खाडीदेखि थाइल्यान्डसम्मको दुःख



दीपेन्द्र थापा (थाईल्यान्डबाट फर्केर)

भाग्यको लहरामा लहरी लहरी पुँगे यस मरुस्थलमा कसरी
तर, खेद् छैन तिम्रो आकृति लेखिएको छ यो हृदयभरी…।

युगकवि सिद्धिचरण श्रेष्ठको ओखलढुङ्गा कविताको यी दुई हरफ धनकुटा डाँडाबजारका जयबहादुर लिम्बूको जीवनमा सधैं मेल खान्छ। उनी पटक–पटक खाडीको मरुभूमिमा पुगे।

देशलाई छातीमा राखेर मन अमिलो बनाउँदै सस्तो मूल्यमा कडा श्रम बेच्नु उनको दैनिकी बनेको छ। रोजगारीको अभावमा उनी यो चेपुवामा फसे। दलाललाई मोटो रकम सुम्पिए पनि जयबहादुरले भने जस्तो काम पाएका छैनन्।
मोटो रकम खर्चिएर सन् २००३ मा दुबई पुगेका उनी तीन वर्ष बसेर फर्किए। दुबईमा राम्रो कमाइ नभएपछि उनी मलेसिया पुगे। त्यहाँ पनि भनेजस्तो कमाइ नभएपछि उनी साउदी अरबतर्फ लागे।

साउदी अरबमा पनि त्यस्तै अवस्था भएपछि नेपाल फर्केर भाइकोमार्फत उनी थाइल्यान्ड गए। उनी हाल थाइल्यान्डको पतैयामा एक भारतीयले चलाएको होटलमा वेटरका रूपमा कार्यरत छन्। उनका भाइ बैंककस्थित एक होटलमा कुकको काम गर्छन्।

उनी त्यहाँ बसेको करिब ३ वर्ष भइसकेको छ। उनी मासिक ४० हजार रुपियाँ कमाउँछन्। उनी दैनिक १२ घण्टा ड्युटी गर्छन्।

उनका अनुसार त्यही काम गर्ने थाई नागरिकले ८ देखि १० घण्टा काम गर्दा ५० हजारभन्दा बढी कमाउँछन्। थाइल्यान्डमा अरु देशमा जस्तो हेपाहा प्रवृत्ति नरहेको उनी बताउँछन्।

यहाँका मानिसहरू नेपाली भनेपछि इज्जत गर्ने र सहयोग गर्ने गरेको उनी बताउँछन्। थाइल्यान्डमा ‘वर्क परमिट’ प्रणाली रहेको छ। जुन प्राप्त गर्न निकै कठिन र महँगो रहेको छ। वर्क परमिट भिसा निकाल्नका लागि कम्पनीको मालिकले पैसा खर्च नगर्ने गरेको लिम्बू बताउँछन्। उनी भन्छन्– ‘म अवैधानिक रूपमा करिब १५ महिनासम्म बसे। भिसा नवीकरण गर्न कुनै समस्या थिएन। तर यहाँको सरकारी नीतिले गर्दा अलि समस्या चाँही व्यहोर्नुपर्यो।’

उनी अगाडि थप्दै भन्छन्– ‘म सेटिंग भिसामा यहाँ आएको थिएँ। यदि मसँग सबै कागजातहरू थिए भने म पुनः मेरो भिसा विद्यार्थी भिसामा परिवर्तन गर्न सक्थें। त्यतिबेलाको सरकारी नीतिले गर्दा सेटिङ भिसा नवीकरण गर्न सकिन र म त्यति कै बसें। करिब दुई वर्षको बसाइपछि मात्र म वैधानिकरूपमा यहाँ बस्न पाएको छु।’

उनले आफू ८ कक्षासम्म मात्र पढेको र रहरले नभइ बाध्यताले विदेशीएको बताए। उनले थाइल्यान्डमा नेपालीहरू धेरै नभएको दाबी गरे। त्यसमाथि पनि नेपाली महिलाहरूको उपस्थिति झन् न्यून रहेको बताए।

उनी दुःखेसो पोख्दै भन्छन्– ‘यहाँ १२ घण्टा काम गरेर यति कमाउनुभन्दा आफ्नै देशमा काम गरेर यो भन्दा बढी पनि कमाउन सकिन्थ्यो होला तर लगानीअनुसार प्रतिफल, अवसर र वातावरण भइदिएको भए नेपाल नै बस्ने थिएँ।’

‘अझै पनि धेरै सपना पूरा भएका छैनन् मेरा। जे गरिराखेको छु सबै आफ्नो परिवारका लागि गरिराखेको छु। परिवार छ बालबच्चा छन् तिनीहरूको सुनिश्चित भविष्यका लागि नै यति दुःख गरिरहेको छु।’– उनले पीडा व्यक्त गरे। उनले छिट्टै नै नेपाल फर्किने सोच रहेको पनि बताए।

उनले यही आउँदो दशैँमा आफू नेपाल फर्किन चाहेको बताए। उनले पतया पर्यटकीय क्षेत्र भए पनि त्यति महंगो नभएको बताए। उनले लुगाहरू थाइल्यान्डमा एकदम सस्तो र गुणस्तरीय रहेको बताए।

थाइल्यान्डमा बर्मेलीहरूको संख्या अधिक रहेको छ। उनीहरूलाई यहाँ रोजगारीका अवसरहरू प्रशस्त रहेको उनको भनाइ छ।

थाइल्यान्ड आउन चाहने नेपालीहरूका लागि रोजगारीका लागि उत्तम विकल्पका रूपमा लिनसकिने उनको बुझाइ छ। थाइल्यान्डमा आफ्नै व्यवसाय खोल्न कम्तीमा १ करोडमाथिको लगानी हुनुपर्ने उनको दाबी रहेको छ।

प्रतिक्रिया दिनुहोस्