नेप्सेमा तीनपटक सर्किट ब्रेक



नेपाल समाचारपत्र
काठमाडौं
यर बजारमा भएको उच्च वृद्धिका कारण मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीनपटक सर्किट ब्रेक लागेको छ। तीनपटकसम्म सर्किट ब्रेक लागेपछि कारोबार समयभन्दा एक घण्टा अगाडि नै नेप्से बन्द हुन पुगेको थियो। मंगलबार नेप्से ७६ दशमलव ७९ अंक अर्थात ५ दशमलब शून्य १ प्रतिशतले बढेकाले कारोबार २ बजे नै बन्द भएको हो।

कारोबार शुरू भएको २५ मिनेटभित्रै नेप्से ३ प्रतिशतले बढेपछि १५ मिनेटका लागि सर्किट ब्रेक लागेको थियो। त्यसपछि शुरू भएको कारोबार आधा घण्टाभित्रै पुनः एक प्रतिशतले वृद्धि भएपछि आधा घण्टाका लागि बजार बन्द भयो। दुईपटक सर्किट ब्रेक लागेपछि खुलेको बजार निरन्तर वृद्धि भई नेप्से ५ दशमलब शून्य १ प्रतिशतले बढेको हुँदा २ बजे तेस्रोपटक सर्किट ब्रेक लाग्दै मंगलबारका लागि कारोबार बन्द गरिएको थियो।

कारोबार शुरू भएको एक घण्टाभित्र ३ प्रतिशतले नेप्से घटबढ भएमा १५ मिनेटका लागि पहिलोपटक सर्किट ब्रेक लाग्दछ। त्यस्तै कारोबार शुरू भएको दुईभित्र ४ प्रतिशतले नेप्से घटबढ भएमा ३० मिनेटका लागि दोस्रो सर्किट ब्रेक लाग्दछ। ५ प्रतिशतले नेप्से घटबढ भएमा त्यस दिनका लागि कारोबार स्थगित गरिन्छ। यस दिन नेप्से १६ सय १० दशमलब ६२ अंकमा पुगेको छ। कुल १ स य ४४ कम्पनीको कारोबार हुँदा ३ कम्पनीको मूल्यमात्रै मूल्य घटेको छ। शेयर मूल्य गुमाउनेहरूमा एनएमबि माइक्रोफाइनान्स, जेविल्स फाइनान्स र किसान माइक्रोफाइनान्सका लगानीकर्ता रहेका छन्।

त्यस्तै १० प्रतिशत शेयर मूल्य बढ्ने कम्पनीमा बुटवल पावर, गुराँस लाइफ इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, माउन्ट मकालु डेभलपमेन्ट बैंक, कालिका माइक्रोक्रेडिट र प्रुडेन्सियल इन्स्योरेन्स रहेका छन्। यस दिन नेपाल बंगलादेश बैंकको ९ करोड ४४ लाख, सानिमा बैंकको ७ करोड ५७ लाख, एनसीसी बैंकको ६ करोड १२ लाख, प्रभु बैंकको ५ करोडको शेयर कारोबार हुँदा समग्र कारोबार १ अर्ब ३८ करोडको भएको छ। मंगलबार बैंकिङ समूह ७५, होटल समूह ७१, विकास बैंक समूह ८२, जलविद्युत् समूह १०६, फाइनान्स समूह ३८, बीमा समूह ५०३ र अन्य समूह १० अंकले बढेका छन्।

यसैबीच मंगलबार नेपाल स्टक एक्सचेन्जमा स्टान्डर्ड चार्टड बैंकको १३ लाख ७४ हजार ७ सय ५३ कित्ता, गरिमा विकास बैंकको २१ लाख ६१ हजार २३ कित्ता र लक्ष्मी बैंकको ११ लाख ९८ हजार ११ कित्ता शेयर सूचीकृत भएको छ। त्यस्तै एनएलजी इन्स्योरेन्सको १० लाख २४ हजार ६ सय ५० कित्ता, भक्तपुर फाइनान्सको ७३ हजार ८ सय ५० कित्ता, सगरमाथा इन्स्योरेन्सको १ लाख ७० हजार ६ सय ९० कित्ता, ज्योति विकास बैंकको ११ लाख ७२ हजार ९ सय ७ कित्ता र कञ्चन विकास बैंकको ४ लाख ९५ हजार बोनस शेयर सूचीकृत भएको छ। साथै कञ्चन विकास बैंकको ९ लाख ९० हजार कित्ता हकप्रद पनि सूचीकृत भएको छ।

प्रतिक्रिया दिनुहोस्