हुनुपर्यो नि भावना गरौं भन्ने



सुशील देवकोटा

‘कल्पना नै यथार्थको जननी हो।’ यो भनाइ सत्य हो। जबसम्म कुनै कुरा पाउने कल्पना गरिँदैन, सपना देखिँदैन, तबसम्म त्यो कुरा पाउन असम्भव नभए पनि कठिन अवश्य हुन्छ। एउटा यन्त्र चरा जसरी आकाशमा उड्न सक्छ भन्ने कल्पना नगरिएको भए हवाईजहाजको आविष्कार शायद सम्भव हुँदैनथ्यो होला अथवा एउटा यन्त्रको माध्यमले हामीले टाढा–टाढा बसेर पनि कुरा गर्न सक्छौं भन्ने कल्पना नगरिएको भए टेलिफोनको आविष्कार हुँदैनथ्यो होला। बिज्ञानले प्राप्त गरेको प्रायः हरेक उपलब्धि मानिसको कल्पनाको परिणाम हो। यस अर्थमा भन्ने हो भने कल्पना गर्नु र सपना देख्नु सकारात्मक कुरा हो।

‘म नेपाललाई सिंगापुरजस्तो बनाइदिन्छु।’ यो थियो कल्पना हाम्रो देशको एकजना नेताको। वर्षौंअगाडि उनले यस्तो कल्पना गरे, यस्तो सपना देखे। उनले आपूmले मात्र यो कल्पना गरेनन्, यो सपना देखेनन्, सम्पूर्ण नेपालीलाई समेत नेपाल सिंगापुरजस्तै समृद्ध बन्छ भन्ने कल्पना गराए, सपना देखाए। तर वर्षौंअगाडि देखाइएको त्यो सपना कहिल्यै पूरा भएन र हाम्रो देशको हालत यस्तै रहने हो भने वर्षौंसम्म यो सपना पूरा हुन सम्भव पनि छैन। यो वास्तविकताले नेपालीहरुमा वितृष्णा जन्माएको छ। जब एउटा सुन्दर कल्पना र मीठो सपनाको माला चुँडिन्छ तब मानिसमा वितृष्णा उत्पन्न हुन्छ। हाम्रो देशमा पनि भएको यही हो।

भौगोलिक विविधताको वरदान पाएको नेपालमा के छैन ? सगरमाथा हाम्रै देशमा छ, बुद्धको जन्मस्थल छ, ८ हजार फिटभन्दा माथिका १४ हिमालमध्ये ८ वटा हाम्रै देशमा छन्, जलस्रोतको भण्डार छ, हिन्दूहरुको आराध्य देव पशुपतिनाथको मन्दिर छ। प्राकृतिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक रुपमा धेरै धनी देश हो नेपाल। हुन त स्वर्ग कसैले देखेका छैनन् तर कथाहरुमा स्वर्गको जुन बयान गरिन्छ लगभग त्यस्तै छ हाम्रो नेपाल। दुर्भाग्य भन्नुपर्छ नेपालको, यो देशले सबै कुरा पायो तर एउटा असल नेता पाएन। उपलब्ध साधन–स्रोतलाई अधिकतम उपयोग गरेर नेपाललाई समृद्ध बनाउने इच्छाशक्ति भएको नेतृत्व पाएन।

बोल्नलाई बोलिए। कसैले हावाबाट बिजुली निकालेर देखाइदिने, नेपालका डाँडापाखामा रेल कुदाएर देखाइदिने र नेपालको आफ्नै पानीजहाज चलाएर देखाइदिनेसम्मका कल्पना गराइए, सपना देखाइए। कसैले चमत्कार गरेर नेपालको विकास गरिदिने दाबी गरे भने कसैले नेपाललाई सिंगापुर बनाउँछु भनेर सपना देखाए अनि कसैले स्वीट्जरल्यान्डजस्तो बनाउने सपना देखाए। तर यथार्थ ? उल्टै हाम्रो देश त सिरिया र सुडान बन्ने तयारीमा भएजस्तो देखिन्छ।

सपना ठूला–ठूला देखाउँछन् हाम्रा नेताहरु तर व्यवहारमा जातीयताको बीउ रोप्छन्, विखण्डनको आगो बाल्छन् र आफ्नो स्वार्थको रोटी सेक्छन्। एकजना नेता प्रधानमन्त्री पदबाट हट्नेबित्तिकै आपूmलाई विदेशी शक्तिले हटाएको र त्यसपछि बनेको सरकार रिमोट कन्ट्रोलले चलेको छ भन्ने सार्वजनिक अभिव्यक्ति दिँदै हिँड्छन्। यति पनि नसोची कि त्यसभन्दा अघि त उनी नै प्रधानमन्त्री थिए नि। त्यति बेला त्यो विदेशी शक्तिलाई सधैँको लागि पन्छाउन किन सकेनन् उनले ? किन त्यो रिमोट कन्ट्रोलको ब्याट्री निकालेर फ्याँक्न सकेनन् ? कुन स्वार्थले गर्दा ?

