहेछ। अर्कोलाई देखेर त्यो ज्ञान मलाई पनि हुनु पर्दथ्यो नि। त्यो ज्ञान नहुनु मेरो कमजोरी हो। मलाई समेत यस्तो भएपनि डा. लोहनीलाई त्यो ज्ञान भएन कि ? पार्टीले के निर्णय गर्छ थाहा नै पाइदैन। यही थाहा नभएको मान्छे हँु म। ७३ बर्षको उमेरमा लावतीले के रहरले विद्रोह गरेर निस्कनुभएको होला र ? मन,व्यवहार र आस्था भन्ने निकै फरक कुरा रहेछ। खप्न सक्नेसम्म मात्र खप्ने हो मानिसले। मेरो हालत त्यहीं थियो। अहिले हामीले सामुहिक नेतृत्वमा कसरी जान सकिन्छ भनेर गृहकार्य गरिरहेका छौं।

राजतन्त्र र हिन्दुराष्ट्रको मुद्दा उठाउदै सत्ताको भर्याङ मात्र बनाए भन्छन नि ? फेरि तपाईहरुले त्यही कुरा उठाउदै हुनुहुन्छ ?

कुनै निर्णय पनि विधिसम्वत हुनुपर्छ। विधिसम्मत भए झगडा गर्नुपर्ने कारण हुँदैन। त्यही राजाले पुर्नस्थापित गरेको टिके संसदले अकस्मात आधा रातमा कुनै विधि नपुर्याई छलफल नै नगरी प्रस्ताव नल्याई जनतालाई नसोधी आजबाट राजा छैन भने। देश धर्मनिरपेक्ष भो भनेर गरेको घोषणा हामीले मानेर किन हिड्ने ? जनता हाम्रो पछाडि छन् भन्ने घमण्ड गर्ने हो भने जनमत संग्रह गरौं। जे फैसला आउँछ हामी मान्न तयार छौं। लुटेको बन्दुकको भरमा जितेको घमण्ड गर्नेको हालत तेस्रो भइसक्यो। हिजो त एक नम्बरमा थियो नि। किन तेस्रो नम्बरमा आयो ? जीवनभर एक नम्बर हुनु पर्ने होईन र ? एक पटक चुनाव होस कति नम्बरमा पुग्छ ? त्यसैले समयसापेक्ष हुने र राष्ट्रलाई दीर्घकालिन रुपमा असर पुर्याउने कुरामा खेलवाड गर्न हुँदैन। त्यति बेलाको अन्तरिम संविधानले राष्ट्रलाई दीर्घकालिन असर पार्ने विषयमा जनमत संग्रह गर्ने कुरा उल्लेख गरिएको छ। हामीले कुनै नौंलो कुरा मागेका छैनौ ? यो संविधान फाल, देश निकाला गर भनेर भनेको त होईन नि। हाम्रो विश्वास चाही ८१ प्रतिशत हिन्दु भएको देश। तागत छ भने हिन्दुराष्ट्र राख्न जनमत संग्रह मार्फत टुंगो लगाऊ न त ?

संविधान मार्फत संघीयता कार्यान्वयनको चरणमा छ, तपाईहरु विरोध गरी रहनु भएको छ। यसमा कुनै तुक छ र ?

विश्वमा २ सय ३० वटा देश छन्। देशको संख्या र सीमा थपघट भइरहन्छ। २४ वटा देशमा मात्र संघीयता छ। संघीयता लोकप्रिय भइदिएको भए विश्वव्यापी हुन्थ्यो होला नि ? राम्रो उदाहरण खोज्न हो भने अमेरिका र स्वीजरल्याड छन्। दुनियाँको क्रुर र रत्तपातपूर्ण उदाहरण हेर्ने हो भने नाइजेरिया हेर्दा हुन्छ। हाम्रो मूलुकमा सुरु भएको छैन। सुरु हुने बेलामा सिनेमाको ट्रेलर हेर्दा हुन्छ। यो समस्याको समाधान होइन। निर्णायक जनता हुन्। पञ्चायतकालमा समेत सुधारिएको पञ्चायत राख्ने कि बहुदल ल्याउने भन्ने बारेमा जनमत संग्रह गर्न हुने ? आज प्रजातन्त्रको मसिहा ठान्नेले जनतासँग सोध्नु नपर्ने ?

देशमा गणतन्त्र स्थापना भएर संविधान कार्यान्वयको चरणमा छ। यस्तो अवस्थामा तपाईहरु के गर्नुहुन्छ ?
सकेसम्म असल र भद्र ढंगले माग सम्बोधन गराउन लाग्छौ। नत्र आन्दोलन हजार प्रकारका हुन्छन्। भद्र आन्दोलन पनि हुन्छ। ज्यानमारा आन्दोलन नै हुनुपर्छ भन्ने छैन। बाटो अनगिन्ती छन्। संवैधानिक तरिकाले हुदैन भने आन्दोलनको तरिकाबाट पनि हाम्रो माग पूरा गछौं। हाम्रो बाटो छेक्ने भनेको जनता हुन्। जनताले निर्णय दिएपछि मात्र हामी ब्याक हुन्छौ। नत्र हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्र पुनस्र्थापनाका लागि लडिरहन्छौ। राजसंस्था हटाउने निर्णय जनताको निर्णय होइन। यो त छलछाम अनि षडयन्त्रपूर्वक विदेशीको प्रभाव र घुसपैठले भएको निर्णय हो।

पार्टीको नाम त निकै लामो राख्नु भएको छ नि ?

