प्लेअफमा ६ राष्ट्र प्रस्ताव



लन्डन, (एजेन्सी)

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ मा हुने विश्वकप फुटबलमा ६ राष्ट्रबीच प्लेअफ खेलाउनुपर्ने प्रस्ताव गरेको छ।

फिफाद्वारा जारी विज्ञप्तिमा ५ महादेशबाट समान एक–एक राष्ट्र र ओसियाना समूहबाट एक राष्ट्र गरी कुल ६ देशबीच प्लेअफ खेलाउने प्रस्ताव अघि सारेको हो। जसमध्ये प्लेअफ म्याचमा योग्य ठहरिने दुई राष्ट्रलाई विश्वकपमा खेलाउने फिफाले जनाएको छ।

फिफाले राखेको उक्त नयाँ प्रस्तावलाई युरोपेली फुटबल महासंघ (यूएफा) का अध्यक्ष एलेक्जेन्डर सेफेरिनले स्वागत गरेका छन्।
हाल विश्वकप फुटबलमा अफ्रिकाबाट ५, एसियाबाट कम्तिमा ४, दक्षिण अमेरिकाबाट कम्तीमा ४, मध्य तथा उत्तर अमेरिका र क्यारेबियन क्षेत्रबाट कम्तीमा ३, युरोपबाट १३ र ओशियाना समूहबाट बढीमा एक राष्ट्र सहभागी हुने गरेका छन्। यो बाहेक ३२ राष्ट्रको कोटालाइ पूर्णता दिन अन्य टोलीलाई प्लेअफबाट छनोट गरिँदै आएको छ।

फिफामा नयाँ अध्यक्षको चयनपश्चात् गत जनवरीमा सन् २०२६ को विश्वकपमा ४८ राष्ट्र सहभागी गराउने प्रस्ताव पारित गरेको थियो। तर कुन महादेशलाई कति कोटा दिने भन्ने अझै टुंगो लागेको छैन। यही विषय टुंग्याउन मे ९ तारिखमा फिफाको बैठक बस्दै छ।

प्रतिक्रिया दिनुहोस्