एउटा स्वतन्त्र देशको सरकार विदेशीको इशारामा चल्छ र रिमोट कन्ट्रोलबाट सञ्चालित हुन्छ भने त्यो राष्ट्रघाती सरकार हो। राष्ट्रघाती सरकार भनेर सार्वजनिक आक्षेप लगाउनेहरुले लाभको पद वा भागवण्डाको राजनीति गर्ने बेलामा फेरि किन मिल्न जान्छन् ती राष्ट्रघातीहरुसंग ? जबसम्म नेताहरुको नियत ठीक हुँदैन र मनमा स्वार्थ हुन्छ, तबसम्म देश विकास हुन्छ भनेर कल्पना गर्नु र सपना देख्नु भनेको आकाशको फल हो।

गर्यो भने हुन्छ भन्ने उदाहरणको लागि हामीले दोस्रो युद्धताका ध्वस्त भएर फेरि विकास गरेको जापान, दक्षिण कोरिया वा सिंगापुर वा कुनै अन्य राष्ट्रको उदाहरण दिनै पर्दैन। हाम्रै देशमा यस्ता प्रशस्त उदाहरणहरु छन्। पूर्व–पश्चिम राजमार्ग नबन्दासम्म कसैले सोचेको पनि थिएन होला कि नेपालको एउटा भू–भागबाट अर्को भू–भागमा भारतको बाटो प्रयोग नगरी जाने दिन पनि आउँछ। तर एकजना राष्ट्रवादीको सम्पूर्ण नेपाललाई नेपाली बाटोले नै जोड्ने इच्छाशक्तिको परिणाम सम्पूर्ण नेपालीले सकारात्मकरुपमा उपभोग गर्न पाएका छन्।

राजधानीमा पानीको समस्या छ। निद्रा मारी–मारी मध्यरातमा उठेर पानी तानेन, थापेन वा चढाइएन भने ठूलै मूल्य चुकाएर पानी किन्नुपर्ने अवस्थामा छन् जलस्रोतमा धनी देशको राजधानीका जनता। राजधानीमा भएको पानीको हाहाकार हटाउने उद्देश्यले मेलम्ची ल्याउने निर्णय गरियो। विविध कारणले यो धेरै ढिलो भयो। हुन त सन् २००० ताका मेलम्ची ल्याउने तयारी भैरहेको समयममा एमालेका नेता माधवकुमार नेपालले मेलम्ची चाँडै आउनेमा शंका व्यक्त गर्दा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईले ६ महिनाभित्र मेलम्चीको पानी ल्याएर त्यही पानी माधव नेपालको अनुहारमा छ्याप्ने अभिव्यक्ति दिएका थिए। कृष्णप्रसाद भट्टराईको देहान्त भएको नै ६ वर्ष भैसक्यो तर अझै पनि मेलम्चीको पानीको कथा मात्रै सुन्न बाध्य नेपाली जनता अबचाहिँ धेरै आशावादी भएका छन्।

प्रजातन्त्रको उदयसँगै नेपालको परिचयको रुपमा रहेको लोडसेडिङको अन्त्य भएको छ। नेपालीहरुले अँध्यारोबाट मुक्ति पाएका छन्। स्वास्थ्य क्षेत्रमा उलेख्य सुधार भएको छ। गरिबले पनि स्वास्थ्य उपचार पाउन सक्ने केही सकारात्मक निर्णयहरु भएका छन्। दुईजना कलाकारले भूकम्पपीडितहरुको लागि बस्ती बनाइदिएका छन्।

गरौं भन्ने भावनाले गर्यो भने हुन्छ तर सत्ता लोभी हाम्रा नेताहरुमा यो भावना नै नभएको हो। इच्छाशक्ति नै नभएको हो। जबसम्म मनमा स्वार्थ हुन्छ तबसम्म न गरौं भन्ने भावना जाग्छ, न इच्छाशक्ति नै जन्मिन्छ। विडम्बना, हाम्रा अहिले भएका वा देखिएका कुनै पनि नेताले निःस्वार्थ भावले देशको सेवा गर्छन् वा गर्लान् भन्नेचाहिँ कल्पनासमेत गर्न नसकिने स्थिति छ।

प्रतिक्रिया दिनुहोस्