वागमती नदी सफाइ अभियानको चर्चा



लाक्पा शेर्पा

वागमती नदीको मौलिक स्वरूपबारे अगाडिका बूढापाकाहरूले भन्ने गर्दछन्– ‘वास्तवमै ४० वर्षअगाडिसम्म यस नदीमा सफा पानी बग्ने गर्दथ्यो। मानिसहरू वागमती नदीको पानी खाने गर्दथे। त्यही पानी अन्य प्रयोजनमा प्रयोग गर्दथे।’

समयको अन्तरालसँगै काठमाडौं उपत्यकामा जनसंख्या वृद्धि हँुदै गयो र बस्तीहरू बढ्न थाले। अव्यवस्थित बसोवासका कारण त्यहाँबाट निस्कने फोहोरलाई सीधै वागमती नदीमा मिसाउने कार्य हुन थाल्यो। त्यति मात्र होइन, नदी किनारमा पशु वधशाला, बंगुरपालन र अन्य व्यावसायिक क्रियाकलापसमेत हुनाले नदीमा फोहोर थुप्रिने कार्यले निरिन्तरता पाउँदै गयो। सडेगलेका वस्तुहरू नदी आसपासमा फ्याँक्ने, गाड्ने र कतिपय मृत पशुपक्षीहरूलाई समेत सीधै नदीमा फाल्ने गरेको हँुदा नदी झन् दूषित र दुर्गन्धित हुन पुग्यो। प्लास्टिकजन्य वस्तुहरूको थुप्रो, सिसा र अन्य नसड्ने वस्तुहरूसमेतले गर्दा वागमती नदी कुनै पनि प्राणीका निमित्त एउटा चुनौतीको विषय बन्न पुग्यो। यसरी एउटा पवित्र नदी केही वर्षमै ढलमा परिवर्तन भएर दूषित भएको देख्दा मानिसहरूले यसलाई ‘ढलमती’ भनेर गिज्याउन थाले। भलै ढिलै भए पनि वागमती नदी सफाइ अभियान थालियो। यसका निमित्त धेरै मानिस जुटिरहेको देखिन्छ।

गत फागुन २८ गते २०७३ मा वागमती नदी सफाइ अभियानको २ सयौं भाग सम्पन्न भइरहँदा र काठमाडौं उपत्यकाबासीहरूको जीवनसँग गाँसिएको वागमती नदीलाई मौलिक स्वरूपमा परिवर्तन गर्ने प्रतिबद्धता प्रकट हुँदा लाग्छ– ५ वर्षअगाडि शुरुआत गरिएको अभियान केवल अभियानमै सीमित रहने त होइन ? तसर्थ वागमती नदी सफाइ अभियानको अभियन्ताहरूले थालेका र चालेका कदम अनि रणनीतिहरूसमेतको आधारमा अहिलेसम्म भए गरेका प्रगति र उपलब्धिहरूलाई पनि सार्वजनिक गर्न सकियो भने आम उपत्यकाबासीहरूका लागि सुखद र आशाको विषय बन्न सक्ने थियो।

यद्यपि वागमती नदी सफाइको सम्बन्धमा कार्यहरू पक्कै भएका छन्। वागमती नदी किनारका छेउमा तारजाली र पर्खाल लगाउने कार्य भइरहेको देखिन्छ। ठाउँ–ठाउँमा ढल बिछ्याउने कार्य पनि भएको छ। तर, अहिले पनि बस्तीहरूबाट उत्पन्न फोहोरको प्रभावकारी ढंगले विसर्जन हुन सकेको देखिँदैन। वास्तवमा वागमती नदीलाई दूषित बनाउने पहिलो वस्तु भनेको ढल नै हो। त्यसै गरेर कुहिने र नकुहिने सवै जैविक तथा अजैविक वस्तुहरूसमेत नदी र नदीकिनारमा जम्मा भएकै कारणले गर्दा नदी झन दूषित बन्न पुग्यो। माथि उल्लिखित समस्यालाई निराकरण गर्नका लागि योजनावद्धरूपमै कार्यक्रम ल्याउनुपर्ने देखिन्छ। त्यसका लागि निम्न कुरामा ध्यान पुर्याउन जरुरी छ।
वागमती नदीवरपरको अव्यवस्थित बसोवासलाई नियन्त्रण गर्नका लागि सम्बन्धित निकायहरूवाट बारम्बार अनुगमन र निरीक्षण भइरहनुपर्दछ। त्यसलाई व्यवस्थित कसरी गर्न सकिन्छ भन्नेतर्फ पनि ध्यान जान जरुरी छ। अन्यथा जति नै अभियान सञ्चालन गरिए पनि निरर्थक सावित हुन सक्छ।

