कम नुनबाट राति शौचालय जाने कम



लन्डन, (एजेन्सी)
डाक्टरहरूले यदि कसैलाई प्रायशः राति ब्युँझेर शौचालय जाने आवश्यकता भइरहन्छ भने आफ्नो खानामा नुनको मात्रा घटाउन सल्लाह दिएका छन्। यसरी मध्यराति शौचालय जानुपर्ने समस्यालाई नोक्च्युरिया भनिन्छ। पचास उमेर नाघेका पचास प्रतिशतभन्दा बढी मानिसलाई यो समस्या हुने गरेको पाइएको छ। वास्तवमा यो सानै समस्या देखिए पनि यसको कारण निद्रा बिग्रिँदा तनाव, थकान र चिडचिडापनाको शिकार हुने डाक्टरहरू बताउँछन्।

हालै यस सम्बन्धमा गरिएको अनुसन्धानले खानामा हलुका परिवर्तन ल्याएको खण्डमा सजिलै यस समस्याबाट छुटकारा पाउने जनाएको छ। हालै बेलायतको लन्डनमा आयोजित युरोपियन सोसाइटी अफ युरोलोजी कन्फ्रेन्समा जापानी वैज्ञानिकहरूको एक टोलिले तीन महिनासम्म ३ सय २१ जना स्वयंसेवकमाथि यसबारे गरिएको अध्ययन अनुसन्धानको प्रतिवेदन पेश गरेको थियो।
तिनीहरूले मानिसहरूलाई कम नुन खान दिँदा तिनीहरूले पिसाव पनि कम गर्ने गरेको तथ्य पत्ता लगाएको थियो। २ सय २३ जना स्वयंसेवकलाई तिनीहरूलाई २५ प्रतिशत नुन कटौति अर्थात १० दशमलव ७ ग्रामबाट प्रतिदिन ८ ग्राम मात्र नुन सेवन गर्न दिइँदा तिनीहरूको राति शौचालय जाने क्रम औसतमा २ दशमलव ३ बाट १ दशमलव ४ पटकमा झरेको पाइएको छ।

यसको विपरित ९८ जना स्वयंसेवकलाई प्रतिदिन ९ दशमलव ९ बाट ११ ग्राम सेवन गर्न दिइँदा तिनीहरूको पिसाव फेर्ने क्रम २ दशमलव ३ बाट बढेर २ दशमलव ७ पटकसम्म पुगेको पाइएको छ। आहारविदहरूले वयस्क व्यक्तिलाई प्रतिदिन ६ ग्राम नुन मात्र सेवन गर्न सिफारिश गरेका छन्। अनुसन्धानकर्ताहरूले यदि नुन सेवन घटाइएको खण्डमा दिउँसो पनि पिसाब फेर्ने क्रम घट्ने जनाएका छन्।

यस अध्ययन प्रतिवेदनका लेखक नागासाकी युनिभर्सिटीका डा.मात्सुओ तोमोहिरोले नुनले शौचालय जाने क्रमलाई कति प्रभावित पार्दछ भनी गरिएको विश्वकै पहिलो अनुसन्धान भएको दाबी गरेका छन्। नुनमा पाइने सोडियमले मानव शरीरको तन्तु र रगतमा तरल पदार्थको सन्तुलन कायम गर्न प्रमुख भूमिका निभाउने गर्दछ।

प्रतिक्रिया दिनुहोस्