त्यस्तो चाहिँ हुन्न है !



हिजो संसद्ले थ्रेसहोल्डका बारेमा गरेको निर्णयले गर्दा धरहरा चिन्तित भएको छ। किनकि पहिला एक सिट नजिते पनि समानुपातिकबाट प्याट्ट सांसद पड्काइरहेका महानुभावहरूलाई अब त्यो पदमा जान अवरोध सिर्जना हुने अवस्था आएको छ।

त्यसले गर्दा नराम्रो घटना हुने हो कि भन्ने यसलाई चिन्ता लागेको छ। कतिले पत्निलाई, कतिले प्रेमिकालाई कतिले, हुनेवाला प्रेमिकासम्मलाई माननीय बनाइरहेको अवस्थामा अब त्यो अवस्थामा ठेस लाग्ने अर्को अवस्था उत्पन्न भएछ।३ प्रतिशत मत ल्याउनैपर्ने रे। त्यही भएर त्यसै पनि अप्ठ्यारो घटना भइरहेको नेपालमा साना दलका ठूला नेताले त्यस्तै अप्ठेरो काम गरे भने त्यसको जिम्बेवारी कसले लिने ? त्यो संसद्ले भन्न सक्ला त ?

तर, धरहरा चिन्तित नहुन महोदयहरूलाई अनुरोध गर्दछ। यो इखले जनता र देशका लागि राम्रो काम गरेर जनताबाट सकेसम्म बढी मत ल्याएर सबैतिर जितिदिनुस् न अनि थाहा पाउँछन् यी ठूला भनिएका दलले ? तर, हतोत्साही भएर नहुने काम चाहिं नगर्नुहोला। जीवन रहे न फेरि पनि जनतालाई प्रभावित पारेर सांसद पड्काउन पाइन्छ। कि कसो पाठकवृन्द ?

प्रतिक्रिया दिनुहोस्