वागमती नदीको महिमा र चर्चा परिचर्चा विभिन्न धार्मिक ग्रन्थ र इतिहासमा पाइए पनि अहिले आएर त्यस्तो चर्चा खासै गरिएको भेटिन्न। यसका लागि पाठ्यपुस्तक, पत्र–पत्रिकाहरूमा उल्लेख हुन जरुरी देखिन्छ। सरकारी निकायको प्राथमिकतामा वागमती नदीको दीर्घकालीन योजना पर्न जरुरी देखिन्छ। वागमती नदी आसपासमा हालसम्म पनि फोहोर फालिने कार्य रोकिएको देखिन्न। यसरी फोहोर फालिँदै रहने र अभियान पनि सञ्चालन गरिनै रहने हो भने यो वागमती सफाइ अभियान कहिल्यै नटुंगिने यात्रा बन्दछ। तसर्थ यसका लागि सबैमा चेतना जागृत हुन जरुरी देखिन्छ। फोहोर व्यवस्थापनका लागि आचारसंहिता नै जारी गर्नुपर्ने देखिन्छ। स्थानीय उपभोक्ताकै सहभागितामा परियोजनाहरू सञ्चालन हुने गरेको देखिन्छ। यसो भएको खण्डमा उनीहरूले अपनत्व बोध गर्न सक्छन्। त्यसको संरक्षण, सञ्चालन र जिम्मेवारी लिन सक्छन् भन्ने उदाहरणहरू स्थापित भएको देखिन्छ।

परापूर्वक कालदेखिकै काठमाडौंका बासिन्दाहरूले हरेक धार्मिक कार्य गर्दा विशेष गरेर हिन्दु धर्मावम्लीहरूले वागमती नदीलाई प्रयोग गर्ने गरेको पाइन्छ। मृतकको दाहसंस्कार र पितृको श्राद्ध कार्यसमेत यिनै नदीकिनारमा गर्दथे भन्ने कुरा जगजाहेरै छ। विभिन्न अवसरमा हिन्दु धर्मावलम्बीहरू वागमति नदीमा गई स्नान गर्ने गर्दथे। तर, दुर्गन्ध र दूषित भएकै कारणले गर्दा कतिपय अवस्थामा छालाको रोग लाग्न सक्ने डरले गर्दा मानिसहरूले अब त्यहाँ नुहाउन छोडिसके। वागमती नदीमा नुहाउँदा र त्यहाँ श्राद्ध गर्दा मुक्ति मिल्ने र पुण्य प्राप्त हुने विश्वासले गर्दा पनि मानिसले वागमती नदीलाई महत्त्वपूर्ण धार्मिक नदीको रूपमा लिने गरेको देखिन्छ।

वागमती नदीमा छठपर्वको समयमा छैठी माताको मूर्ति स्थापना गरी सूर्यको पूजा गर्ने गरेको पाइन्छ। यस बेला वागमती नदीको सबै किनारहरू झकिझकाउ देखिन्छ। तसर्थ यिनै धार्मिक आस्था र क्रियाकलापको कारणले गर्दा वागमती नदीलाई जतिसक्दो चाँडो सफा गरी व्यवस्थित बनाउन जरुरी देखिन्छ।

वागमती नदी सम्पूर्ण उपत्यकाबासीका लागि एउटा सभ्यता पनि हो। यो नदी पर्यटकीय दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ। यस नदीलाई सफा र पवित्र बनाउनासाथ जलक्रिडासँग सम्बन्धित क्रियाकलापहरू गर्न सकिन्छ। जसको कारणले विदेशीहरूको आगमनमा वृद्धि हुने सम्भावना देखिन्छ। वागमती नदीलाई पर्यटकीयरूपमा पहिचान दिनका लागि पनि चाँडोभन्दा चाँडो यो नदी सफा बनाउन जरुरी देखिन्छ।

प्रतिक्रिया दिनुहोस्