एमालेको तेर्सो दौड



रामप्रसाद गौतम

नेपालको राजनीतिक इतिहासमा सबैभन्दा कम मेहनतमा अधिक लाभ पाउने पार्टीको नाम एमाले हो। उसले देशको सुदूर भविष्य हेर्दैन तर मानिसका तत्कालीन समस्या र असन्तुष्टिमा हावा भर्न र उनीहरूलाई भाषणीय वा मञ्चीय राहत दिन यो पार्टी माहिर छ। पार्टीका ठूला नेताहरूले भन्ने चुट्किलाहरू यस्ता माहिर हुन्छन्, ती सुन्न स्वतन्त्र तथा अन्य पार्टीबाट पनि श्रोताको धुइरो लाग्दछ। चुट्किला आफैंमा एउटा मनोरञ्जनको साधन पनि हो। तसर्थ आजको भागदौड थकानपूर्ण जीवनमा एकाध चुट्किला, एकाध घोचपेचसहितको संगीत तथा नृत्यमय आमसभा मानिसको मन बहलाउने साधन पनि बन्यो। यी विविध कारणले एमालेको मेची–काली सफल भएको अन्दाज पार्टीले गरेको छ। परन्तु एमालेको मूल लक्ष्यमा पार्टी सफल भयो वा भएन ? अनेक विश्लेषणहरू हुन जरुरी रहला। अहिले पनि एमाले निम्नकारण पानीमाथिको ओभानो बनेर फर्केको छ।

ठाडो अभिलाषामा तेर्सै फर्कियोः
एमालेले यो अभियान तराई समस्या समाधान गर्न र उनीहरूको घरदैलोमा पुगेर अभिमत लिनको लागि गरेको हो तर मूलरुपमा तराईका जनताबीच एमाले प्रवेश गर्न नै सकेन। सप्तरीको मेलठ घटनापछि यो पार्टी पूर्णरुपमा रक्षात्मक बन्न पुग्यो। न तराईका समस्या बुझ्न कोशिस गर्यो, न समाधानका कुनै उपाय नै रच्न सक्यो ? धनगढी र नेपालगन्जलाई अपवाद मान्ने हो भने महेन्द्र राजमार्ग इर्दगिर्द नै पार्टीले मधेस खोज्यो र मधेस भेटेको अभिनय पनि गर्यो। तर वास्तवमा मधेस त्यहाँ थिएन र छैन पनि। एमालेको अहिलेको अभियान वास्तवमा तराई समस्याको जडमा पुग्नु थियो। त्यसको छेउछाउमा पनि पुगेन। किनकि समस्याको समाधान भाषणमा डुक्रेर मात्र हुँदैन, एउटा निर्णयमा पुगेर मात्र गरिन्छ। त्यस्तो कुनै लचकदार विन्दुमा एमाले पुग्न सकेन।
अपशब्दको वर्षातः
राम्रा कुरा, विकासका कुरा पनि पक्कै गरिए होला। ती मिडियामा आउँदैनन्, तर नराम्रा कुरा अति नै सल्बलाए एमालेको यो अभियानमा। केही कामरेडले सरकारलाई अलच्छिन सरकार भन्न भ्याउनुभयो। जबकि यस्ता शब्दको प्रयोग सभ्य र समाजमा पक्कै अशोभनीय हुन्छन्। केही नेताले प्रधानमन्त्रीलाई फटाहाभन्दा पनि बेइमान भएको जिकिर गर्नुभयो, जुन कानुनीरुपमा दण्डनीय शब्द हुन्। यो लेभलमा उत्रेर अपशब्द र अपविचार राख्नुपर्ने आवश्यकता थिएन। किनकि एमाले सरकारमा हुँदा पनि दुर्घटना हुन्थे र मानिस मर्थे। तसर्थ शुभ लच्छिन र अलच्छिन भन्ने कुनै प्रकारको तुलना गर्न मिल्ने शब्द नै होइन। यो राजनीतिक संस्कार पक्कै होइन।

समाधान अर्काको पोल्टामा खोज्ने प्रयासः
देशमा समस्या छ, समस्याको कारण छ। समस्या संघीयताको सिमानाले सिर्जना गरेको छ। देशका लगभग ७६ प्रतिशत जनताले उत्तर–दक्षिण सिमानासहितका प्रदेश चाहेका छन्। मधेसी मोर्चा तराई र पहाड छुट्याएर तराईलाई अलग पार्ने किसिमको प्रादेशिक सिमाना चाहन्छ। यही अधिकांशको सेन्टिमेन्टलाई भजाएर एमालेले आफू लोकप्रिय भएको दाबी त गरेको छ तर समस्याको वस्तुपरक र धरातलीय समाधान खोज्न सकेको छैन। आफूले हात चलाएझैँ गर्ने र जंघार अरुले तारिदिने हो भने सबै पौडीबाज बन्न सक्छन्। तर समस्या त आफूले बाढी छिचोल्न सक्नुपर्नेमा अड्कियो। एमालेले मेची–काली अभियानमा सबै दोष अरुलाई दिएर आफू हिरो भैरहेको दाबी गर्यो। यसरी समस्यामा भाग्ने र अरुलाई दोष दिने बेलालामा जुरुक्क जाग्ने सबैले गर्न सक्छन्।

