किसानलाई राहत देऊ



राजनीतिसँगै मौसम पनि दिनको चारपटक फेरबदल हुने गरेको छ– छिन्मा घाम लाग्ने, छिन्मा पानी पर्ने । अहिले मध्यचैत भइसक्दा पनि राजधानीलगायतका पहाडी जिल्लाहरूमा चिसो हटिसकेको छैन । हावाहुरीसँगै पानी पर्ने अनि त्यसमा पनि दुई फिटसम्म असिना पर्ने गरेको कारण किसानहरू चिन्तित हुन थालेका छन् । बंगालको खाडीबाट आएको बेमौसमी वायुका कारण अहिले नेपालका अधिकांश भागमा असिनासहितको वर्षा हुँदा करोडौंको खाद्यान्य तरकारी र सिजनल खेती प्रभावित हुन पुगेको छ । क्युमोलोनिम्बस नामक बादलका कारण असिना पर्ने गरेको मौसमविद्हरूले बताएका छन् । यो क्युमोलोनिम्बस बादलका कारण चट्याङ पर्ने सम्भावना बढी हुने भएकाले पनि अहिले मौसममा गडबडी आएको मौसमविद्हरूले जनाएका छन् ।

अहिलेको मौसम मुलुकभरका किसानले नगदेबालीको खेती गर्ने मौसम हो । क्युमोलोनिम्बस बादलका कारण असिना परी पूर्वी नेपालमा दुई फिटसम्म असिना जमेका कारण सो क्षेत्रमा लगाइएका कृषिउपजहरू नष्ट हुँदा किसानहरू चिन्तित छन् । अशिक्षा, गरिबी र परम्परगत खेतीमा रुमलिँदै आएका कृषकहरूलाई प्रकृतिले पनि ठगेपछि अहिले मुलुकभर चिन्ताले बास गरेको छ । सरकारले प्राकृतिक विपत्तिबाट पीडित किसानलाई समयमा नै उचित राहतको बन्दोबस्त गर्नुपर्ने चौतर्फी आवाज उठेको भए पनि अहिलेसम्म प्रकृतिक प्रकोप पीडितहरूलाई सरकारले सम्बोधन नगर्नु अर्को विडम्बनाको रूपमा लिनुपर्दछ । क्युमोलोनिम्बस नामक बादल अझै देखा पर्न सक्ने चेतावनी मौसमविद्हरूले दिएका कारण किसानहरू आफ्नो बाली अझै नष्ट हुने हो कि भन्ने चिन्तामा छन् ।

प्राकृतिक विपत्तिलाई रोक्न नसकिने भए पनि सरकारी तवरबाट भने यस्ता पीडित जनतालाई राहतको व्यवस्था भने हुनु जरुरी छ । असिना–पानीका कारण आहात बनेका त्यही किसान जो २०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट समेत पीडित भएकाले सरकारले त्यसतर्फ समयमा नै ध्यान दिनु जरुरी छ । सरकारले भूकम्पपीडितलाई दिने भनिएको राहतसमेत अहिलेसम्म कतिपय पीडितले नपाउनुले पनि सरकारले पीडामाथि पीडा थप्ने काम मात्रै गरेको हो कि भन्ने आभास हुन थालेको छ । भूकम्प र असिनापीडित किसान एकै हुन्, जो खानका लागि गरेको खेती नष्ट भएपछि थप चिन्तामा परेका छन् । उनीहरूको लागि अहिलेसम्म बस्ने बासको समेत व्यवस्था गर्न असफल भएको सरकारले अबचाहिँ केही सोच्ने हो कि ∕

प्रतिक्रिया दिनुहोस्