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) भनेर बनाएका छौं। मिलाउदा यस्तै हुदोरहेछ। अहिले पार्टी बनाएका छौं। तीन महिनापछि राष्ट्रिय भेला गर्ने सोचमा छौं। भेला मार्फत आएका सुझावका आधारमा पार्टीको नाम फेर्न पनि सकिन्छ। पार्टीको जनमतले जे निर्णय गर्छ त्यही हुन्छ।

निर्वाचन आयोगले राप्रपाको विधानबाट राजतन्त्र र हिन्दु राष्ट्र हटाएपछि आन्दोलित भयो। यसलाई कसरी लिनुभएको छ ?

निर्वाचन आयोगमा त दरखास्त दिन जाने हो। हामीले पनि तीन जना गएर दिएर आयौ। दरखास्त दिएर आएपछि जुलुस गर्नुपर्छ कि आमसभा गर्नुपर्छ जे गरेपनि भयो नि ? २ सय जनाको झुण्ड बोकेर निर्वाचन अयोगको ढोकामा ढुंगा हानेपछि प्रहरीले लठी हान्दैन त ? यो के तरिका हो ? नियमपूर्वक गएर दर्ता गरेको भए किन प्रहरीले नेताको टाउकोमा लाठी हान्थो र ? माझ सडकमा छेकेर आन्दोलन गर्नुको सट्टा टुडिखेलमा आमसभा गरेको भए हुन्थ्यो नि ? निर्वाचन आयोगमा ढुंगा हिर्काउन जाने अनि प्रहरी चुप लागेर बस्छ त ? राप्रपाले संसदमा दर्ता गरेको फरक मतमा हिन्दुत्व ल्याउने प्रस्ताव मात्र दर्ता गरेको छ। राजा र संघीयताको विषयमा कुनै कुरा गरिएको छैन। सडकमा राजा चाहियो भनेर ढुंगा बर्षाएर हुन्छ। पशुपति शमशेर राणाले समेत आफूलाई गणतन्त्रवादी हिन्दु भन्नुहुन्छ। उहाँले समेत कुनै न कुनै प्रकारको राजा चाहियो नि भनेर बोल्नु भो। त्यो भनेको के हो ? संघीयताको विरोध गर्ने व्यक्ति नै संघीय मामिला मन्त्रालयको मन्त्री भएका छन्। प्रस्तावमा हाल्न नसक्ने सडकमा ढुंगा हिर्काउदै संघीयता मान्दैनौ भन्ने। राजा चाहियो भनेर के भनेको यो ? यो काम अब जनताले थाहा पाइसकेका छन्।

त्यसो भने निर्वाचन आयोगले ठिक गर्यो कि बेठिक गर्यो त ?
यो निर्वाचन आयोगको काम होइन। हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्र शब्द हटाउने निर्णय गलत हो। यो संविधानले व्यक्तिलाई आफ्नो स्वतन्त्रता राख्ने अधिकार दिएको छ। बोल्ने स्वतन्त्र अधिकार दिएको छ। यस बिषयमा व्याख्या गर्ने निकाय सर्वोच्च अदालत हो। हाम्रो विधानबाट पनि निर्वाचन आयोगले हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्र हटायो भने हामी ढुंगा हान्न जादैनौ। सर्वोच्च अदालत जान्छौं। निर्वाचन आयोग स्वतन्त्र छैन। आयोगका पदाधिकारी नै राजनीतिक दलको कोटाबाट नियुक्त हुन्छन्। आयोगमा गएर विरोध गर्नुको अर्थ नै छैन।

कमल थापाले धेरैलाई चक्मा खुवाउन सफल भएँ भन्नुभो के रहेछ त कारण ?

म त तीन बल्ड्याङ खाएको मान्छे हुँ। अर्कोको विषयमा धेरै के बोल्नु ? लाटो खान्छ एक बल्ड्याङ बाठो खान्छ तीन बल्ड्याङ। गाउँको कालुले नक्कली बाघ आयो भनेर गाउँलेलाई सधै झुक्क्यायो। सक्कली बाघ आएको दिन कोही पनि गएन। त्यस्तो दिन पनि कमल थापालाई आउदैछ। आम जनताको चाहना राप्रपाप्रतिको अविश्वास मेची–महाकाली स्वदेश विदेशबाट दबाब भइरहेको बेला राप्रपाबाट लोहनीको बहिगर्मन भए लगत्तै हामीले पार्टी गठन गरेका छौं। दुई हप्तामा ७५ जिल्लामा जिल्ला समितिको निर्माण गरिसक्छौ। यो शसक्त दल हुने छ।

तपाईहरु राजतन्त्र चाहिन्छ भन्ने, पूर्व राजा देश दौडाहामा निस्किने यो संयोग मात्रै हो कि ?

