रक्सीमा इनर्जी ड्रिंक्स मिसाउनु खतरनाक



लन्डन, (एजेन्सी)
रक्सीमा इनर्जी ड्रिंक्स मिसाएर पिउनु स्वास्थका लागि खतरनाक भएको हालै क्यानाडामा गरिएको एक अनुसन्धानले देखाएको छ।

यसबाट दुर्घटना र चोटपटक लाग्ने संभावना बढी रहेको बताइएको छ। इनर्जी ड्रिंक्समा रहेको क्याफेनको कारण मानिसहरुलाई नशा चढेको महसुस नहुने र तिनीहरुले सामान्य अवस्थामा भन्दा बढी रक्सी पिउने बताइएको छ।

अनुसन्धानकर्ताहरुले यसको कारण सुत्नमा पनि समस्या आउने र मुटुको स्पन्दन बढाउने बताएका छन्। अहिले पब, क्लब र घरमै पनि रक्सीसंग रेडबुल र मोन्स्टरजस्ता इनर्जी ड्रिंक्स मिसाएर पिउने चलन निकै लोकप्रिय हुँदै गइरहेको छ।
तर हालै सम्पन्न अनुसन्धानले परम्परागत रूपमा अन्य चिजसँग मिसाएर वा केही नमिसाई सक्सी पिउनुभन्दा इनर्जी ड्रिंक्स मिसाउनु धेरै खतरनाक हुने जनाएको छ। सन् १९८१ देखि २०१६ सम्म क्यानाडाको युनिभर्सिटी अफ भिक्टोरियामा गरिएका यससम्बन्धी १३ वटा अध्ययनलाई पुनरावलोकन गरिंदा इनर्जी ड्रिंक्ससँग रक्सी पिउँदा लड्ने, झगडा हुने र अन्य दुर्घटना हुने खतरा बढी रहेको पाइएको छ।

तर अझै यस अध्ययनमाथि थप अनुसन्धानको जरुरत रहेको बताइएको छ। हाल खाद्यान्न मापदण्ड निकाय र विषाक्तता समितिले भने अनुसन्धानको दाबी स्पष्ट नभएको जनाएका छन्। २ सय ५० मिलिलिटर इनर्जी ड्रिंक्समा करिब ८० मिलिग्राम क्याफेन हुन्छ। जबकी ३ सय ३० मिलिलिटर कोकाकोलामा ३२ र डाइट कोकमा ४२ मिलिग्राम क्याफेन हुन्छ।

क्याफेन बढी मात्रामा सेवन गरेमा चिन्ता लाग्ने , अत्तालिने र रक्चाप बढ्ने जस्ता लक्षण देखिन थाल्छन्। गर्भवती र स्तनपान गराउने महिलाहरुलाई दिनमा २ सय मिलिग्रामभन्दा बढी क्याफेन सेवन नगर्ने सल्ला दिइने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्