सशस्त्रमा सर्कुलर काण्ड



दीपक रिजाल, काठमाडौं
मुलुकको सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलभित्र संगठन प्रमुखप्रति भन्दा पनि अन्यत्र मातहतका कर्मचारी लाग्न थालेपछि सशस्त्र प्रहरी बलले मातहतको निकायले कडा चेतावनी दिएको छ।

सशस्त्र प्रहरी बलले पछिल्लो समयमा आएर वैयक्तिक तबरबाट सोच्ने, विभिन्न तवरबाट आफूमात्र सुविधायुक्त स्थानमा जान चाहने, जानका लागि अनेक प्रयत्न गर्ने र विभिन्न हर्कत गर्न पछि नपर्ने, विभाग एवं नेतृत्वप्रति विश्वस्त नभई बाह्य व्यक्तिबाट समेत प्रभाव पार्न खोजेको भन्दै बलले मातहतका निकायलाई सचेत गराएको छ।

बलको मुख्यालयले हालै जारी गरेको गोप्य सर्कुलरमा जहाँ जसरी रहँदा पनि संगठनको मर्यादा, मातहतका कर्मचारीप्रतिको जिम्मेवारी र जनताको करबाट उपलब्ध सेवा सुविधाप्रति उपेक्षा गर्दै व्यक्तिगत फाइदा, सुखसुविधाका लागि निर्लिप्त हुने तथा दिन, हप्ता र महिनाको हिसाब मात्र गर्ने प्रवृत्ति देखिएको भन्दै त्यस्ता क्रियाकलाप नरोके कारबाही अगाडि बढाउने चेतावनी दिएको छ। संगठन चेन अफ कमान्डभन्दा बाहिर जान खोजेको सर्कुलरमा जनाइएको छ।

विभागले जारी गरेको सर्कुलरमा भनिएको छ– ‘अझ कमान्डका लागि आशक्ति देखाउँदै कुनै प्रकारको हथकण्डा अपनाउन पछि नपर्ने, पटकपटक कमान्ड पाउँदा पनि अझ आफैलाई पुगेन भनेर जान खोज्ने, थोरै जनशक्ति भए पनि कमान्डर भनेर अनेक उपायबाट जान खोज्ने, स्थायी कार्यालयको कमान्डमा बसेर आएपछि पनि केही समय धैर्य नगरी अरू स्थायी कमान्ड नपाएका र धैर्यताका साथ पालो प्रतीक्षा गरी बसेकाहरूलाई समेत उछिन्न पछि नपर्ने प्रवृत्ति देखिएको छ।’

सशस्त्र प्रहरी बलमा पछिल्लोपटक संगठनले खटाएको ठाउँमा जानुभन्दा पनि कमाइ हुने कार्यालयमा जान विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता कहाँ धाउन थालेपछि संगठनको माथिल्लो निकायले तल्लो तहका कर्मचारीलाई शोषण गर्ने व्यक्तिगत स्वार्थलाई लक्षित गरी तजबिजी अधिकार प्रयोग गर्ने, मातहतलाई अनुचित अधिकार प्रयोग गर्ने, मातहतलाई अनुचित अमर्यादित कार्यगर्न बाध्य तुल्याउने तथा गराउने र मुख्यालय एवं नेतृत्वसम्मको बदनाम गराई आफ्नो स्वार्थपूर्ति गर्नेजस्ता काम भएको भन्दै मुख्यालयले यस्ता हर्कत बन्द नगरे कारबाही गर्ने चेतावनी दिएको छ।

मुलुकभर रहेका सशस्त्र प्रहरी बलका अधिकृतहरूले सीमा क्षेत्रमा आईजीपीलाई समेत पैसा बुझाउनुपर्ने भन्दै अस्वाभाविक रूपमा अवैध रकम उठाउन थालेपछि सो संगठनले सबै युनिटहरूलाई लिखित परिपत्र गरी त्यसरी रकम नउठाउन चेतावनीसमेत दिएको छ।

परिपत्रमा नेतृत्व एवं नीतिगत तहमा रहेका पदाधिकारीले संगठनलाई माथि उठाउने र संगठनको शाखलाई जोगाउने लक्ष्य रहेको भए पनि फिल्ड तहमा कार्यरत कमान्डर, अधिकृत जिम्मेवार शाखामा काम गर्ने सबैले नीति निर्देशन पालना गर्नेतर्फ ध्यान नदिएको गुनासाहरू बढी आउन थालेको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न पनि निर्देशन दिइएको छ।

नेतृत्व तथा नीतिगत तहमा रहने पदाधिकारीहरूको संगठनलाई माथि उठाउने र शाखलाई जोगाउँदै सफल निकायको रूपमा अगाडि बढाउने सोच हुँदा हुँदै पनि फिल्ड तहमा कार्यरत कमान्डर, अधिकृत तथा जिम्मेवार शाखामा काम गर्ने सबैले नीति निर्देशन, स्पष्ट सोच र फौजका सदस्यप्रतिको दायित्वसमेत सचेत भएर काम नगर्नेलाई कारबाही गर्ने चेतावनी परिपत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्