यो शुभ कुरा हो। नेपालको संरक्षक राजसंस्था नै हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। दलहरुसँग आपत्ति छैन। दलको नेता भनेको सीमित समुहको नेता हुन्छ। पूर्व राष्ट्रपति डा.रामवरण यादव असल मान्छे हुनुहुन्थ्यो तर उहाँ कांग्रेसको नेता हुनुहुन्छ। अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारी असल मान्छे हुनुहुन्छ। तर एमालेको नेता हुनुहुन्छ। एमाले नमान्ने मान्छेले विद्यादेवीलाई किन मान्ने ? राजा भनेको सुत्र हो। हिमाल पहाड तराई सबैले मान्न सक्ने। विद्रोह गरेर नमान्ने आफ्नो ठाउँमा छ। मान्न सक्ने संस्था छ भने राजतन्त्र मात्र हो। संसारमा राजा आउने–जाने गरेको इतिहास छ। तर हाम्रो मूलुकको माटोमा व्यक्ति होइन राजसंस्था चाहियो।

जनआनदोलन मार्फत विस्थापित भएको राजतन्त्र पुर्नस्थापना गर्न सम्भव नभएकाले दल दर्ता गरेर राजनीतिमा आउन पूर्व राजालाई राजनीतिक दलहरुले चुनौती दिएका छन नि ?

पार्टी भनेको तेरो र मेरो भो। एउटै पार्टीलाई संसारले मान्ने भए राजा किन चाहियो र ? राजा विभाजित हुनु हुँदैन। राजाबाट गल्ती हुनुभएन। राजा दल हुनु भएन। रामवरणले पार्टी त्यागेर राष्ट्रपति भएपनि कांग्रेसले पैसा दिन छोडेको छैन। सबैको मान्छे राजा मात्र हो।

निर्वाचनमा तपाईको पार्टी के गर्छ ?

दलीय चिन्हले चुनाव लड्न नपाइने भइयो। यो पटकलाई केही भन्नु पनि छैन। निर्वाचन आयोगमा दल दर्ताका लागि अनुरोध गरेका छौं। हलो मागेका छौ पाए राम्रो हुने थियो। निर्वाचन आयोगसँग गुनासो छैन। बीस बर्षपछि स्थानीय तह निर्वाचनको घोषणा भएको छ। सबै वाक्क भएर चुनावको घोषणा भएको हो। यसो हेर्यो आफू नजित्ने भएपछि चुनाव नै नगर्ने परम्पराको यो चुनाव घोषणाले अन्त्य गरिदिएको छ।

मधेसको मुद्दा सम्बोधन नगरी हुने निर्वाचन कस्तो होला ?

–सरकार निर्वाचन गर्न इमान्दार देखिएको छैन। व्यवस्थापनको काम राम्रोसंग भएको पनि छैन। मसी र ढ्वाङ छैन भन्ने कुरा आएको छ। यस्तो अवस्थामा देशमा पक्का चुनाव होला भन्नेमा शंका छ। देशको स्वाभिमान र इज्जतको ख्याल नै हुन छोड्यो। मिति घोषणा भएकाले निर्वाचन होला कि भन्ने लागेको छ।
अहिले राष्ट्रघात र राष्ट्रवाद खुब चर्चामा छ नि ?

आफ्नो थैलीको मुख नवाध्ने अरुलाई चोर दोष लगाउने ? आफ्नो घरको समस्या आफै समस्या समााधन गर्न नसक्ने। झगडा काठमाडौंमा गर्ने समाधान दिल्लीमा खोज्ने ? विग्रिएको यही हो। भूकम्प गयो। सरकार हात थापेर माग्न थाल्यो। जुद्धशमशेरको पालामा यो भन्दा ठूलो भूकम्प गएको थियो। त्यति बेला पनि पुनर्निर्माणको काम नेपाल आफैले गरेको थियो। छिमेकी देशमा सुनामी आयो केही मागेन। हामी माटो ढुंगाको घर बनाउने हो काठ देशभित्रै छ। पाखुरी बलिया छन तर खै किन नेपालीको घर बन्दैन ?

नेपालमा धर्म परिवर्तन भइरहेको भन्दै तपाईहरुले आपत्ति जनाउदै आउनु भएको छ किन ?

दक्षिण कोरियामा २० बर्ष अघि त्यहाँको जनसंख्याको ६ प्रतिशत मात्र इसाई थिए। अहिले त्यो जनसंख्या बढेर ९६ प्रतिशत पुगेको छ। चीनमा बर्षको ५ करोडका दरले इसाई बनेका छन्। अबको केही बर्षपछि चीन बुद्धिष्ट राष्ट्रको रुपमा जान सक्छ। नेपालमा पनि हिन्दुत्व भनेको अरु धर्मलाई मासौ भनेको होइन। पहिचान जोगाउने बाध्यता भयो। गरिब जनताको कारण धर्म परिवर्तन भएको छ। द्धन्द्ध बढाउने काम भएको छ। यो ठिक भएन भनेका मात्र हौं।

प्रतिक्रिया दिनुहोस्