जनमतको कदर शान्ति र समृद्धिको आधार



रमेशचन्द्र बादे श्रेष्ठ
संविधानको कार्यान्वयन गर्ने सन्दर्भमा तराई केन्द्रित राजनीतिक दलहरूले संविधान संशोधनपछि मात्र कार्यान्वयन गर्ने भन्ने भावनाहरू गुन्जाइरहेका छन्। अन्य दलहरूको आ–आफ्नै धारणा रहिआएको छ। नेपालको संविधान नेपाल र नेपालीको लागि हो भन्ने सबै राजनीतिज्ञ र सर्वसाधारणले बुझ्नुपर्ने हो। तर विडम्बना, यहाँ विवाद चुलिँदै गइरहेको छ। वैचारिक भिन्नता मानवीय स्वभाव हो। यसको निरन्तरताले कालान्तरमा दुष्परिणाम हुन सक्छ। बहुमतको सदर र अल्पमतको कदर लोकतन्त्रको विशेष संस्कार हो। आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकारलाई हानि–नोक्सानी नपुर्याउनु प्रजातान्त्रिक परिपाटी हो। विरोध गर्न पाउनु प्रत्येक नागरिकको संविधान प्रदत्त नैसर्गिक अधिकार हो भने विरोधी–भावनाको कदर गर्नु नेतागणको बुद्धिमता हो।

यसर्थ छलफल र सभाका माध्यमबाट जनताका जायज मागको सम्बोधन गरौं। नाजायज विरोधको लागि विरोध गर्ने संस्कारलाई त्यागौं। एकतामा अनेकता होइन, अनेकतामा एकताको मिलन विन्दुको प्रादुर्भाव गरौं। शताब्दीयौंदेखि रहिआएको सदभाव कायम राखौं। निर्देशित राजनीतिलाई बहिष्कार र निरुत्साहित गरौं। निष्ठा र प्रतिबद्धताको राजनीति अनुशरण गरौं। राष्ट्र र राष्ट्रियतामा अटल रहौं, आयातीत राजनीतिबाट टाढा रहौं। देश र जनताका लागि समर्पित रहेर अगाडि बढौं। ‘हिमाल, पहाड, तराई कोही छैन पराई’ भावनालाई बुलन्द गरौं। निषेध र निष्कर्षविहीन राजनीतिले समस्या बल्झिने मात्र हुन्छ। निष्ठा र प्रतिबद्धता आजको आवश्यकता रहेको छ। स्वाभिमानी नेपालीको परिचयसाथ स्वाधीनतामा अटल रहौं।

जनताको एकता राजनीतिक दलहरूको शक्ति, राजनीतिक दलहरूको एकता राष्ट्रको शक्तिको जगेर्ना गर्नु आजको आवश्यकता हो। नेपालीको यही चाहनालाई हृदयंगम गरी अघि बढ्नु समयको माग हो। यस तथ्यलाई मनन गरी विद्यमान नेपालको राजनीतिक वृत्त र नेतागणका प्रवृत्ति नियाल्दा सर्वसाधारण जनता अन्यौलताको अवस्था महसुस गरिरहेका छन्। नेपालीबीचको एकतालाई भाँजी सामाजिक तथा राष्ट्रियतामा आँच ल्याउने दुश्चेष्टा⁄दुष्प्रयासको बातावरण छाउन खोजेको महसुस भैरहेको छ। जोसुकैले गरे पनि यो जनद्रोही एवं राष्ट्रघात हो। समयसापेक्ष जनभावना, जनचाहना र जनआकांक्षाअनुरूप राजनीति अँगाल्नु आजको आवश्यकता हो। राजनीतिक स्थिरता, शान्ति सुरक्षा, सामाजिक सद्भाव, सुशासन कायम गर्नु नेतागणको कर्तव्य हो। दण्डहीनता, भ्रष्टाचार, अन्याय, अत्याचारविरुद्ध सशक्त आवाज उठाउनु सामाजिक दायित्व हो। नातावाद, कृपावादविरुद्ध लाग्नु नैतिकता हो। जनादेशको पालना, राष्ट्रियताको जगेर्ना गर्नु देश र जनताप्रतिको समर्पण हो। तर सस्तो लोकप्रियता, खोक्रो राष्ट्रिय वाद र अति महत्वाकांक्षा देश र जनताको लागि धोका हो। आज कतै नेतागणहरूमा यसले प्रश्रय पाएको त छैन ?

