स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण



पोखरा, १५ चैत । स्थानीय तहको नयाँ संरचना अनुसार प्रदेश नं. ४ भित्रका स्थानीय निकायका अधिकृतका लागि स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी तीन दिने अभिमुखीकरण आजदेखि पोखरामा सुरु भएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको संयुक्तरुपमा आयोजित अभिमुखीकरणमा प्रदेश नं– ४ भित्रका जिल्लाका स्थानीय विकास अधिकारी र गाउँ तथा नगरपालिकाका कार्यकारी अधिकृतको सहभागिता छ ।

मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीले तीन दिने अभिमुखीकरणका क्रममा रुपान्तरित संरचनाअनुसार स्थानीय तहबाट गर्नुपर्ने कामका साथै यस क्रममा आउने कठिनाइलगायतका विषयमा छलफल गरिने बताउनुभयो ।

मन्त्रालयका उपसचिव विष्णुदत्त गौतमले अभिमुखीकरणमा सङ्घीयता र स्थानीय शासन, सेवा प्रवाह तथा वातावरण व्यवस्थापन, समाजिक सुरक्षा, ‘ई’ गभर्नेन्स, स्थानीय तहको सङ्क्रमणकालीन योजना, प्रक्रिया र कार्यान्वयन लगायतका विषयमा छलफल गरिने बताउनुभयो ।

उपसचिव प्रदिपकुमार निरौलाले राज्य रुपान्तरणको आभास सर्वसाधारणलाई दिने दायित्व स्थानीय तहका कर्मचारीमा आएको बताउँदै सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि सो कार्यक्रम गरिएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्