मधेस मतको सर्वेक्षण गर्न नसकेकोः
एमालेको मेची–महाकाली अभियानमा सम्पूर्ण जनताको आशा के थियो भने, मधेसमा रहने १० लाख यादव, ११ लाख मुस्लिम, १६ लाख थारु र बाँकी ४४ लाख मधेसी जातीय समीकरण अनि ५१ लाख पहाडी मधेसवासीको साझा धारणा बुझ्नेछ। अनि त्यसले देशलाई एउटा बाटो दिनेछ भन्ने आशा जनताको थियो तर निचोडमा पार्टी ठाडो त झर्दै झरेन। केवल तेर्सोमा झाम्रे गाउँदै फर्कियो, केही अगाडिका पण्डितले श्रीमद्भागवत नहेरीकन सप्ताह भनेर मान्छे नचाएझैँ।

राष्ट्रियताको व्यापारमा अब्बलः
अरु जे भए पनि पार्टीले राष्ट्रियताको व्यापार राम्रोसँग गर्यो। उसले अखण्ड नेपाल चाहन्छ, विखण्डन चाहँदैन। तर यो व्यापारको शुरुवात पहिला आफैंले बनाएको संविधानपूर्वबाट नै शुरु गरेको भए ज्यादै राम्रो हुन्थ्यो। संविधान बनाउने क्रममा २ नम्बर प्रदेशमा मधेसका जिल्ला मात्र किन राखियो ? त्यति बेला नै संघीय सिमानामा गडबडी भएको हो, त्यसमा एमाले सहमत भएकै हो। मधेस र पहाड अलग टुक्रा पार्नुहुँदैन भन्ने कुरामा एमालेले त्यो बेला किन अडान लिन सकेन ? एमालेले अहिले राम्रोसँग राष्ट्रियताको पैरवी गरे तापनि शुरुमा नै उत्तर–दक्षिण सिमानाको वकालत गर्न सकेन। तसर्थ पार्टीले राष्ट्रवादकै नाममा किन नहोस्, अफ्नो दोहोरो चरित्र देखायो।

पानीमा भिजेको देखाएर खोलो तरेको अभिनयः
साना–ठूला गरेर एमालेले २७ आमसभा गर्यो। हरेक ठाउँमा आफ्नो दम्भ र धम्की पोख्न सफल भयो। दोहोरो सञ्चार हुन सकेन। देशमा एमालेबाहेक पनि पार्टीहरू छन्। एमालेबाहेक अरु सबै अराष्ट्रवादी पक्कै होइनन्। राष्ट्रवादको गन्तव्य कहाँ हो र अराष्ट्रवाद भनेको के हो ? यो दुवै कुरा एमालेले बुझाउन सकेन र चाहेन पनि। हरेक ठाउँमा धम्कीका भाषाको प्रयोग गरियो, परन्तु धम्की कसलाई दिइएको हो भन्ने कुरा स्वयं एमालेलाई थाहा भएन। न त पार्टीले संघीयता सीधै खारेज गर्नुपर्दछ भन्न सक्यो, न त सिमांकन कसरी गर्ने भन्ने विषयमा जनमतसंग्रह गर्नुपर्दछ भन्ने कुनै धारणा दिन सक्यो। जे होस्, एमाले खोलो तर्न पनि सकेन, पुल बनाउन पनि सकेन। तर पानीमा भिजेको देखाएर खोलो तरेको अभिनय गर्न पूर्ण सफल भयो।

बामपन्थीभन्दा नरम र अन्यभन्दा जुझारुः
जे होस्, एमालेले यसपटक पनि विगतमा जस्तै अति जडवादी बामपन्थीभन्दा केही नरम र अन्य दक्षिण तथा समाजवादी पार्टीभन्दा केही जुझारुपन देखाउन सफल भयो। सबैभन्दा ठूलो कुरा तराईमा हामी पनि छौं भन्ने कुरामा दस्तक दियो। यो असफलता हुँदै होइन तर बाघ मार्न हिँडेको सिकारीले बिरालो झुन्ड्याएर घर फर्कन्छ भने त्यसलाई कसरी मूल्यांकन गर्ने ?

प्रतिक्रिया दिनुहोस्