व्यक्ति र दलगत स्वार्थको परिधिमा रही राजनीति गर्नाले अनाहकमा सर्वसाधारणको मुत्युसमेत भएका कैयौं उदाहरण छन्। आखिर जो घाइते वा मुत्यु भए पनि हाम्रै परिवारका सदस्य हुन्। नेतागणले सोच्नुपर्ने अति संवेदनशील कुरा हुन् यी। सम्पूर्ण नागरिकलाई एकसूत्रमा बाँड्न सक्नु नेतागणको क्षमता र प्रमुख दायित्व हो। राजनीतिक क्रान्ति सफल भएको अवस्था छ। सर्वसाधारण रैतिबाट नागरिक भएका छन्। सबैले स्वतन्त्रपूर्वक आफ्नो अभिव्यक्ति प्रकट गर्न सक्ने यस अवस्थामा आपसी अवाच्छित, असान्दर्भिक, अनुचित माग तेस्र्याउनु अवश्य पनि बुद्धिमता नहोला। जो, जहाँ भए पनि आखिर सबै नेपाली हौं। हामी मध्ये कोही पनि अन्याय–अत्याचारबाट पीडित हुनुहुन्न।

निषेधको राजनीतिले शान्ति–समृद्धिको सट्टा द्वन्द्व र विभेद मात्र बल्झने निश्चित छ। दशकौंको अस्थिर राजनीतिले थिलथिलो पारेको आर्थिक स्थितिलाई सबै मिली विकास गर्नुपर्ने बेलामा सानातिना कुरामा अल्झिनु बुद्धिमता नहोला। निरंकुशताका विरुद्ध तत्कालीन राजनीतिक दल र नेतागणले आह्वान र अनुरोध गरेको प्रत्येक कालखण्डमा जनताले दिएको साथबाट आजको स्थितिमा पुगेका हौं। हजारौं जनताको प्राण आहुतिबाट प्राप्त भएको यस अवसरलाई सदुपयोग गर्नु प्रत्येक नागरिकको बुद्धिमता एवं कर्तव्य हो। शताब्दीयौंदेखि पुस्तौंले भोगी आएको समस्याको त समाधान गर्यौं भने अरु गर्न नसक्ने भन्ने कुरा हुँदैन। मात्र आपसी सद्भाव, समझदारी, प्रतिबद्धता र चाहनामा भर पर्छ। राजनीति देश र जनताको गरिबी, दरिद्रता र अशिक्षाको उन्मूलनको लागि हो। फाल्तु कुरामा नलागी विकास निर्माण र समृद्धितर्फ लाग्न नेतागणमा सर्वसाधारण नेपालीको अनुरोध छ। निषेध र निष्कर्षविहीन राजनीति नेतागणका कायर, पूर्वाग्रही र अदक्षपन हो भन्दा अत्युक्ति नहोला। राजनीतिमा असम्भव कुनै कुराको हुँदैन, कहीँ न कहीँ मिलन विन्दु हुनै पर्छ।
तसर्थ संविधान गतिशील दस्तावेज भएकाले कार्यान्वयनको अवस्थादेखि समयसापेक्ष, जनभावना र जनचाहनाअनुसार संशोधन गर्दै जानुपर्छ। निर्वाचन प्रजातन्त्रको प्रजातान्त्रिक अभ्यास हो। राजनीतिक दलहरूप्रति जनाधार जान्ने आधार र माध्यम पनि हो। यसर्थ सरकारबाट घोषित यस निर्वाचनमा सम्पूर्ण राजनीतिक दलहरू सहभागी हुनु नितान्त जरुरी छ। जनाधार र जनअभिमतको कदर गरी विद्यमान राजनीतिक गतिरोधको अन्त्य गर्न नेतागणलाई सर्वसाधारणको अनुरोध छ। यही नै शान्ति र समृद्धिको आधार हो।

प्रतिक्रिया दिनुहोस्