प्रहरी र गाँजा तस्कर बीच गोली हानाहान



हेटौंडा,(नेस)÷मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६, सुनाचुरी नयाँ बस्तीमा प्रहरी र गाँजा तस्करबीच सोमबार राति करिब साढे एक बजे गोली हानाहान भएको छ ।

गाँजा तस्करीको सूचना पाएपछि पक्राउ गर्न गएको प्रहरीलाई तस्करले गोली प्रहार गरेपछि जवाफी फायरिङ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता उपरीक्षक वामदेव गौतमले बताए ।

प्रहरीको जवाफी फायरिङपछि उनीहरुको साथबाट ७ क्विन्टल गाँजा र ३५ किलो चरेस बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई मंगलबार नै जिल्ला अदालत मकवानपुरमा म्याद थप गरिएको छ ।

प्रहरीले राति नै जंगलमा लुकेको अवस्थामा मनहरी गाउँपालिका–७ का करिब १६ वर्षींय दीपेन्द्र राई, राक्सिराङ–८ का २९ वर्षीय सुरेश स्यांतान, मनहरी–६ का ३६ वर्षीय गोपाल ब्लोन र सोही ठाउँका १८ वर्षींय कृष्ण तामाङलाई पक्राउ गरेको इप्रका मनहरीका प्रहरी निरीक्षक चित्रबहादुर घलेले बताए । गाँजा तस्करीमा संलग्न अन्य फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

धादिङ र गाँजाको उर्वर क्षेत्र मानिएको मकवानपुरमा उत्पादित गाँजा, तस्करहरुले मनहरीका विभिन्न नाका भएर भरियामार्फत् राति भारततिर लैजाने गर्छन् । प्रहरीले मकवानपुरका चारैतिर सवारी चेकलाई कडा बनाएपछि तस्करहरुले भरियाको प्रयोग बढाएका छन् ।
तस्करले गोली चलाएपछि प्रहरीले १९ राउण्ड गोली चलाएको उनले बताए । जंगलको बाटो हुँदै पश्चिम मकवानपुरका बिकट गाउँबाट ल्याइएको गाँजा र चरेश बरामद गर्ने क्रममा गाँजा तस्करहरुले प्रहरी भगाउन गोली चलाएका थिए । यस क्रममा चार जना तस्कर पक्राउ परेका छन् । तस्करीको जानकारी पाएपछि प्रहरी राजमार्गछेउमा तयारी अवस्थामा बसेको थियो । प्रहरीलाई देखेपछि तस्करले प्रहरीलाई लक्षित गरेर फायरिङ गर्दै जंगलभित्र भागेका थिए ।

प्रतिक्रिया दिनुहोस्