सङ्घीय संरचनाको अवधारणा राजनीतिक परिकल्पनाको नवीनतम अभ्यासः उपप्रधानमन्त्री थापा



भक्तपुर, १५ चैत । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले वैशाख ३१ गतेको निर्वाचनपश्चात् निर्वाचित जनप्रतिनिधिलाई सवल, सक्षम र प्रभावकारी नगरपालिका तथा गाउँपालिका हस्तान्तरण गर्ने तयारी गर्न कार्यकारी अधिकृतहरुलाई निर्देशन दिनुभएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय विकास प्रशिक्षण केन्द्रले भक्तपुरको नगरकोटमा आज आयोजना गरेको ‘तीन दिने स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा उहाँले सो निर्देशन दिनुभएको हो ।

३ नम्बर प्रदेशका स्थानीय तहका कार्यकारी अधिकृत र स्थानीय विकास अधिकारीका लागि आयोजित उक्त कार्यक्रममा उपप्रधानमन्त्री थापाले भन्नुभयो— राजनीतिक दलहरु निर्वाचन उन्मुख भइसकेको र जनता निर्वाचनप्रति उत्साही भएकाले यसमा सक्रिय सहयोग पु¥याउन आग्रह गर्नुभयो ।

नेपालको संविधान २०७२ ले व्यवस्था गरेको सङ्घीय संरचनाको अवधारणा राजनीतिक परिकल्पनाको नवीनतम अभ्यास भएकाले यसलाई सहज ढङ्गबाट ग्रहण गर्न आग्रह गर्दै उहाँले संविधानमा स्थानीय तहलाई व्यवस्थापकिय, कार्यपालिका र न्यायिक अधिकारको व्यवस्था गरिएकाले त्यसको प्रभावकारी ढङ्गबाट कार्यसम्पादन गर्न समेत कार्यकारी अधिकृतहरुलाई निर्देशन दिनुभयो ।

सो अवसरमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारमान बुढाथोकीले अहिलेको संरचनाअन्तर्गत स्थानीय तहलाई अधिकार सम्पन्न बनाइएको हुँदा प्राप्त गरेको जिम्मेवारी, अधिकार र भूमिका प्रभावकारी ढङ्गबाट निर्वाह गर्न कार्यकारी अधिकृतहरुलाई निर्देशन दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्