नर्स हुन पुरुषको दौडधुप



विदेशमा राम्रो अवसर पाउन थालेपछि पुरुषहरू नर्स पेसामा आकर्षित हुन थालेका हुन्।

प्रशान्त वली, काठमाडौं
पछिल्लो समयमा पुरुषहरूले समेत आफूहरू नर्समा भर्ना हुन पाउनुपर्ने भन्दै नेपाल नर्सिङ संघलाई आग्रह गर्ने गरेको पाइएको छ। अन्तर्राष्ट्रिय बजारमा नर्सको माग बढ्दो र लैंगिक समानताका कारण पनि नर्स पेसातर्फ पुरुषहरूको आकर्षण बढ्दै गएको हो।

अहिले नेपालभर ४० जना पुरूष नर्सहरू विभिन्न अस्पतालहरूमा कार्यरत रहेको नर्सिङ संघको तथ्यांकमा उल्लेख छ। जुन महिलाको तुलनामा निकै कम हो। बिरामीको सेवा गर्न पुरुषहरू पनि उत्तिकै इच्छुक देखिएकाले पुरुष नर्सको जनशक्ति उत्पादन गर्न संघले काउन्सिलमार्फत् सरकारसँग माग गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा पुरुष नर्सको माग बढ्दै गएको र नेपालमा पनि पुरुष नर्सहरूको आवश्यकता दिनप्रतिदिन देखिएकाले यस पेसातर्फ आकर्षण बढ्न थालेको नर्सिङ संघका केन्द्रीय अध्यक्ष तारा पोख्रेलले जानकारी दिनुभयो। विदेशमा पुरुष नर्स हुने भएकाले लैंगिक समानताका लागि पनि नेपालमा पुरुष नर्सको माग बढ्दै गएको हुनुपर्ने नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

नर्सहरूको समस्या समाधानका लागि गठन भएको समितिले नर्सिङ कलेजहरूमा भर्ना गर्दा कुल कोटाको १० प्रतिशत पुरुष भर्ना गर्न सरकारलाई केही दिनअघि प्रतिवेदन पठाइसकेको छ। समितिले तयार पारेको प्रतिवेदन स्वास्थ्यमन्त्री गगन थापालाई पठाइएको नेपाल नर्सिङ संघका अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो। प्रतिवेदनमा नर्सिङ क्षेत्रमा पुरुषहरूको उपस्थितिका लागि नर्सिङ शिक्षामा कम्तीमा १० प्रतिशत कोटा निर्धारण गर्नुपर्ने बँुदा उल्लेख छ। नर्सिङ क्षेत्रका समस्या समाधानका लागि गठित समितिले स्वास्थ्य मन्त्रालयमा बुझाएको प्रतिवेदनमा नर्सिङ पेसामा पुरुषलाई अवसर दिनुपर्ने सुझाव दिइएको छ।

पीसीएल नर्सिङ अध्ययन पूरा गर्न ७ देखि ८ लाख रुपियाँ खर्च हुने गर्छ। सरकारले सुझाव कार्यान्वयनका लागि काम अगाडि बढी सकेको बताएको छ। नेपालमा २०५० सालभन्दा अगाडि लगातार चौथो वर्षसम्म पुरुष नर्स उत्पादन भएका थिए। तर, आकर्षण घटेपछि त्रिभुवन विश्व विद्यालयलेनै चौथो वर्षपछि सो विषय पुरुषका लागि स्थगित गरेको थियो। ४ वर्षको अवधिमा नेपालमा ८० जना पुरुष नर्स जनशक्ति उत्पादन भएको बताइएको छ। ती पुरुषमध्ये केही नर्स विषय पूरा गरेपछि जनस्वास्थ्य, डाक्टर, अहेबलगायतका विषय रोजेको बताइएको छ।
नेपालमा २०४६ सालमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा पुरुष नर्सको पढाइ शुरु भएको हो। आईओएमले त्यतिबेला १० प्रतिशत पुरुषलाई पीसीएल नर्सिङ अध्ययनका लागि भर्ना लिएको थियो।

नर्सिङ काउन्सिलको पछिल्लो तथ्यांकअनुसार हाल नेपालमा ७१ हजार ५ सय ५७ नर्स दर्ता छन्। त्यसमध्ये ४३ हजार १ सय ३९ जना नर्स, २७ हजार ५ सय ८९ अनमी र ८ सय २९ विदेशी नर्सको दर्ता छ। संघको पछिल्लो तथ्यांकअनुसार दर्ता भएका नर्समध्ये सरकारी जागिरमा १२ हजार र निजी स्वास्थ्य संस्थामा २२ हजार नर्स कार्यरत छन्। संघकै तथ्यांकअनुसार करिब १५ हजार नर्स विदेसिएका छन्। सरकारी तथ्यांकअनुसार हाल नेपालमा वार्षिक १ सय २५ भन्दा बढी नर्सिङ कलेजबाट ७ हजार ७ सय ४० जना नयाँ नर्सिङ जनशक्ति उत्पादन हुँदै आइरहेको छ। समितिको सुझाब कार्यान्वयनमा आएपछि हालको कोटाका आधारमा नेपालमा वार्षिक ७ सय ७ जना पुरुष नर्स उत्पादन हुनेछन्।

प्रतिक्रिया दिनुहोस्